ad ad

कर्णाली


लोकसेवामा चारपटक असफल प्रचण्ड पाचौँ परीक्षामा पहिलो

लोकसेवामा चारपटक असफल प्रचण्ड पाचौँ परीक्षामा पहिलो

दिनेश बुढा
मंसिर २८, २०८० बिहिबार १७:३३, सुर्खेत

जाजरकोटका प्रचण्ड न्यौपाने प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले लिएको २०७९/०८०को विज्ञापनको परीक्षामा १ नम्बरमा सिफारिस भएका छन्। न्यौपाने लोकसेवाको परीक्षमा १ प्रदेश निजामती सेवा अन्तरगत प्राविधिक सहायकस्तर पाँचौ तहको ८ जना कोटामा पहिलो नम्बरमा नाम निकाल्दै सिफारिस भएका हुन्।

कुशे गाउँपालिका–२ मा २०५७ असार २५ गते बुबा काल जैसी र आमा मैनाकलादेवी जैसीबाट जन्मिएका न्यौपानेको इच्छा भने साहित्यकार बन्ने थियो। उनको सानैदेखि साहित्यमा बढी रुची जान्थ्यो। न्यौपाने आधारभूत कक्षाबाट नै कविता लेख्ने, गीत आउनेतर्फ ध्यान दिन्थे।

घरको कान्छो सन्तान, उनको उमेरसँगैको चाहना भने परिर्वतन भएको छ। निरन्तर चार पटक लोकसेवाको परीक्षामा असफल भएका उनी विगत एक वर्षदेखि लगातार शिक्षक सेवा र लोकसेवाका विभिन्न विज्ञापनमा नाम निकाल्न सफल भएका छन्।

बाल्यकाल
उनका चारजना दाइ र दुई दिदीहरू छन्। ती मध्ये चारै जना दाइ र एउटा दिदी शिक्षण पेसामा कार्यरत छन्।  प्रचण्डभन्दा अगाडी सबै दाइ/दिदीहरू भएकाले सानै उमेरदेखि उनले पढाइमा ध्यान दिए। सामान्य परिवारमा जन्मिएका प्रचण्डको बाल्यकाल भने सुखमै बित्यो।

घरमा दाइहरू शिक्षक भएका कारणले गाउँमै रहेको श्री मालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गरे। त्यहाँ उनको जेठो दाइ काशिराम जैसी शिक्षक थिए। सबैको माया पाएका प्रचण्डले भने कक्षा ५ मा पढ्दै गरेको समयमा २०६८ मा बुबा गुमाए। बुबाको निधन भएपछि उनले बुबाको माया पनि आमा र दाइहरूबाट पाए।

उनी कक्षा १ मा भर्ना भएदेखि कक्षा ५ सम्म सधैं कक्षा प्रथम भए। त्यसपछि कक्षा ६ देखि ८ सम्मको अध्ययनको लागि जाजरकोट जिल्लाको सदरमुकाम खलंगा माइलो दाइसँग गए। उनले खलंगामा हालको भेरी नगरपालिका–३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना भए।

न्यौपानेको माइलो दाइ स्नातक तहमा अध्यनरत थिए। साथै शिक्षक सेवा आयोगको तयार गरिरहेका थिए। त्यसै अवसरमा न्यौपानेले दाइसँगै जाजरकोट सदुरमुकाम बसेर पढ्ने मौका पाए। त्यहाँ उनी कुनै कक्षामा पहिलो त कुनै कक्षामा दोस्रो स्थानमा पास हुन्थ्ये।

खलंगाबाट कक्षा ८ पास गरेपछि कुशे गाउँपालिकामै रहेको मान्ने ढुंगा माध्यिमक विद्यालयमा कक्षा ९ मा भर्ना भए। सोही विद्यालयबाट २०७१ सालको एसएलसीमा दोस्रो श्रेणीमा पास भए। यो समयमा प्रचण्डले विद्यालयमा हुने विद्यालयस्तरीयदेखि जिल्लास्तरीय विभिन्न अतिरिक्त कार्यालयमा भाग लिएर विभिन्न पुरस्कार जितेका छन्। उनले विशेष गरेर हाजिरजवाफ, वक्तृत्वकला, वादविवाद प्रतियोगिता, साहित्यिक कार्यक्रम कविता, मुक्तक र गजल प्रतियोगितामा भाग लिने गरेको सुनाए।

उच्च शिक्षाका लागि सुर्खेतको यात्रा
कक्षा १० सम्म आइपुग्दा उनलाई पढाइ–लेखाइमा कुनै समस्या भएन। उच्च शिक्षाका लागि २०७२ सालमा सुर्खेत झरे। घरपरिवारले न्यौपानलेलाई विज्ञान विषय लिएर विज्ञान विषयको शिक्षक बनोस् भन्ने थियो। तर, साहित्यमा सानैदेखिको रुचीले नेपाली विषय पढ्ने निधो गरे।

त्यसपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको अमरज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भए। कक्षा ११ र १२ मा अमरज्योति नेवारमा अध्ययन गरे। त्यहाँ पढ्दा न्यौपाने विद्यालय टपर भए। उनको सम्मान स्वरुप कक्षा ११ र १२ मा लागेको पढाइ खर्च सबै विद्यालयले फिर्ता दियो।

उनले भने, ‘दाइहरूको इच्छा विज्ञान शिक्षक बनाउने थियो। सोही अनुसार २ महिना विज्ञान विषय पनि पढेँ। तर, अंग्रेजीमा समस्या र मलाई साहित्यमा बढी रुचि भएपछि त्यो कक्षा छोडेर कक्षा ११ र १२ मा नेपाली विषयमा अध्ययन थालेँ। साहित्यमा रुची भएकाले नेपाली विषय पढ्ने मन लायो।’

न्यौपानेले २०७४ सालमा कक्षा १२ पास गरे।

त्यसपछि सुर्खेतमै रहेको साविकको सुर्खेत शिक्षा क्याम्पस (हालको सुर्खेत बहुमुखी क्याम्पस)मा वीएड शिक्षा शास्त्र संकायमा नेपाली मूल विषय लिएर प्रथम वर्षमा भर्ना भए।

स्नातकसँगै लोकसेवा तयारी
स्नातकतहमा भर्ना भएसँगै न्यौपानेलाई शिक्षक बन्ने रहर जाग्यो। आधारभूत तह अथात् प्राथमिक विद्यालयल र निम्न माध्यमिक विद्यालयको २०७७ सलमा अध्ययन अनुमति पत्रमा नाम निकाले। सँगसँगै लोकसेवाका चार वटा विज्ञापनमा परीक्षा दिए। लोकसेवा आयोग कोशी प्रदेशको स्थानीय प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेश लोकसेवाले गरेको विभिन्न चार वटा विज्ञापनमा दरखास्त दिएर जाँच दिएका उनको लिखितमै नाम आएन।

पछिल्लो समय उनलाई जागिर खानुपर्छ, समाजमा केही काम गर्नुपर्छ भन्ने भाव पलाउन थाल्यो। २०७६/०७७ स्नातकतहको अध्यननसँगसँगै प्राविधिक सहायकमा फाराम भरेका उनले चार वटा परीक्षामा नाम नस्किएपछि पनि हार खाएनन्।

उनले भने, ‘कक्षा १ देखि स्नातकतहसम्म पढ्दा पनि कुनै कक्षा र प्रतियोगितामा असफल नभएको म चार चोटीसम्म लोकसेवाको परीक्षमा असफल भएँ। तर, मैले लोकसेवालाई नै कर्म बनाएर निरन्तर प्रयास गरिरहेँ।’

त्यसपछि न्यौपानेले लोक सेवा आयोग कर्णाली प्रदेशको २०७८/०७९ को विज्ञापनमा पनि दरखास्त दिए। न्यौपानले सोही विज्ञापनमा पाँचौ प्रयासमा २०७८ मंसिर ७ गते ६ नम्बरमा नाम निकालेपछि हुम्लाको सिमकोट गाउँपालिका सिफारिस भए। हाल त्यहाँ शिक्षा शाखामा कार्यरत छन्।

त्यसपछि लगातार नाम...
चार पटक असफल भएका न्यौपानेले पाँचौ प्रयासमा नाम निकालेपछि त्यसपछि दिएका सबै लोकसेवा तथा शिक्षक सेवाका परीक्षामा लगातार नाम निकालेका छन्। हुम्लाको सिमकोट गाउँपालिमा सिफारिस हुँदै गर्दा उनको ०७८÷०७९ को विज्ञापनमा निमावितर्फ कोशी प्रदेश र प्रावितर्फ कोशी प्रदेशको ईलाम जिल्लाबाट लिखितमा नाम निस्कियो। यता लोकसेवकाको विज्ञापनमा सिफारिस भएका कारण शिक्षक सेवाको अन्तरवार्ता दिन जान पाएनन्।

यतिमात्रै हैन उनले पुनः लोकसेवा आयोग लुम्बिनी प्रदेशले लिएको आर्थिक वर्ष २०७९/०८० को प्रदेश निजामती सेवा अन्तरगत प्राविधिक सहायकस्तर पाँचौ तहको ८ जना कोठामा पहिलो नम्बरमा नाम निकाल्दै सिफारिस भएका छन्। तर, सिफारिस कार्यालयको नाम खुलाइएको छैन।

यसरी भए सफल
लगातार चार वटा परीक्षामा असफल हुँदा असाध्यै तनाव लागेको प्रचण्डले सुनाए।

उनले भने, ‘असफल भइसकेपछि जसरी पनि मैले सरकारी जागिर खानुपर्छ भन्ने मनमा जाग्यो। मेरो दाइको छोरा प्रकाण्ड न्यौपाने र मैले समन्वय गरेर पढ्यौं। संषर्घ गर्यौं। स्नातकतहको अध्ययनसँगै घरमै बसेर लोकसेवका किताब एक–अर्काले मिलेर पढ्ने गर्यौँ। सहपाठी सिकाईका कारण हाम्रो यात्रा निजामतीतर्फ मोडियो।’

शिक्षा क्षेत्रमा लिइने प्रतिस्पर्धात्मक परीक्षामा कण्ठ गर्ने भन्दा पनि बुझेर पढे जस्तो सुकै परीक्षामा सफलता मिल्ने उनी बताउँछन्।

प्रचण्डम भन्छन्, ‘धेरै जनाले निजामती बन्नाका लागि मेरो त भाग्यनै छैन भन्छन्। तर, म त्यसो भन्दिन। भाग्य आफूले बनाउने हो।  म भने कर्ममा विश्वास गर्छु। असफलता नै मेरो लागि सफताको आधार बन्यो। कर्मबाट प्राप्त फल नै भाग्य हो। भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्नुपर्छ। सफलतामा पुग्ने मान्छेहरू अभाव र धेरै संषर्घमा हुन्छन्।’

अबको यात्रा
हाल न्यौपाने सुर्खेत बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायतर्फ स्नातकोत्तर शैक्षिक योजना तथा व्यवस्थापन विषयमा दोस्रो वर्षमा अध्ययनरत छन्।

अब संघको विद्यालय निरीक्षक (विनी)को तयारीमा रहेको उनी बताउँछन्। भन्छन्, ‘अब सपनालाई एक/दुई वर्ष भित्रै सफलता प्राप्त गर्ने लक्ष्य बुनेको छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .