ad ad

कोशी


मोरङको कानेपोखरीमा बुहारीलाई निःशुल्क शिक्षा, सासूले गरिदिनुपर्छ भर्ना

मोरङको कानेपोखरीमा बुहारीलाई निःशुल्क शिक्षा, सासूले गरिदिनुपर्छ भर्ना

यही शैक्षिक सत्रदेखी स्नातक तहमा १५ जना बुहारीहरू अध्ययन गरिरहेका छन्। तस्बिरहरू : ध्रुब भट्टराई/नेपालखबर।


ध्रुव भट्टराई
बैशाख १६, २०८० शनिबार १९:२८, विराटनगर

मोरङको कानेपोखरी गाउँपालिकामा ५ वर्षअघि विवाह गरेर आएकी डिल्लीमाया बस्नेत अहिले स्थानीय रमाइलो बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी छिन्। 

उनलाई सो क्याम्पसबाट उच्च शिक्षा हासिल गरेवापत कुनै शुल्क तिर्नु पर्दैन। स्नातक तहको सबै पढाई खर्च सम्बन्धित गाउँपालिका नै व्यहोर्दै आएको छ। 

बस्नेतमात्र होइन, उनीजस्तै अन्यत्रबाट विवाह गरी कानेपोखरी गाउँपालिकामा आएको १५ जना बुहारीहरू रमाइलो बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यायरत छन्। 

उनीहरू सबैको पढाई खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको छ। 

पालिकाभित्रका सबै बुहारीहरूलाई स्नातक तहको निःशुल्क शिक्षा प्रदान गर्ने अभियान सुरु गरेपछि बुहारीहरूका लागि उच्च शिक्षा अध्ययनका लागि कुनै खर्च आवश्यक नपर्ने भएको हो।

गाउँपालिकाले स्नातक तहसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम यही शैक्षिक सत्रबाट लागू गरेको छ। सोही अभियानमार्फत पालिकाभित्रका सबै बुहारीहरूले निःशुल्क पढ्ने अवसर पाएका हुन्।

यो अभियानमा विवाह पश्चात् आर्थिक र पारिवारिक बाध्यताले बिचमै पढाई छाडेका बुहारीहरू पुनः पढाईका लागि क्याम्पस भर्ना हुन थालेका छन्।

गाउँपालिकाले स्नातकसम्मको मासिक शुल्क तिरिदिने भएपछि पढाई छाडेका बुहारीहरूमा समेत पढाइप्रतिको आकर्षणपनि बढेको छ।

सोही अभियान अन्तर्गत अध्ययन गरिरहेकी बस्नेत आफूहरूका लागि ठूलो सहयोग पुगेको बताउँछिन्। 

‘धेरै मजस्ता छोरीहरू विवाहपछि आर्थिक र पारिवारिक कारण पठाई छाडने अवस्थामा पुग्ने गर्छन्’, बस्नेतले भनिन, ‘बुहारीहरूको पढाई लाई निरन्तरता लिन गाउँपालिकाले निःशुल्क स्नातक तहको पढाई खर्च व्यर्होरेपछि हामी जस्ता बुहारीहरूले आफनो पढाई लाई निरन्तरता दिने अवसर जुरेको छ।’

क्याम्पस प्रमुख टिकाराम खरेलले यही शैक्षिक सत्रदेखी स्नातक तहमा १५ जना बुहारीहरू अध्ययन गरिरहेको बताए। गाउँपालिकाको ‘सासूको इच्छा बुहारीलाई शिक्षा’ कार्यक्रम अनुसार उनीहरूको पढाई खर्च व्यहोरेको उनले बताए।

क्याम्पसमा हाल ११ र १२ सहित स्नातक तहसम्म ४ सय ५० बढी विद्यार्थी अध्ययानरत छन्।

कानेपोखरी गाउँपालिकाले सासू र बुहारीको सम्बन्धलाई शिक्षा, रोजगार तथा पारिवारिक संवेदनशीलतासँग जोडेर ‘सासूको इच्छा बुहारीलाई शिक्षा ’नीति पनि कार्यान्वयनमा ल्याएको हो। जसअनुसार यो शैक्षिक सत्रमा स्नातक तह अध्ययनका बुहारी पढाउनका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। त्यस्तै, ११ र १२ पढ्ने विधार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्नका अध्ययनका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक र सामाजिक रूपमा पिछडिएका परिवारका बुहारीहरू पनि उच्च शिक्षा लिनुपर्छ भन्नका लागि अभियान थालिएको गाउँपालिका अध्यक्ष राजमती इङनाम लिम्बू बताउँछिन्।

‘विवाह भए पनि कतिपय महिलाहरू चुलो चौकामै सीमित रहन्छ, रहर भए पनि कतिपयले पढाइलाई निरन्तरता दिन पाउँदैनन्,’ अध्यक्ष लिम्बूले भनिन, ‘घर गृहस्थीले थिच्दै जाँदा पढाई छाड्नुपर्ने बाध्यता छ, गाउँपालिकाले विवाहपश्चातपनि बुहारीहरूको पढाईलाई निरन्तरता दिन प्रोत्साहका लागि अभियान थालेका हौं।’

बुहारीलाई पालिकाको सहयोगमा उच्च शिक्षा पढाउनका लागि सासूले स्थानीय रमाइलो बहुमुखी क्याम्पसमा भर्ना गर्नुपर्छ। पालिका बाहिरको अरू क्याम्पसमा भर्ना गरे पालिकाले सहयोग गर्दैन।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम लिम्बू।

गाउँ पालिकाले यो सुविधा पाउनका लागि सासूले बुहारीलाई भर्ना गर्नुपर्ने मापदण्ड बनाएको छ। जस अनुसार सासूले बुहारीलाई क्याम्पस भर्ना गरिदिनुपर्ने हुन्छ।

गत शैक्षिक सत्रदेखि कानेपोखरी गाउँपालिकाले करिब ७ सय जना माध्यमिक तह ९ देखि १२ सम्म पढ्न चाहनेलाई पालिकाभित्रको सामुदायिक शिक्षण संस्थामा निःशुल्क पढ्ने प्रबन्ध पनि मिलाएको छ। 

गाउँपालिकाका शिक्षा शाखाका अनुसार पालिकामा तीन सामुदायिक विद्यालय र एक क्याम्पसमा ३ सय ३ छात्रासहित ६ सय ६८ विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .