ad ad

जीवनशैली


सामान्य टाउको दुखाइ पनि हुनसक्छ गम्भीर रोगको संकेत : डा. शिखर श्रेष्ठ (भिडिओ)

सामान्य टाउको दुखाइ पनि हुनसक्छ गम्भीर रोगको संकेत : डा. शिखर श्रेष्ठ (भिडिओ)

तस्बिर/भिडिओ : सरोज नेपाल/नेपालखबर


समृद्धा केसी
फागुन १४, २०७९ आइतबार ८:५८, काठमाडौँ

साधारणतया टाउको दुख्ने समस्यालाई हामी बेवास्ता गरिहेका हुन्छौँ। तर टाउको दुख्ने धेरै कारणहरु हुन्छन्। कहिलेकाहीँ सामान्य दुखाइ पनि जटिल हुन सक्छ। कस्तो टाउको दुखाइलाई हामी जटिल मान्न सक्छौँ? कस्तो अवस्थामा अस्पताल जाने? टाउको दुखाइका प्रकारहरुका विषयमा हामीले बीएण्डबी अस्पतालका न्युरो सर्जन तथा अस्पतालका न्युरो विभाग प्रमुख डा. शिखर श्रेष्ठसँग कुराकानी गरेका छौँ :

खासमा किन दुख्छ टाउको? 
टाउको दुख्ने हजारौँ कारणहरु छन्। टाउकोभित्र कुनै रोग नै नभएर दैनिकीमा धेरै तनाव हुँदा बेलुकातिर धेरै टाउको दुख्न सक्छ। बालबालिकामा टाउको दुख्ने भनेको आँखा कमजोर भएर हुनसक्छ। नेपालीहरुमा धेरै टाउको दुख्ने अर्को कारण भनेको पिनास पनि हो। 

त्यस्तै युवा अवस्थाका धेरैमा टाउको दुख्ने अर्को कारण भनेको माइग्रेन पनि हो। जो  निकै व्यापक छ। माइग्रेन वंशाणुगत रोग पनि हो। कुनै निश्चित कुराहरुले टाउको दुखाइलाई बल्झाउँछ। 

टाउकोमा मासु पलाउँदा (ब्रेन ट्युमर) पनि टाउको धेरै दुख्ने गर्छ। 

परिवार नियोजनका साधनहरु प्रयोग गरिरहेका महिलाहरुमा रगत बाक्लो हुने वा दिमागका नसाहरु सुक्दै जाने भएकाले नसाहरु बन्द भएर चाप बढेपछि पनि टाउको दुख्ने हुन्छ। 

कहिलेकाहीँ रक्त चाप बढ्यो भने पनि टाउको दुख्छ। यी सबै कारणले गर्दा टाउको दुख्न सक्छ। ओपीडीमा कुनै पनि बिरामी टाउको दुखेर आए भने मुख्य गरेर ज्यान लिने खालको के छ भनेर पत्ता लगाएर उपचार गर्नु पर्ने हुन्छ। 

कस्तो खालको टाउको दुखाइलाई ‘ब्रेन ट्युमर’ भन्ने? 
टाउकोमा लाग्ने फरकफरक खाले रोगको दुखाइ पनि फरकफरक नै हुन्छ। हामी कहिलेकाहीँ टाउको दुख्यो निको भइहाल्छ भनेर घरमै बसिरहेका हुन्छौं। तर असामान्य तरिकाले टाउको दुखेको छ भने घरमै बस्नु हँुदैन। किनभने त्यो दुखाइ सामान्य रोगको लक्षण नभएर ‘ब्रेन ट्युमर’ पनि हुन सक्छ। 

ट्युमर मस्तिष्कको जुनसुकै भागबाट पनि हुन सक्छ। साधारण भाषामा भन्दा ट्युमर भनेको मासु पलाउनु हो। 

हरेक ट्युमर क्यान्सर नै हुन्छ भन्ने हुँदैन। हरेक ट्युमर घातक नै हुन्छ भन्ने पनि छैन। मस्तिष्कमा पलाएको मासु यदि नराम्रो दर्जाको छैन र त्यसलाई शल्यक्रिया गरेर समयमा निकाल्न सकियो भने बिरामीलाई बचाउन सक्छौँ। 

मैले चारपाँच वर्षको बच्चादेखि ८० वर्षको बुबाको मस्तिष्कको ट्युमर पनि निकालेको छु। उहाँहरु अहिले निकै स्वस्थ हुनुहुन्छ। ट्युमर भयो भन्दैमा आत्तिहाल्नु पर्दैन। 

त्यस्तै मस्तिष्कको जुन भागमा ट्युमर छ त्यही भाग मात्र धेरै दुख्ने हुन्छ। ‘ब्रेन ट्युमर’ हुँदा साधारणतया धेरैजसो बिहान उठ्दा टाउको झुम्म भएर दुख्छ। ‘ब्रेन ट्युमर’ हुँदा धेरैजसो बिरामीलाई निकै बान्ता हुन्छ। ट्युमर पलाएको भागमा शरीरका जुन अंग चलाउने नसाहरु जोडिएका छन्, ती अंगहरु वा भाग कमजोर हुँदै र प्यारालाइसिस हुँदै जान्छ। 

त्यस्तै ‘ब्रेन ट्युमर’ हुँदा टाउको दुखाइका साथै क्षारे रोग जस्तो अचेत हुने, हिँड्न र बोल्न पनि गाह्रो हुनेजस्ता लक्षण देखिन सक्छन्। 

भिडिओ

‘ब्रेन ट्युमर’ कति घातक हुन्छ?
‘ब्रेन ट्युमर’ विभिन्न प्रकारको हुन्छ। टाउकोको कुन भागमा ट्युमर पलाएको छ र बिरामी कस्तो अवस्थामा अस्पताल आएको छ भन्ने कुराले नै बिरामीको आयु निर्धारण गर्छ। 

कुनै ट्युमर ब्रेनको झिल्लीबाट आउने हुन्छ। यसलाई पहिलो दर्जाको ट्यूमर मानिन्छ। यो ट्युमर एक पटक शल्यक्रिया गरेर पुरै निकाल्यो भने जीवनभर आउँदैन। दोस्रो र तेस्रो दर्जाको ‘ब्रेन ट्युमर’ लाई पनि त्यति खतरनाक मानिँदैन। तर चौथो दर्जाको ‘ब्रेन ट्युमर’लाई भने निकै खतरनाक मानिन्छ। यसमा बिरामीको सम्पूर्ण उपचार गर्दा पनि एकदेखि दुई वर्षसम्म मात्र बचाउन सकिन्छ। 

टाउको दुख्ने अर्को प्रमुख कारण मानिने माइग्रेन कस्तो खालको रोग हो? लक्षण के देखिन्छ? 
माइग्रेनका धेरै बिरामीहरुमा केही निश्चित खाने कुराहरु जस्तोः गुन्दु्रक, दूधजन्य खाने कुरा र प्रशोधित खाने कुराले गर्दा माइग्रेन बल्झिन्छ। यी खानेकुराहरुबाट थोरै केमिकलहरु निस्कने गर्छ, जसले दिमागको नसा सुनिन्छ र टाउको दुख्ने गर्छ। त्यस्तै कतिपयलाई अनिँदो बस्दा, खाली पेट बस्दा, उज्यालोमा हेर्दा पनि माइग्रेन बल्झिरहेको हुन्छ। 

हरेक व्यक्तिलाई माइग्रेन बल्झाउने फरक–फरक कारण हुन सक्छ। कसैलाई त्यही दूधले टाउको दुखाउन सक्छ भने कसैलाई त्यही दूधबाट बनेको चियाले राम्रो गर्न सक्छ। केहीलाई गन्ध वा बास्नाले गर्दा पनि टाउको दुख्न सक्छ। त्यसकारण माइग्रेन भएका व्यक्तिहरुलाई कुन कुराले गर्दा टाउको दुख्ने र निको हुन सक्छ भनेर हेर्नुपर्ने हुन्छ।

माइग्रेन ट्युमर वा अन्य कुनै कारणले गर्दा हुने रोग होइन। यो त शरीर बढी संवेदनशील भएर हुने रोग हो। त्यसकारण माइग्रेन बल्झाउने ती ट्रिगर फ्याक्टरदेखि टाढा बस्नु पर्छ। समयमै माइग्रेनको औषधि गरियो भने यसलाई जित्न पनि सकिन्छ। 

कहिलेकाहीँँ ट्युमर आफ्नो भेष बदलेर माइग्रेनजस्तो भएर पनि आइदिन सक्छ। हामी माइग्रेन भयो भनेर बस्छौँ, आठदस वर्षपछि एमआरआई गर्दा ट््युमर भएको पनि देखेका छौँ। 

कुन बेला ट्युमर हुँदाहुँदै माइग्रेन पनि भएको हुन सक्छ। त्यसैले हरेक दुखाइलाई माइग्रेन नै हो भनेर घरमै बस्नु हुँदैन। जाँच गराइहाल्नु पर्छ। जुनसुकै दुखाइले पनि ज्यान लिन सक्ने भएकाले त्यसलाई समयमै जाँच गराउनु पर्छ।

माइग्रेनको दुखाइलाई कसरी पहिचान गर्ने? 
प्रायःलाई माइग्रेनको दुखाइमा एकातिरको टाउकोको पाटो मात्र दुख्ने गर्छ। माइग्रेनको दुखाइ निकै कडा हुन्छ। यो बल्किएर दुख्छ। टाउकोमा कसैले हम्मरले हिर्काएको जसरी दुख्छ। उज्यालोमा हेर्न निकै गाह्रो हुनेगरी दुख्छ।

माइग्रेन बाल्यावस्थादेखि वयष्कासम्मका सबैमा देखिन्छ। तर अस्पताल आउने धेरैजसो बिरामी भने युवा अवस्थाका छन्। 

माइग्रेन अहिले आएर मात्र बढेको होइन, यो पहिलेबाटै धेरैमा देखिएको एक आम समस्या हो। तर अहिले आएर प्रविधिको विकाससँगै रोगको पहिचान बढिरहेकाले यो पनि बढी देखिएको हो। त्यस्तै बदलिएको जीवनशैलीका कारण पनि माइग्रेन बढिरहेको छ। 

टाउको दुख्ने समस्या भएका कतिलाई माइग्रेन हुन सक्छ? 
नेपालमा अहिलेसम्म त्यस्तो कुनै अध्ययन, अनुसन्धान भइसकेको छैन। तर अस्पतालहरुको तथ्यांक भन्नु पर्दा चाहिँ मैले दैनिक हेर्ने टाउको दुखेका बिरामीमध्ये ८० देखि ९० प्रतिशतमा माइग्रेनकै समस्या भेटिन्छ। मैले दैनिक २० जना टाउको दुखेका बिरामी हेरेँ भने तीमध्ये १५/१६ जना माइग्रेनका बिरामी हुन्छन्। 

माइग्रेनले भविष्यमा कस्ता जटिलता ल्याउन सक्छ? 
माइग्रेनले गर्दा ‘ब्रेन ट्युमर’ हुने जस्तो जटिलता त ल्याउँदैन तर यसले दैनिकीमा भने निकै प्रभाव पार्न सक्छ। माइग्रेनको दुखाइ निकै बढी हुने गर्छ। त्यो दुखाइ ७२ घण्टादेखि पाँच दिनसम्म रहन सक्छ। र,  मान्छेले कुनै पनि काममा ध्यानै नदिने हुन सक्छन्। जीवनलाई रमाइलोसँग बिताउनै नसक्नेजस्ता समस्याबाट पनि कतिपय गुज्रिरहेका हुन्छन्। 

कतिपय माइग्रेनका बिरामीलाई औषधि मात्र नभएर जीवनशैली परिर्वतन गर्न लगाउँदा राम्रो हुन्छ र माइग्रेन भएर पनि सफल जीवन बाँच्न सकिन्छ। उनीहरु आफ्नो सामान्य जीवन बाँच्न सक्छ।  

माइग्रेनको घरेलु उपचार पनि हुन्छ? 
हो, माइग्रेनको घरेलु उपचार पनि हुन्छ। माइग्रेन हुँदा प्रशस्त पानी पिउनु पर्छ, जसले केमिकलहरु ‘फ्लस आउट’ गर्ने काम गर्छ। 

कतिपयलाई अदुवा पानी, कागती पानी र कफी पिउँदा पनि दुखाइ कम हुने गर्छ। 

त्यस्तै टाउको दुख्दा मोबाइल नचलाउने, तनाव नलिने र ७ देखि ८ घण्टा सुत्नु पर्छ। जुन खानेकुरा र व्यवहारले टाउको दुखाइ बल्झाउँछ त्यो देखि टाढा बस्नु पर्छ। यति कुरामा ध्यान दिन सक्यो भने औषधि पनि खान नपर्ने अवस्था आउन सक्छ। 

माइग्रेन लामो समयसम्म हुने भएकाले यसलाई दीर्घकालीन रोग पनि भनिन्छ।

त्यस्तै माइग्रेनका लागि मात्र नभएर अन्य रोगका लागि पनि योगध्यान गर्दा निकै प्रभावकारी मानिन्छ। 

धेरैले टाउको दुख्दा डाक्टरको सल्लाहबिना आफैँ औषधि किनेर खाने गर्छन्। यो कत्तिको घातक हो? 
नेपालमा धेरैले टाउको दुखेका बेला मात्र नभएर अन्य बेला पनि आफैँ औषधि किनेर खाने गर्छन्। जो निकै घातक मानिन्छ। अस्पताल आउने धेरै बिरामी एक महिनासम्म औषधि खाएर निको भयो भन्दैमा फलोअपमा आउँदैनन्। 

१२/१५ वर्षसम्म पनि पहिलो पटक जाँच गर्दा खानु भनेको औषधि आफ्नै हिसाबले किनेर खाने पनि धेरै छन्। 

बिना जाँच औषधि खाँदा त्यसको फाइदा कम र त्यसको नकारात्मक असर बढी हुनसक्छ। बिरामीलाई औषधिले पुर्याएको असरबारे पनि धेरै थाहा नै हुँदैन। 

यसबारे जनचेतना फैलाउन धेरै आवश्यक छ। डाक्टरको सल्लाहबिना सजिलै पाउन सकिने औषधिहरुमा पनि कडाइ गर्नु पर्छ। जसले भविष्यमा निम्त्याउन सक्ने समस्यालाई कम गर्छ। 

के टाउको दुखाइ र मानसिक स्वास्थ्यबीचमा अन्तरसम्बध छ? 
मानसिक स्वास्थ्य र टाउको दुखाइ एकअर्कामा नङ र मासु जस्तै जोडिएको छ। कति माइग्रेनका बिरामी डिप्रेसनमा पनि पुगेका हुन्छन्। बेलाबेलामा दुख्ने टाउकोले गर्दा आफ्नो हिसाबले जीवन जिउन नसकेर उनीहरु बिस्तारै डिप्रेसनमा जान्छन्। मनोविज्ञानसँग सम्बन्धित रोगहरु पनि छन्, जसमा टाउको दुखाइ पनि रहेको छ। 

हामी बिरामी हुँदा जति शरीर बिग्रिन्छ, त्यति नै मानसिक स्वास्थ्य पनि बिग्रिरहेको हुन्छ। शारीरिक अवस्थाताले प्रत्यक्ष वा अप्रत्यक्ष मानसिक स्वास्थ्यलाई पनि असर गरिहेको हुन्छ। 

त्यस्तै माइग्रेन पुरुषको तुलनामा महिलामा हर्मोनका कारणले गर्दा अलि बढी देखिने गर्छ। 

अन्तमा आम समस्याका रुपमा रहेको टाउको दुख्ने समस्याका विषयमा के भन्न चाहनु हुन्छ? 
धेरै टाउको दुख्यो भनेर तनाव लिनु हुँदैन। यदि समयमै सम्बन्धित ठाउँमा उपचार गर्यो भने त्यसको हल राम्रोसँग हुनसक्छ। 

टाउको दुख्यो भन्दैमा घरमै औषधि किनेर खाने नगरौँ। कहिलेकाहीँ सामान्य टाउको दुखाइ ज्यान लिनेखालको पनि सक्ने भएकाले समयमै टाउको दुख्ने कारण पत्ता लगाइ उपचार गर्नु पर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .