मधेस


उपमेयरकै नेतृत्वमा नगरपालिकामा ३ महिनादेखि ताला, मन्त्री महेन्द्र यादवले उचालेको आरोप

विकासतर्फको बजेट फ्रिज हुने अवस्थामा
उपमेयरकै नेतृत्वमा नगरपालिकामा ३ महिनादेखि ताला, मन्त्री महेन्द्र यादवले उचालेको आरोप

गत शुक्रबार नगरपालिका कार्यालयमा लागेको ताला खोल्न प्रयास गर्ने र नदिने पक्षबीच झडपको स्थिति सिर्जना भएपछि परिचालित प्रहरी।


जनार्दन पोखरेल
असार १०, २०८० आइतबार १४:३७, सर्लाही

देशैभरिका स्थानीय तह चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त भइरहँदा सर्लाहीस्थित हरिपुर्वा नगरपालिकाको कार्यालयमा भने ३ महिनादेखि ताला लागिरहेको छ।

मेयर विनोदकुमार साह र उपमेयर सुमित्रादेवी ग्वारनी (यादव) बीचको टक्करले नगरपालिकामा विकास निर्माणका काम मात्रै ठप्प भएका छैनन्, सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलबसमेत रोकिएका छन्।

दुवैजना एकै पार्टी नेपाली कांग्रेसबाट निर्वाचित भए पनि उपमेयर सुमित्रादेवी विपक्षी पार्टीहरुसँग मिलेर आफ्नै मेयरविरुद्ध लाग्दा हरिपुर्वा नगरपालिकाका सबै काम/कारबाही अवरुद्ध भएका हुन्। 

नगरपालिकाको कार्यपालिकामा कुनै पनि पार्टीको बहुमत छैन।

१९ सदस्यीय कार्यपालिकामा कांगेसबाट ९ सदस्य छन्। तर, उपमेयरसँगै अर्का एक सदस्यसमेत विपक्षीसँग मिल्दा मेयर साहका पक्षमा अहिले ७ जना मात्रै छन्। कार्यपालिकामा जसपाका ७ र लोसपाका ३ जना सदस्य छन्। उनीहरु सबै उपमेयरतिर लागेर मेयरविरुद्ध आन्दोलन गरिरहेका छन्।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले विकास-निर्माणका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

तर, असारको दोस्रो साता बित्न लाग्दासमेत नगरपालिकाले अहिलेसम्म विकास निर्माणतर्फ १ रुपैयाँ पनि खर्च गर्न सकेको छैन। जसका कारण सबै योजना अलपत्र छन्। 

मेयर साहविरुद्ध गठित संघर्ष समितिले उनको कार्यकक्षसँगै प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखका कार्यकक्षमा ताला लगाएको छ। तालाबन्दीका कारण ३ महिनादेखि आफू कार्यालय पस्न नपाएको गुनासो मेयर साहले गरे। 

‘गाउँपालिकामा तीन महिनादेखि उपमेयरको नेतृत्वमा विपक्षीहरुले ताला लगाएका छन्। एमाले नेताको नेतृत्वमा संघर्ष समिति गठन गरेर काममा अवरोध गरिएको छ,’ मेयर साहले नेपालखबरसँग भने, ‘विकास निर्माणका काम त परै जावस्, हामीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता र शिक्षक कर्मचारीलाई तलबसमेत बाँड्न सकेका छैनौँ। नगरपालिकाले सम्पादन गर्नुपर्ने सबै काम ठप्प छन्।’

कुनै सेवाग्राहीको केही काम पर्‍यो भने आफू कार्यालय पुग्ने र अन्य कोठामा बसेर काम गर्ने गरेको उनले सुनाए। ‘मैले तीन महिनादेखि आफ्नो कार्यकक्षमा बसेर काम गर्न पाएको छैन,’ मेयर साहले भने।

यो अवधिको अधिकांश समय प्रमुख प्रशासकीय अधिकृत ल्याउन सामान्य प्रशासन मन्त्रालय धाउँदैमा बितेको मेयर साहले बताए। 

‘हामीलाई यहाँ हाकिम ल्याउनै गाह्रो भयो,’ मेयर साहले भने, सर्लाही २ बाट निर्वाचित सांसदसमेत रहेका खानेपानीमन्त्री महेन्द्र राय यादवले नगरपालिकामा हस्तक्षेप गर्दा हामीले भनेको बेलामा प्रमुख प्रशाकीय अधिकृत नै ल्याउनै सकेनौँ। जसका कारण चालु आर्थिक वर्ष सकिन लाग्दासमेत विकास निर्माणतर्फ १ रुपैयाँ बजेट पनि खर्च हुन सकेका छैनौँ।’

नगरपालिकामा केन्द्रीय मन्त्रीको अवरोध
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका खानेपानीमन्त्री महेन्द्र राय यादवका कारण हरिपुर्वा नगरपालिकाका कामकाज ठप्प भएको आरोप मेयर साहको छ। 

‘मन्त्री रायले हाम्रा उपमेयरलाई उचालेर नगरपालिकाको काममा अवरोध गरिरहनुभएको छ,’ मेयर साहले भने, ‘उपमेयर सुमित्रादेवी मन्त्री यादवले जे भन्छन्, त्यही गरिरहनुभएको छ।’

नेपाली कांग्रेसबाट निर्वाचित भए पनि उपमेयर अहिले महेन्द्र रायतिर लागेको आरोप मेयर साहले लगाए। ‘उहाँ पहिला पनि महेन्द्रजीकै पार्टीमा हुनुहुन्थ्यो,’ उनले भने, ‘महेन्द्रजीसँग रहँदा चुनाव जित्न सकिँदैन भन्ने बुझेर उहाँ स्थानीय निर्वाचनअघि कांग्रेस प्रवेश गरेर टिकट लिनुभयो। चुनाव जितेपछि हामीलाई धोका दिइरहनुभएको छ।’

हरिपुर्वा नगरपालिकाको विवाद समाधानका लागि आफूले पटकपटक काठमाडौँ पुगेर मन्त्री क्वाटरमा समेत छलफल गरेको मेयर साहको भनाइ छ। 

‘धेरैपटक हामीले काठमाडौंको मन्त्री क्वाटरमा छलफल गरेका छौँ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निवासमा पनि धेरै बैठक भए,’ उनले भने, ‘पछिल्लो बैठकमा मन्त्री मोदीले खानेपानी मन्त्री यादवलाई पनि बोलाउनुभएको थियो। तर बैठकमा उहाँ आउनुभएन। यसले पनि हामीलाई प्रमुख प्रशासकीय अधिकृत ल्याउन ढिलाइ भयो।’ 

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हरिपुर्वा नगरपालिकामा गत शुक्रबार निमेश मिश्र उक्त पदमा हाजिर हुन पुगेका थिए। 

तर, उपमेयर यादव पक्ष र एमाले नेता बिकाउ राय नेतृत्वको संघर्ष समितिले मिश्रलाई कार्यालय प्रवेश गर्नै दिएनन्। 

उनीहरुका मान्छेले मेयर साह र प्रमुख प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई गेटमै रोके। जसले गर्दा ३ महिनादेखि लागेको ताला खोलेर कार्यालयका काम अघि बढाउने मेयरको प्रयास असफल भयो।

संघर्ष समितिमा आबद्ध कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपालगायत एक दर्जन दलका नेता/कार्यकर्ता शुक्रबार ताला खोल्न नदिन नगरपालिकाको कार्यालय पुगेका थिए।

ताला खोल्न प्रयास गर्ने र नदिने पक्षबीच झडपको स्थिति सिर्जना भएपछि नगरपालिका परिसरमा ठूलो संख्यामा प्रहरी नै परिचालन गर्नुपर्‍यो।अन्तत: हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृत मिश्र त्यसै फर्किन बाध्य भए। 

नगरपालिका कार्यालयमा पस्नै नपाएपछि मिश्र जिल्ला समन्वय समिति (मलंगवा) पुगे। 

त्यसपछि जिल्ला समन्वय समिति (जिसस) का प्रमुख कौशलकिशोर सिंह, सर्लाही २ (क) का प्रदेश सांसद जंगिलाल राय र प्रदेश सभा (ख) का सांसद कौशल रायसमेतको सहभागितामा हरिपुर्वाका मेयर, उपमेयर र संघर्ष समितिका पदाधिकारीबीच वार्ता भयो। जसले एक साताभित्र प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय समिति गठन गरेको छ। 

जिसस प्रमुख सिंहको संयोजकत्वमा गठित समितिमा प्रदेश सांसदद्वय जंगिलाल राय र कौशल राय सदस्य छन्। समितिले प्रतिवेदन दिएपछि विवाद समाधानको बाटो खुल्ने अपेक्षा मेयर साहले व्यक्त गरे।

विवादको खास कारण के हो?
मेयर साह नगरपालिकामा विवादको खास कारण नै नभएको दाबी गर्छन्। 

‘उनीहरु कार्यपालिकाको बैठक बस्न पनि दिँदैनन्। बैठक बस्यो भने पनि आफ्नो पक्षमा निर्णय भएन भने विरोध गर्छन्,’ मेयर साहले भने, ‘उपमेयर नेतृत्वमा रहेका विपक्षी जनप्रतिनिधिले अहिलेसम्म आफ्ना माग यी हुन् भनेर मलाई कुनै लिखित पत्र दिनुभएको छैन।’

विवादको विषयमा जानकारी लिन खोज्दा उपमेयर सुमित्रादेवी सम्पर्कमा आउन चाहिनन्। पटकपटक फोन गर्दा पनि उनले फोन उठाइनन्। उपमेयरको फोन उनका पति नरेश रायले उठाए। 

‘उपमेयर अहिले बाहिर गएकी छन्, सम्पर्क हुँदैन,’ उनले भने, ‘उन (उपमेयर) लाई के सोध्नु छ, मलाई नै सोध्नूस्।’

उनले मेयरसँग उपमेयरसहित अन्य जनप्रतिनिधिको कुरो नमिल्नुको खास कारण मेयरको गलत कार्यशैली भएको दाबी गरे।

मेयरले नगरपालिकाको अस्थायी कर्मचारी छनोट, कार्यालय भवन र सडक निर्माणमा मनोमानी गरिरहेको आरोप उनले लगाए। 

‘उपमेयरसहितका अन्य जनप्रतिनिधिले नगरपालिकाको भवन आफ्नै जमिनमा बनाऊँ भन्दा उहाँ (मेयर) ले मान्नुभएको छैन,’ रायले भने, ‘हरिपुर्वा ५ मा नगरपालिकाको आफ्नै १२ कठ्ठा जग्गा छ। त्यो जग्गामा नगरपालिकाको भवन बनाऊँ भन्दा मेयर साब गुठीको जग्गामा बनाऊँ भन्नुहुन्छ। अरु धेरै काममा पनि उहाँका यस्तै बखेडा छन्।’ 

मेयर साहले दाताले निःशुल्क दिएको तीन कठ्ठा जग्गामा प्रहरीको भवन निर्माण र बाँके संग्रामपुर सडक निर्माणमा पनि अवरोध गरिरहेको आरोप उनले लगाए। 

‘बाँके संग्रामपुर सडक विस्तार गर्दा सडकको बीचमा मेयरको पोखरी पर्‍यो,’ उनले भने, ‘आफ्नो पोखरी पर्ने भएपछि उहाँले त्यहाँ सडक विस्तार नै हुन दिनुभएको छैन। प्रहरीको भवन पनि उहाँ गुठीकै जग्गामा बनाऊँ भनिरहनुभएको छ। जुन कुरा हामीले मानेका छैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .