तराईमा कठ्यांग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ। शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई-मधेसका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
स्थानीय तहहरुले निर्णय गरेपछि मधेस प्रदेशका धेरै सामुदायिक विद्यालय बन्द भइसकेका छन्। कतिपय विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ। त्यस्ता विद्यालय पनि परीक्षा सकिनासाथ बन्द गर्ने तयारी भएको छ।
चिसोले बालबालिकालाई असर गर्न थालेपछि प्रदेशका आठवटै जिल्लाका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। सामुदायिक विद्यालयले धमाधम जाडो बिदा दिन थाले पनि थोरै मात्रै संस्थागत (निजी) विद्यालयलले जाडो बिदा दिएका छन्।
सर्लाही, महोत्तरी, धनुषा, सिरहा, बारा, रौतहट, पर्सालगायतका जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएका हुन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका र विदेह नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
महोत्तरीका औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगहा नगरपालिका, मट्टिहानी नगरपालिका लगायतका स्थानीय तहले पनि विद्यालय बन्दको निर्णय गरेका छन्।
सिरहाका मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, कर्जन्हा, धनगढीमाइ, सुखिपुर नगरपालिका र भगवानपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले पनि विद्यालयको पठन पाठन बन्द गरेका छन्।
सर्लाहीका कतिपय सामुदायिक विद्यालयमा अहिले त्रैमासिक परीक्षा चलिरहेको छ। परीक्षा सकिनासाथ विद्यार्थीलाई जाडो बिदा दिइने हरिवनस्थित महादेव जनता नमूना माविका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए। हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले विद्यार्थीलाई १५ दिन जाडो बिदा दिने गरी छलफल चलिरहेको बताए।
मधेसका धेरैजसो स्थानीय तहले एकसाताका लागि विद्यालयमा जाडो बिदा दिएका छन्। महोत्तरीको पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकाले यहि पुस २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर, जिराभवानी, सखुवाप्रसौनी गाँउपालिकाले पनि एक साताका लागि जाडो बिदा दिएका छन्।
बाराको कलैया उपमहानगरपालिका, देवताल गाउँपालिकाले पनि ४ दिनको लागि विद्यालय बन्द गरेका छन्।
एक सातायता राम्रोसँग घाम नलाग्दा तराई-मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ।
तीनदिनदेखि सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, बारा, पर्सासहितका जिल्लामा दिनभरजसो नै घाम नलाग्दा जनजीवन कष्टकर बनेको हो।
मधेसका अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ। दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने लाग्दैन।
यही पुस १३ गते मधेसका जिल्लामा यस वर्षकै सबैभन्दा कम तापक्रम देखिएको थियो। त्यो दिन बाराको सिमराको न्यूनतम तापक्रम ६ दशमलव ५ र मधेस प्रदेशको राजधानी जनकपुरको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको थियो।
मंगलबार भने जनकपुरमा न्यूनतम तापक्रम १२ दशमलव ५ र सिमराको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ।
हुस्सु र कुहिरोका कारण तराई-मधेसका जिल्लामा भिजिबिलिटी (पारदर्शिता) पनि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दृश्यमा एक किलोमिटरभन्दा कम पारदर्शिता हुनुलाई कुहिरो र एक देखि पाँच किलोमिटर सम्म पारदर्शिता हुनुलाई हुस्सु भनिन्छ।
भिजिबिलिटी कम हुँदा सडकमा सवारीसाधन सञ्चालनमा पनि समस्या हुने गरेको छ।
कठ्यांग्रिने जाडोका कारण सहर-बजार र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ।
कठ्यांग्रिदो चिसोले अति विपन्न परिवार, दलित, मजदुर, किसान, स्कुले बालबालिकालाई बढी असर गरिरहेको छ।
विशेषगरी शरीरमा लगाउने बाक्ला र न्यानो कपडा नभएका तराई-मधेसका डोम, चमार, मुसहरजस्ता अति पिछडिएका र गरिब वर्ग चिसोको मारमा परेका छन्।
चिसो छल्न चोक चौराहामा आगो बालेर ताप्नेक्रम पनि बढेको छ। काम नहुनेहरु आगो बालेर चिसोबाट जोगिए पनि दैनिक श्रम नगरी जीविका चलाउन नसक्ने मजदुर चिसोको बढी मारमा परिरहेका छन्।
यतिबेला तराई-मधेसका जिल्लामा उखु काट्ने बेला छ। कठ्यांग्रिने चिसोका कारण उखु खेतीमा रहेका मजदुर र किसान बढी मारमा परेका छन्।
स्वास्थ्य संस्थामा चिसोका बिरामीको संख्या बढ्न थालेको छ। सर्लाहीको हरिवनस्थित नमुना अस्पतालका डा. अनिल चौधरीले केही दिनदेखि विशेषगरी कोल्ड डायरिया, दम, रुघा, खोकीका बिरामीको संख्या बढेको बताए।
‘चिसोले विषेशगरी बालबालिका र वृद्धवृद्धाहरुमा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिएको छ,’ नेपालखबरसँग उनले भने, ‘चिसोबाट जोगिन बाक्ला र न्याना लुगा लगाउनुपर्छ, बाहिरफेर धेरै निस्कनु हुँदैन। झोलिलो र तालो खाना खानुपर्छ। जतिसक्दो धेरै शरीरलाई न्यानो पारिरह्यो भने चिसोबाट जोगिन सकिन्छ।’
Shares
प्रतिक्रिया