ad ad

कर्णाली


बुवाको बरखी सकेर कोरियाको तयारीमा काठमाडौँ पुगेका थिए सुजन

बुवाको बरखी सकेर कोरियाको तयारीमा काठमाडौँ पुगेका थिए सुजन

दिनेश बुढा
पुस १३, २०८० शुक्रबार २१:१७, सुर्खेत

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सुजन रावतको परिवारमा वर्षदिन नबित्दै अर्को बज्रपात परेको छ।

दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजनको ईपीएस परीक्षार्थीहरूले गरेको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट मृत्यु भयो। परिवारिक स्रोतका अनुसार खासमा सुजन आन्दोलनमा नभई त्यहाँको अवस्था हेर्न गएका थिए। तर, उग्र प्रदर्शन र आगजनीपछि प्रहरीको निशानामा उनी परे।

प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। राउतको शरीरमा निलडाम थिए। साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट मेडिकल कलेज पुर्याए। चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।

एक वर्षअघि मात्रै बुवा गुमाएका सुजन घरको ऋण तिर्न कोरिया जाने योजनासहित केही समय अघिमात्रै कोरियन भाषाको तयारीका लागि दैलेखबाट काठमाडौँ पुगेका थिए। सुजनको जन्म घर महाबु भएपनि दैलेख बजारमा उनको परिवारले भाडा पसल सञ्चालन गर्दै आएको थियो।

उनका बुवा भक्तबहादुर रावतको क्यान्सरका कारण एक वर्ष अघि मृत्यु भएको थियो। उद्योग वाणिज्य संघ दैलेखको पूर्व उपाध्यक्षसमेत रहेका भक्तबहादुर एक सफल व्यवसायीका रुपमा परिचत थिए। व्यवसाय धानिरहेका भक्त क्यान्सरले थलिएपछि उनको व्यवसायामा ब्रेक लाग्यो। उनको उपचारमा भएभरको सम्पत्ति समेत सकियो। २०७९ साल मंसिरमा १२ गते भक्तबहादुरको उपचारकै क्रममा मृत्यु भयो।

उपचारको क्रममा भएभरको सम्पत्ति सकिएपछि घरको सबै जिम्मेवारी छोरा सुजनको काँधमा आयो। त्यो सबै जिम्मेवारीलाई बहन गर्न सुजनले कोरियन भाषा सिकेर कोरिया जाने निधो बनाए।

गएको मंसिरमा बुबाको बरखी सकेर भाषा अध्ययनका लागि काठमाडौँ हानिएका थिए। तर, कोरिया जान काठमाडौँ पुगेका सुजन उतै अस्ताए। सुजनको निधनसँगै उनकी विधवा आमा नन्दा रावतमाथि वर्षदिनमै अर्को ठूलो बज्रपात परेको छ।

सुजनको शव बुझ्नका लागि उनका मामा टेकबहादुर कटुवाल तथा आफन्तहरू दैलेखबाट काठमाडौं हिँडेका छन्।

आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि उत्तेजित भएको प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको थियो। त्यसक्रममा डोटीका वीरेन्द्र शाहको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .