ad ad

कोशी


कोशी प्रदेश सरकार जोगाउने एमालेको प्रयास, केन्द्रको निर्णय कुर्दै गठबन्धन

राप्रपाको हातमा छ सरकारको चाबी!
कोशी प्रदेश सरकार जोगाउने एमालेको प्रयास, केन्द्रको निर्णय कुर्दै गठबन्धन

ध्रुव भट्टराई
बैशाख १५, २०८० शुक्रबार २१:२१, विराटनगर

केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै धमाधम प्रदेश सरकारहरू पनि फेरबदल हुन थालेका छन्। बिहीबार (१४ चैत) मा एकैदिन गण्डकी र लुम्बिनीमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि एमाले नेतृत्वको कोशी प्रदेशमा पनि सरकार फेरबदलको प्रयास सुरु हुन थालेका हुन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका सत्ता साझेदार दलहरूको पहलमा कोशी प्रदेश सरकार पनि फेरबदल गर्ने प्रक्रिया सुरु भएको नेताहरू बताउँछन्। 

अहिले कोशीमा नेकपा एमाले हिक्मत कार्कीको नेतृत्वमा बनेको सरकार कायम छ। केन्द्रको सत्ता समीकरण फेरिएर अन्य प्रदेश सरकारहरू ढलेपनि कोशीमा भने अहिलेसम्म सरकार सुरक्षित नै छ। 

एमालेले कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिने योजना बुनेको छ। विश्वासको मत लिनुपर्ने अवस्थामा बहुमत समर्थनका लागि प्रयास भइरहेको एमालेका एक नेता बताउँछन्। 

‘कांग्रेस, माओवादी र एकीकृत समाजवादीकै केही सांसदलाई सरकारमा ६ महिना मन्त्री बनाउने र अहिलेकै सरकारलाई समर्थन गर्न लगाउने प्रयास पनि भइरहेको छ’ एमाले ती प्रदेशस्तरीय नेताले भने, ‘अर्को टंक आङबुहाङ जन्माएर भए पनि सरकार टिकाउने हाम्रो योजना छ।’

टंक आङबुहाङ प्रदेशसभाको पहिलो कार्यकालमा ताप्लेजुङबाट निर्वाचित माओवादी सांसद थिए। माओवादी प्रदेश संसदीय दलको नेतासमेत रहेका उनी नेकपा भएपछि दलको उपनेता बनेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा पनि नेकपाभित्र ध्रुवीकरण सुरु भएको थियो। 

त्यसक्रममा ढुलमुल हुँदै गएका उनी अन्ततः सर्वोच्च अदालतले नेकपा फुटाइदिएपछि एमालेतिर लागेका थिए। उनलाई माओवादीले कारवाही गरेर सांसद पदबाट पदमुक्त गरेको थियो। त्यसवापत उनी केही समय आर्थिक मामिला मन्त्री बनेका थिए।

उता, राप्रपाले आफ्नो साथ नछाड्ने र अर्को गठबन्धनलाई साथ नदिने पनि एमालेको आत्मविश्वास छ। राप्रपा नेताहरूले अहिलेसम्म यसबारे कहीँकतै प्रष्ट कुरा गरिसकेका छैनन्।

तर, राप्रपाका नेताहरू भने संसदीय समितिको नृतत्व र मन्त्री संख्याको विषयमा दुवैतिर संवाद बढाइरहेको स्रोतको दाबी छ।

कोशीमा अहिले राप्रपा एक मन्त्रीसहित सरकारमा छ। राप्रपासमेत गरी जम्मा ६० सांसदको साथ लिएर एमालेका कार्की मुख्यमन्त्री बनेका थिए। तर, अहिलेको सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने सवालमा राप्रपा फ्याक्टरले महत्वपूर्ण भूमिका हुनेछ। 

यस्तो अवस्थामा राप्रपाले गठबन्धनलाई साथ दिए सहज बहुमतसहितको सरकार गठन हुने देखिन्छ। राप्रपाले गठबन्धनलाई साथ दिए ५३ सांसदको समर्थनसहितको सरकार बन्न सक्छ।

राप्रपाले साथ नदिए संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन हुने छ। प्रदेशलाई एमालेकै नेतृत्वमा छाड्न र अनिर्णयको अवस्थामा राख्न नसक्ने विषयमा सबैदल एकमत रहेको कांग्रेस सांसद भीम पराजुलीले बताए। 

सरकार फेरबदलको चाबी बोकेर बसेको राप्रपाले एमाले सरकारमै रहने अथवा गठबन्धनलाई साथ दिने भन्ने विषयमा निर्णय लिइसकेको छैन। बरु सत्ता गठबन्धनका नेताहरू र मुख्यमन्त्री कार्कीसँग भने अलग–अलग छलफल गरिरहेको छ।

कार्की नेतृत्वको प्रदेश सरकारलाई संघीय सरकारका सत्तासाझेदार माओवादी केन्द्र र जसपाको समर्थन छ। समर्थन फिर्ता लिने विषयमा केन्द्र र प्रदेशमा नेताहरू छलफलमा छन्।

सत्ता गठबन्धनकै नेताहरूका अनुसार नयाँ सरकार निर्माणको कसरत सुरु भएपनि त्यसको स्वरुप भने अझै तय हुन सकेको छैन। यद्यपि गठबन्धन दलका नेताहरू भने संघीय राजधानी काठमाडौंमै भेला भएर शीर्ष नेताहरूसँग सरकारबारे छलफल चलाइरहेका छन्। 

केन्द्रको निर्णय कुर्दै गठबन्धन
एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईका अनुसार माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। 

‘हामीले आज पनि भेटघाट गरेका छौं,’ पूर्व मुख्यमन्त्री समेत रहेका राईले भने, ‘अब चाँडै माओवादी र जसपाले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।’

केन्द्रबाट ‘ग्रिन सिग्नल’को कुराईमा कोशी प्रदेशका गठबन्धनका नेताहरू बसेका छन्। नेपाली कांग्रेसका उद्धव थापा, माओवादी केन्द्रका इन्द्र आङ्बो र एकीकृ समाजवादीका राजेन्द्र राई सो छलफलमा छन्।

‘हामी तीनै जनाले एकचरण सबै नेतालाई भेटेर प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छौं’, माओवादी नेता आङ्बोले भने, ‘केन्द्रमा गठबन्धनको स्पिरिट अनुसार सरकार फेर्ने कुरामा दुईमत छैन। तर, कसरी अघि बढ्ने भन्ने जवाफ शीर्ष तहबाट आइसकेको छैन। हामी छलफलकै क्रममा छौं।’

अहिले केन्द्र र कोशी प्रदेशको गठबन्धन फरक छ। केन्द्रमा माओवादी नेतृत्वमा एमालेबाहेकको गठबन्धन छ भने कोशीमा एमाले नेतृत्वमा कांग्रेस र एकीकृत समाजवादीबाहेकको गठबन्धन छ।

राप्रपाको हातमा सरकारको चाबी!
एमाले नेतृत्वको सरकार ढाल्न सहज भएपनि सरकार गठनका लागि राप्रपाले साथ नदिएको अवस्थामा सहज भने छैन। 

सरकार गठनका लागि राप्रपा कोशी प्रदेशमा सत्ताको चाबी लिएर बसेको छ।

राप्रपाका प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले भने प्रदेशका मुख्यमन्त्री कार्कीसँगको छलफलमा आफूहरु यही सरकारको निरन्तरता चाहने बताउँछन्।

उनै सिटौला काँग्रेससँगको छलफलमा भने डेमोक्रेटिकहरुको नेतृत्वमा सरकार बनाउनु पर्ने धारणा राख्ने गरेका छन्। जसका कारण एमाले र काँग्रेस उसको भूमिकालाई लिएर सशंकित बनेका छन्।

सरकार ढाल्न छैन सहज
कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकार ढाल्न केन्द्रका सत्ता गठबन्धनका नेतालाई सहज देखिँदैन।

माओवादीसहितको समर्थनमा गठन भएको एमाले नेतृत्वको सरकार ढल्नका लागि सरकारमा सहभागी माओवादी र जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिनुपर्छ।

बजेट आउने बेलामा माओवादी र जसपा सरकार बाहिर हुनै चाहेका छैनन्। उक्त कुराको पुष्टि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केही दिन अगाडि गरेका थिए। 

उनले पत्रकार सम्मेलन मार्फत भनेका थिए, ‘वर्तमान सरकार ढालेर माओवादीले के पाउँछ, २ थान मन्त्री त अहिले पनि पाएकै छ नि?’

को बन्छ गठबन्धनको मुख्यमन्त्री?
एमाले नेतृत्वको सरकार ढलेको खण्डमा नेपाली नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्रका नेता आङ्बो र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई मुख्यमन्त्रीको दाबेदार हुन्।

परिस्थितिले कोल्टे फेरेको अवस्थामा राप्रपा संसदीय दलका नेता तथा हालका मन्त्री भक्ति प्रसाद सिटौला पनि मुख्यमन्त्री बन्न सक्छन्।

स्रोतले दिएको जानकारी अनुसार राप्रपाले उक्त प्रस्ताव कांग्रेसका कतिपय नेतासमक्ष राखिसकेको छ।

नेकपा एसका नेता राजेन्द्रकुमार राईले अहिलेका लागि माओवादी संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने तर, एमाले नेतृत्वको सरकार ढाल्नुपर्ने बताउने गरेका छन्।

माओवादीले भने राप्रपालाई सहमत गराएर आफ्नै नेतृत्वमा प्रदेश सरकारको नेतृत्व गर्ने चाहना राखेको छ। कोशी प्रदेशमा एमालेले माओवादी, राप्रपा र जसपासहित ६० जना सांसदको समर्थन जुटाएर गत पुस २५ देखि सरकारको नेतृत्व गरिरहेको छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ।

यद्यपि राप्रपाले आफू नयाँ गठबन्धनमा आउन सहमत भएको अवस्थामा भने काँग्रेस, माओवादी, राप्रपा, नेकपा एस र जसपाको गरी ५३ सांसदको समर्थन प्राप्त हुन्छ। जुन प्रदेश सरकार गठनका लागि सहज बहुमत हो। 

राप्रपाले नयाँ बन्ने सरकारलाई समर्थन नगरेको अवस्थामा सभामुख बाहेक ४६ सांसद मात्रै हुन्छन् जुन सरकार गठनका लागि संसद संख्या अपुग हुनेछ।

कोशी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका ४० जना सांसद छ। कांग्रेसका २९ सांसद छन्। सभामुखसहित माओवादी केन्द्रमा १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .