म्यागेजिन


लक्की शेर्पाको मातृत्व अनुभवः बच्चा छाडेर करिअर भनिहिँड्दा खुसीका थुप्रै क्षण गुमाएछु

लक्की शेर्पाको मातृत्व अनुभवः बच्चा छाडेर करिअर भनिहिँड्दा खुसीका थुप्रै क्षण गुमाएछु

लक्की शेर्पा भन्छिन्— आमा हुँदै छु भन्ने भएपछि मनमा अलग्गै तरंग आउने रहेछ (तस्बिरहरूः विक्रम राई)


राधिका अधिकारी
फागुन ७, २०७८ शनिबार ८:२९, काठमाडौँ

उनका बुबाआमाको विवाह भएको लामो समय सन्तान भएनन्। सन्तान नहुँदा समाज र आफन्तका प्रश्नले हैरान थियो उनको परिवार। परिवारमा निराशा छाएको बेला उनी जन्मिइन्। त्यही कारण उनको नाम बुबाआमाले ‘लक्की’ राखिदिएका थिए। 

लक्कीको ८ वर्षसम्मको अध्ययन र हुर्काइ धनकुटामा भयो। कलेजका प्राध्यापक उनका बुबाको सरुवा कीर्तिपुर भएपछि बाँकी अध्ययन उनले काठमाडौँमै गरेकी हुन्। लक्कीपछि उनकी आमाको कोखबाट अर्की छोरीको पनि जन्म भयो। उनीहरु सानै थिए। 

आफन्तले बुवाआमालाई भन्थे, ‘तिमीहरुको त छोरा छैन्। कस्तो नरमाइलो लाग्दो हो है?’

आमा–बुबाले के जवाफ दिन्थे, लक्कीलाई सम्झना छैन। उनलाई भने नराम्रो लाग्थ्यो। 

तर, उनका बुबाआमाले छोरीहरुलाई सकेसम्म धेरै अवसर दिने कोसिस गरे। लक्कीका दिदीबहिनीले त्यतिबेलै कुस्ती, पौडी लगायतका सबैखाले तालिम लिने अवसर पाए। उनका बुबा समान अवसर भयो भने छोरा छोरी दुबैले राम्रो प्रगति गर्न सक्छन् भनेर स्थापित गराउन चाहन्थे। लक्कीले पनि त्यही अनुसार आफूलाई प्रमाणित गरेर देखाइन्।​​​

इन्गेजमेन्ट भएको ६ वर्षमा विवाह
बीए पढ्दै गर्दा लक्की स्टुडेन्ट फोरमको एउटा कार्यक्रममा सहभागी भएकी थिइन्। त्यही कार्यक्रममा भेटिए सोलुखुम्बुका ङवाङ सोनाम शेर्पा। ङवाङ सोनाम त्यतिबेला अमेरिका बस्थे। नेपालबाट पुनः अमेरिका फर्किएपछि ङवाङ सोनामले लक्कीलाई लामो प्रेम पत्र लेखिपठाए। लक्कीले उक्त चिठ्ठी आफ्नी साथीलाई देखाइन्। 

‘उसले तिमीलाई धेरै माया गर्छ। ओके भन,’ पत्र पढेपछि साथीले सुझाइन्।

तर लक्कीले चिठीको जवाफ लेखिनन्। अहिलेको जस्तो सामाजिक सञ्जालको जमाना थिएन। भर्खर सुरु भएको मोबाइलबाट अन्तर्राष्ट्रिय कल गर्न सक्ने अवस्था थिएन। 

त्यसको केही समयपछि ङवाङ सोनाम नेपाल आए। लक्कीको परिवारमा कुरा राखे। लक्कीका बुबा छोरीले मास्टर्स नसकी विवाह गरिदिने पक्षमा थिएनन्। ङवाङ सोनाम लक्कीलाई गुमाउन चाहँदैनथे। त्यसैले उनले लक्कीको पढाइ सकिएपछि विवाह गर्ने सर्तमा इन्गेजमेन्ट गरे र अमेरिका फर्किए। त्यसपछि सुरु भयो लक्की र ङवाङ सोनामको ‘लङ डिस्टेन्स रिलेसनसिप।’ त्यसको ६ वर्षपछि लक्की र ङवाङ सोनामले विवाह गरे।​

बेबीबम्प देखाएर भाषण 
भर्खर सकिएको पढाइ। पिकअप लिँदै गरेको करिअर। आफूलाई बुझ्ने श्रीमान्। लक्की आफूलाई साँच्चै भाग्यमानी महसुस गरिरहेकी थिइन्। त्यही भाग्यमा थपियो अर्को खुसी। विवाह गरेको केही समयमा उनी आमा बन्ने भइन्।

‘आमा हुँदै छु भन्ने भएपछि मनमा अलग्गै तरंग आउने रहेछ,’ उनी भन्छिन्। 

गर्भावस्थाको समय लक्कीले देश तथा विदेशमा थुप्रै स्थानको भ्रमण गरिन्। महिला अधिकारसम्बन्धी विभिन्न संघ संस्थाको नेतृत्व गरेर हिँडिरहँदा  लक्की भित्रभित्रै डराइरहेकी हुन्थिन्।

सोच्थिन्, ‘मेरो गर्भको बच्चाका लागि मैले गरिरहेको यो यात्रा जोखिमपूर्ण त छैन?’

तर उनलाई परिवारले हौसला दिइरहेको हुन्थ्यो। त्यसले उनलाई आँट आउँथ्यो।

भन्छिन्, ‘बच्चा र करिअर एकै पटक हुर्काउन निकै गाह्रो हुने रहेछ।’

बच्चा जन्माउन नसकेर आमाको मृत्यु भएको खबरले लक्कीको मनमा चिसो पस्थ्यो। मृत्यु भएकी महिलाको ठाउँमा आफूलाई राख्थिन् र डराउँथिन्। पहिलो गर्भावस्थाको समयमा उनी नेपालका ग्रामीण क्षेत्रमा महिलाको पाठेघरको समस्यालाई लिएर गरिएका कार्यक्रममा सहभागी भइन्।

त्यो देखेर उनी फेरि सशंकित हुन्थिन्, ‘मेरो पाठेघर मेरो बच्चाका लागि सुरक्षित छ त?’

तर, सुत्केरी भएर बच्चासँग मुस्कुराइ रहेका महिला देख्दा उनको आँट फर्किन्थ्यो।

अहिले महिलाहरु गर्भावस्थाको हरेक क्षणलाई सेलिब्रेट गरिरहेका हुन्छन्। बेबीबम्पमा फोटो सुट गरिरहेका हुन्छन्। लक्कीको समयमा यो चलन भित्रिसकेको थिएन। उनले त बेबीबम्प देखाएर मञ्चमा भाषण गरिन्। कार्यक्रममा प्रिजेन्टेसन गरिन्। सामान्य अवस्थामा भन्दा गर्भावस्थाको बेलामा भाषण, प्रिजेन्टेसन गर्न गाह्रो हुन्थ्यो। बेल्दाबोल्दै स्वाँस्वाँ हुन्थ्यो। पेटमा बच्चा चल्दा उनलाई थचक्क बस्न मन हुन्थ्यो। सबैले विशेष माया र ख्याल गर्थे, लक्कीलाई अनौठो लाग्थ्यो।

उनी कामना गर्थिन् ‘मेरो बच्चाको हात खुट्टा ठिकठाक होस्।’

लक्कीको गर्भिणी पेट हेरेर उनको परिवारले छोरा वा छोरीको लख काटेन। छोराछोरीको चाहना राखेन। स्वस्थ बच्चाको कामना गर्यो। तर वरिपरिका मान्छे भन्थे, ‘तिमीहरु त छोरा हुने परिवार होइन। छोरी नै जन्मिन्छन्।’ 

लक्की भन्थिन् ‘के फरक पर्छ त?’

उनका आमाबुबाले पनि ‘जिन्दगीमा छोरी नै ठिक’ भनिदिन्थे। लक्की समाजलाई चाहिने छोरा भन्दा जिन्दगीलाई चाहिने छोरी ठूलो होला भन्ने महसुस गर्थिन्।​

अस्पतालको वातावरणले होस् गुम्यो
डाक्टरले डेलिभरीका लागि दिएको डेट नाघिसकेको थियो। लक्कीलाई कुनै असजिलोपन नै महसुस भइरहेको थिएन। उनी पाटन अस्पताल गइन्। त्यही दिन अस्पताल भर्ना भइन्। अस्पताल पुग्दासम्म उनलाई लागेको थियो सजिलै बच्चा जन्माउँछु। अस्पतालमा त अर्कै वातावरण थियो। आमा बन्ने तयारीमा रहेका महिला रोइरहेका थिए। फरकफरक महिलाका फरकफरक स्वर र विलाप थिए। 

नर्स आउँथे, उनीहरुको पाठेघरको मुख परीक्षण गर्थे र बेला भएको छैन भनेर जान्थे। अस्पतालको यो दृश्यले लक्कीको होस नै गुम्यो। उनलाई लाग्यो ‘अब मरिने रहेछ।’ 

उनले डाक्टरलाई भनिन्, ‘म यसरी बच्चा जन्माउन सक्दिनँ, मेरो अप्रेसन गरिदिनू।’

त्यतिबेला निक्कै कम सुत्केरीको मात्रै अप्रेसन हुन्थ्यो। गर्नैपर्ने अवस्थामा मात्रै हुन्थ्यो। डाक्टरले लक्कीलाई पनि प्राकृतिक रुपमै सुत्केरी गराउने कोसिस गरे। तर हुन सकेन। उनको बच्चाले पेटमै दिसा गरेपछि हतारहतार अप्रेसन गर्नु पर्यो।​

सुत्केरीपछि संसारै अर्कै
अप्रेसन गरेको दिन लक्कीलाई के के भयो थाहा छैन। उनलाई त्यो दिन त आफ्नो बच्चा भयो भन्ने पनि थाहा भएन। अप्रेसन गरेको भोलिपल्ट जब उनको अगाडि छोरो हातखुट्टा फालेर चलिरहेको थियो। उनलाई अर्कै संसारमा पुगेको अनुभूति भयो।

भन्छिन् ‘आमा नहुँदाको म र आमा भएपछिको म पूर्ण रुपमा फरक भयो।’ 

त्यसबेला लक्कीका आँखाबाट खुसीको आँसु झरेका थिए। 

अप्रेसन गरेको शरीर एक त उनलाई बच्चा राम्रोसँग सम्हाल्नै गाह्रो हुन्थ्यो। दुईतीन दिनसम्म उनको दूध आएन। आफ्नो दूध नआउँदा उनलाई निकै पीडा हुन्थ्यो। आमाको दूध आउने बेलासम्म उनको छोरा बोतलको दूधमा रत्ति सकेका थिए। 

‘आमाको दूध छाडेर बच्चाले बोतलको दूध खोज्दा आमालाई झन् धेरै दुख्दोरहेछ,’ लक्कीले सुनाइन्। 

घर फर्किएपछि उनले बच्चा धेरै स्याहार्नुपरेन। उनी आमा भइसक्दा पनि उनकी आमालाई भने छोरीले केही जान्दिनन् भन्ने नै लागिरह्यो। नातिका हरेक क्रियाकलापमा लक्कीकी आमा आफैँ सरिक हुन्थिन्। लक्कीलाई छोरो हुर्काउन गाह्रो भएन्। उनी काममा पनि छिट्टै फर्किइन्। 

आमा भएर काममा निस्किएपछि भने सामान्य अवस्थाको भन्दा फरक अनुभूति गरिन् लक्कीले। पहिलाजस्तो काम सकिएपछि साथीभाइसँग बरालिएर बस्दैनथ्यो उनको मन। उनलाई घर पुग्ने हतारो हुन्थ्यो। 

लक्की भन्छिन् ‘आमा हुनु भन्दाअघि अरुको बच्चा रुँदा झर्को लाग्थ्यो। वास्ता लाग्दैनथ्यो। आमा भएपछि अरु बच्चा रुदाँ पनि आफ्नै बच्चा रोएको जस्तो हुने रहेछ।’

सानो छोरा छाडेर थुप्रै पटक विदेशका कार्यक्रममा पुगेकी लक्कीलाई त्यहाँ अरुका बच्चा देख्दा उनीहरुमा माया पोख्न मन लाग्थ्यो, बोक्न मन लाग्थ्यो, म्वाइँ खान मन लाग्थ्यो। कतिपटक त्यसै गरिन्। चाहेर पनि बच्चा भनेर बस्न सकिनन्। भर्खर गति लिएको करिअरको पनि माया लाग्थ्यो, बच्चाको पनि।

भन्छिन् ‘दुवैलाई ब्यालेन्समा राख्न निकै कठिन हुने रहेछ।’ 

साढे २ वर्षपछि दोस्रो सन्तान
लक्कीका जेठा छोरा २ वर्ष पुगेपछि नै उनलाई लागेको थियो, ‘बच्चालाई साथी अर्को बच्चा चाहिन्छ।’

परिवारले पनि दुईवटा बच्चा चाहिन्छ भन्न सुरु गरेको थियो। उनी दोस्रो पटक आमा बन्ने तयारीमा थिइन्। पहिलो सन्तान जन्मिएको साढे २ वर्षमा दोस्रो पटक आमा बन्ने भइन्। 

लक्की दोस्रो पटक गर्भवती हुँदा देशमा २०६२/०६३ को जनआन्दोलन चलेको थियो। उनी जनजाति महासंघको सचिव थिइन्। उनी आन्दोलनमा असाध्यै धेरै सरिक भइन्।

यतिबेला उनलाई आमाले भनेकी थिइन्, ‘आफ्नो र पेटमा भएको बच्चाको ख्याल गर।’

उनले आमाको कुरा सुनिनन्। श्रीमानले भनेका थिए, ‘पेटमा बच्चा बोकेर आन्दोलनमा मात्रै हिँड्दा भोलि बच्चा पनि आन्दोलनकारी भएर निस्केला।’ 

लक्की ७ महिनाको गर्भावस्थामा थिइन्। यूएनको कार्यक्रममा सहभागी हुन अमेरिका पुगिन्। कार्यक्रम सकिएपछि उनी नेपाल फर्किन पाइनन्। दिन पुग्न लागेको शिशुलाई गर्भमा बोकेर यात्रा गर्नु जोखिम हो भनेर अमेरिकी सरकारले उनको यात्रामा रोक लगायो। अमेरिकामा लक्कीका आमाजुहरु थिए। श्रीमान् पनि गए। दोस्रो पटक उनी अमेरिकाको अस्पतालमा सुत्केरी भइन्। 

नेपालका अस्पतालमा भन्दा सबै व्यवस्था फरक थियो अमेरिकामा। अप्रेसनको सुरुदेखि अन्तिमसम्म श्रीमानलाई पनि सँगै राखियो। दोस्रो पटक पनि उनको छोरो जन्मियो। 

‘छोरीको रहर थियो। छोरी भएको भए हुन्थ्यो नि भन्ने त भयो, जन्मिएपछि उस्तै माया लागिहाल्ने रहेछ,’ लक्कीले सुनाइन्।

सबै ठिकै थियो। तर जन्मिएको केही समयपछि उनको छोरालाई आइसीयूमा राखियो। 

गर्भमा बच्चा बोकेर भिड, हल्ला र आन्दोलनमा हिँडेको असर उनको बच्चामा देखियो। बच्चाको कानमा असर देखियो। १५ दिनसम्म उनको छोरालाई आईसीयूबाट निकालिएन। लक्कीका श्रीमान् कचौरामा दूध दुहेर छोरालाई खुवाउन लैजान्थे। लक्कीको जीवनमा सबैभन्दा पीडादायी क्षण थियो त्यो। त्यतिबेला लक्कीले आमाले ‘धेरै नहिँड’ भनेको सम्झना गरिन्। आफैँलाई गाली गरिन्। 

उनी बच्चालाई एक पटक मात्रै भए पनि हेर्छु, बोक्छु भनेर रुन्थिन्। उनीसँगै रुन्थे उनका श्रीमान्। तर उनको छोरालाई स्पेशल केयरमा राखेर उपचार भइरहेको थियो, डाक्टरले दिँदैनथे। १५ दिनको त्यो समय निक्कै कहालीलाग्दो भयो लक्कीका लागि।

उनी कामना गर्थिन्, ‘मेरो छोराको कान नबिग्रियोस्।’

१५ दिनपछि उनका छोराको डिस्चार्ज भयो। 

त्यही समस्याका कारण सुरुसुरुमा उनको छोराको उच्चारण राम्रो भएन। ‘र’ लाई ‘ल’ भनेर उच्चारण गर्थे। लामो समय यस्तै समस्या देखियो। उनले उपचारका लागि बारम्बार अमेरिका लगिन्। धेरै वर्षपछि कान ठिक भयो र उनी खुसी छिन्।​

बुबाआमाभन्दा पहिला हजुरबुबा–हजुरआमा
लक्कीका दुवै छोरा उनका आमा बुबाले हुर्काएका हुन्। लक्कीका श्रीमानश्रीमती सधैँ काममा व्यस्त रहे। त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी लक्की नेकपा एमालेकी नेतृ थिइन्। पछि उनी माओवादीमा प्रवेश गरिन्। पहिलो संविधान सभा तथा संसद् सदस्य उनी सीमान्तकृत समुदायबाट राजदूत नियुक्त हुने प्रथम महिला समेत हुन्। 

त्यसैले बच्चा साना हुँदा उनले धेरै समय दिन सकिनन्। अहिले उनका छोराहरु पनि हजुरबुबा–हजुरआमालाई प्राथमिकतामा राख्छन्। बुबा–आमासँग भन्दा धेरै हजुरबुबा–हजुरआमासँग समय बिताउँछन्। हिजोआज लक्कीलाई बच्चा छाडेर करिअर भनिहिँड्दा उनीहरुसँगको सान्निध्य गुमाएँ भन्ने लागिरहन्छ। उनीहरु हुर्किंदा आमासँगै हुर्किने खुसीका थुप्रै क्षण गुमाएछु भन्ने लाग्छ। 

‘करिअर ओरिन्टेड भयौँ। बच्चा छाडेर हिँड्नु नहुने रहेछ भन्ने अहिले महसुस हुन्छ,’ लक्की भन्छिन्, ‘पछुतो लाग्छ। आमा हुनु भनेको धेरै कुरा त्याग गर्न सक्नु हो। मैले धेरै कुरा त्याग्न सकिनछुजस्तो महसुस हुन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .