ad ad

कर्णाली


सुर्खेतका ३२ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै

सुर्खेतका ३२ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै

नेपालखबर
फागुन ९, २०८० बुधबार १९:४१, सुर्खेत

सुर्खेतमा फागुन ११ गतेदेखि २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो।

पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँचवटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा दादुर रुबेला खोप सम्बन्धी अभियान सञ्चालन हुने छ।

पहिलो चरणमा भेरीगंगा, लेखबेसी र गूर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

यस्तै, खोप अभियानका लागि दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा हुने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

जनस्वास्थ्य सेवा कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहहरूमा गरि ९ महिनादेखि ५ वर्ष मूनीका करिब ३२ हजार बालबालिकालाई दादुरा रुबेला लगाइने योजना बनाएको छ।

कार्यालयले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई खोजेर पनि लगाइने जनाएको छ।

दादुरा रुबेला खोप अभियानलाई नेपाल सरकारले राष्ट्रिय खोप अभियानका रुपमा सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिएको थियो। तर, सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ।

यस्तै, खोप अभियानमा खटिने जिल्लाभरका दुई सय २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप सम्बन्धी अभिमूखीकरण तालिम दिइएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी अमरबहादुर रानाले स्वास्थ्यकर्मीहरूलाई खोप सम्बन्धी क्षमता अभिवृद्धिका लागि अभिमूखीकरण गरिएको बताए।

उनले भने, ‘सुर्खेतका ९ वटै स्थानीय तहमा रहेका खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई पालिकास्तरको अभिमुखीरकण गरिएको छ। पालिकास्तरका स्वास्थ्य शाखा प्रमुखहरूले खोप सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो कार्यालयमा पठाइसक्नु भएको छ।’

यस्तै, कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा ९५ प्रतिशत भन्दामाथि खोप कभरेज हुने अनुमान गरिएको बताए। उनले भने, ‘बालबालिकाहरूलाई अकालबाट बचाउनका लागि खोपले ठूलो भूमिका खेल्ने गर्दछ। त्यसैले सबैलाई यो दादुरा रुबेला खोप अभियानमा समावेशन हुनका लागि आह्वान गर्दछु। खोप पूर्ण रुपमा निःशुल्क र सुरक्षित रहेको छ।’

जिल्लाभर खोप अभियानका लागि ५०७ वटा खोप केन्द्र तोकिएका छन्। १२५ जना बालबालिकालाई एक जना स्वास्थ्यकर्मीसहित दुई जना स्वयंसेविका गरेर तीन जना कर्मचारी खटिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .