परराष्ट्र मन्त्रालयले १० जेठ (२०७९) मा त्रिपुरेश्वरथित राहदानी विभागको कार्यालयमा ‘राहदानी संग्रहालय’ स्थापना गरेयता दर्जनौँ पुराना राहदानी संग्रहित भइसकेका छन्।
राहदानी संग्रहालयमा सोमबार (२६ मंसिर) २६० नम्बरको अर्काे एउटा पासपोर्ट (राहदानी) पनि थपियो। त्यो पासपोर्ट २०१६ को आम निर्वाचनमा सुदूरपश्चिम क्षेत्रको चुनाव कमिस्नर एवं चिनियाँ प्रधानमन्त्री चाउ एनलाइको पहिलो नेपाल भ्रमण (२०१३) तयारी समितिका सदस्य सचिव तारामान सिंह स्वारको थियो।
पूर्वपरराष्ट्रसचिव डा. मदन भट्टराईको रोहवरमा स्व. तारामान सिंह स्वारकी छोरी ईश्वरी स्वार, बुहारी सुशीला स्वार र नाति सुब्रत स्वारले विभागका महानिर्देशक सुरेन्द्र यादवलाई सो राहदानी हस्तान्तरण गरेका थिए।
राणाकालमा जारी गरिएका अन्य पासपोर्टकै आकार–प्रकारको भएपनि स्वार परिवारले सोमबार संग्रहालयलाई हस्तान्तरण गरेको पासपोर्टको महत्व भने भिन्न र विशेष छ।
यो नै त्यस्तो पहिलो नेपाली पासपोर्ट हो, जसमा अस्ट्रेलिया र न्युजिल्यान्डको पहिलो भिसा लागेको थियो। यो पासपोर्टले न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली आफू रहेको भन्ने शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको दाबीलाई पनि खण्डन गर्छ।
अस्ट्रेलिया पुग्ने पहिलो समूहका नेपाली
अस्ट्रेलियाको पछिल्लो जनगणना (सन् २०२१) तथ्याङ्क अनुसार त्यहाँ बसोबास गर्ने नेपाली मूलका नागरिकहरुको संख्या १ लाख २२ हजार ५ सय ६ छ। जनगणना भएको पनि एक वर्ष बितिसकेकाले त्यहाँ सयौँ नेपालीहरु थपिइसके होलान्।
आप्रवासी नेपालीहरुको जनसंख्या सवा लाख पुगेको अस्ट्रेलियामा पहिलो नेपाली पाइला भने विसं २००४ मंसिरमा परेको थियो। अस्ट्रेलिया पुग्ने पहिलो नेपाली टोलीको नेतृत्व राणा परिवारका रोलवाला सदस्य मेजर जनरल मृगेन्द्र शमशेरले गरेका थिए।
जनरल मृगेन्द्र शमशेर अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेरका भतिजा (बबर शमशेरका छोरा) थिए। उनी २०१५ को आम निर्वाचनको प्रमुख प्रतिपक्षी दल नेपाल राष्ट्रवादी गोर्खा परिषदका अध्यक्ष पनि हुन्।
‘सन् १९४८ (विसं २००५) मा अस्ट्रेलियाको ल्याप्स्टनमा संयुक्त राष्ट्रसंघको एउटा निकायको रुपमा रहेको ‘इकोनोमिक एन्ड सोसल कमिसन फर एसिया प्यासिफिक’ (इक्याफे) को दोस्रो अधिवेशन भएको थियो, त्यो अधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मेजर जनरल मृगेन्द्र शमशेरले गरेका थिए,’ नेपालको कूटनीतिक इतिहासका जानकार समेत रहेका पूर्वपरराष्ट्रसचिव डा. भट्टराईले भने, ‘राणा नेतृत्वको टोलीमा इतिहासका प्रोफेसर साम्बदेव पाण्डे र तारामानसिंह स्वार सदस्य थिए।’
रोचक चाहिँ के भने नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता विसं २०१२ मा मात्र प्राप्त गरेको हो। तर, राष्ट्रसंघको सदस्यता प्राप्त नगर्दै राष्ट्रसंघ अन्तर्गतको ‘इक्याफे’ को सहसदस्यता नेपालले विसं २००४ मा नै प्राप्त गरिसकेको थियो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मेजर जनरल राणा तत्कालीन ‘पब्लिक इन्स्ट्रक्सन’ को ‘डाइरेक्टर जनरल’ थिए।
‘त्यो बेला मन्त्रालयको प्रचलन थिएन, तर मेजर जनरल राणा मन्त्री सरहका अधिकारी थिए,’ डा. भट्टराईले भने, ‘तत्कालीन ‘पब्लिक इन्स्ट्रक्सन’ लाई अहिलेको शिक्षा मन्त्रालय र डाइरेक्टर जनरललाई शिक्षामन्त्री सरह मान्दा फरक पर्दैन।’
नेपाली प्रतिनिधिमण्डल अस्ट्रेलिया जाने भएपछि उनीहरुलाई तत्कालीन राणा प्रशासनले राहदानी प्रदान गर्यो। त्यसक्रममा टोलीका एक सदस्य स्वारले प्राप्त गरेको राहदानी नम्बर हेर्दा त्यो बेलासम्म कति नेपालीहरुले राहदानी प्राप्त गरेका रहेछन् भन्ने अन्दाज लगाउन सकिन्छ।
‘त्यसबेला विदेश जाने नेपालीहरुको संख्या निकै थोरै थियो, मेरो राहदानीको क्रमसंख्या २६० थियो,’ स्व. स्वारले २०३७ मा प्रकाशित आफ्नो ‘केही शैक्षिक संस्मरण’ नामक पुस्तकमा समावेश ‘नेपालीको पहिलो अस्ट्रेलिया यात्रा’ मा लेखेका छन्, ‘यसबाट २००५ मार्ग (मंसिर) महिनाअगाडि विदेश जानेको संख्या २६० भन्दा बढी नभएको बुझिन्छ।’
नेपाली टोली कलकत्ता–थाइल्यान्ड–सिंगापुर–बाली (इन्डोनेसिया) हुँदै अस्ट्रेलिया पुगेको थियो। नेपालमा हवाईजहाज सञ्चालनमा नरहेकाले पैदलमार्ग हुँदै भीमफेदी पुगेको टोली अमलेखगञ्जबाट रेल चढी रक्सौल र त्यहाँबाट पनि रेलमै कलकत्ता प्रस्थान गरेको थियो।
स्वारको राहदानीमा लागेको भिसाले देखाउँछ, यो टोली १० मंसिर २००५ (२५ नोभेम्बर १९४८) मा अस्ट्रेलियाको सिड्नी पुग्यो। सिड्नी पुग्नुअघि उनीहरु चढेको जहाज डार्बिन (अस्ट्रेलिया) मा अवतरण भएको थियो।
सम्मेलनस्थल चाहिँ सिड्नीबाट ६२ किमी परको ल्याप्स्टन सहरमा थियो। उनीहरु ल्याप्स्टनस्थित ब्लु माउन्टेन इलाकाको रिज होटलमा राखिएका थिए।
अस्ट्रेलियामा स्थानीय निकायका निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपालीहरुको संख्या पछिल्लो समय बढ्दो छ। कात्तिक (२०७९) अन्तिम हप्ता दक्षिण अस्ट्रेलियाको मारियन काउन्सिलको वारिपरिङ्गा क्षेत्रको काउन्सिलरका लागि भएको निर्वाचनको कुरा गरौँ। गैरआवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको संयोजकसमेत रहेकी रेनुका लामा त्यहाँको काउन्सिलर पदमा निर्वाचित भइन्। त्यसअघि न्यु साउथ वेल्स राज्य अन्तर्गतको एउटा काउन्सिलमा भद्र वाइबाले काउन्सिलर पदमा विजय हासिल गरेकी थिइन्।
स्थानीय निर्वाचनमा नेपालीहरुले धमाधम प्राप्त गरेको सफलता अहिलेको सन्दर्भ हो। ७४ वर्षअघि भने अस्ट्रेलियावासीहरुका लागि नेपालीहरु छुट्टै ग्रहबाट आएका प्राणीसरह थिए।
अस्ट्रेलिया पुग्ने पहिलो टोलीका सदस्य स्व. स्वारको संस्मरणले यही संकेत गर्छ।
खाना दिन आनाकानी, पानी पिउँदा आश्चर्य
अन्य कामका अलावा पर्यटकका रुपमा ‘प्याकेज टुर’ मार्फत् वर्षेनि सयौँ नेपालीहरु इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय नगरी ‘बाली’ द्वीप पुग्ने गर्छन्। यो द्वीपको सौन्दर्य र सत्कारले नेपालीहरुलाई मन्त्रमुग्ध बनाउँछ। त्यहाँ गएर फर्कनेहरुको वृत्तान्त सुनेपछि अन्य नेपालीहरु पनि त्यहाँ जान लालायित हुन्छन्।
अस्ट्रेलिया प्रस्थान गरेको पहिलो नेपाली टोली पनि सिङ्गापुर हुँदै बाली पुगेको थियो। नेपाली टोली बाली पुग्दा त्यहाँको अवस्था अशान्त थियो। स्व. स्वारको भनाइमा इन्डोनेसियामा रहेका डच र स्थानीवासीहरुबीच कचिंगल चलिरहेको बेला थियो त्यो।
खासमा त्यो बेला इन्डोनेसियालीहरु स्वतन्त्रताका लागि संघर्षरत थिए। उनीहरु नेदरल्यान्ड्सविरुद्ध लडिरहेका थिए। इन्डोनेसियाली राष्ट्रवादीहरुले आफूविरुद्ध संघर्ष चर्काइरहेकाले बाली विमानस्थलमा रहेका डच सैनिकहरु पनि सतर्क थिए।
‘हाम्रो वायुयान बालीमा ओर्लने बित्तिकै मोटरसाइकल चढेका सशस्त्र सैनिकहरुले घेरे, उनीहरु डच सैनिक थिए,’ बाली विमानस्थलमा भएको घटनाबारे स्वारले लेखेका छन्, ‘हामीहरु अस्ट्रेलिया जाने यात्रीहरु हौँ भन्ने थाहा पाएपछि मात्र उनीहरु त्यहाँबाट फर्के।’
अस्ट्रेलियाको डार्विन, सिड्नी हुँदै ल्याप्स्टन पुगेको नेपाली प्रतिनिधि मण्डललाई रिज होटलमा राखियो। प्रतिनिधि मण्डलका तीनमध्ये दुई सदस्यले दौरा–सुरुवाल, कोट र ढाकाटोपी लगाएका थिए। बिल्कुल नयाँ प्रकारको पोशाक लगाएका व्यक्तिहरु देखेर होटलका कामदारहरु पनि छक्क परे।
यो टोली खाना खाने अघिल्लो साँझ ढिलो गरी होटल पुगेको थियो। समय गुज्रेकाले उनीहरु त्यसरात भोकै सुते। भोलिपल्ट बिहानसम्म उनीहरु भोकले आकुलव्याकुल भइसकेका थिए। त्यसैले, बिहानै उनीहरुले होटलका वेटरहरुसँग खाना ल्याइदिन आग्रह गरे।
होटलका कर्मचारीहरु यसै त ढिलाढाला स्वभावका थिए। उनीहरुले नेपाली टोलीले ‘अर्डर’ गरेको खाना ल्याउन झन् ढिलो गरिदिए।
‘हामी भोकले चुर थियौँ, खाना ल्याउन ढिलो हुँदा भित्रभित्रै रिसाइरहेका थियौँ, अरुले खाएको देख्दा मुखभरि थुक आउँथ्यो,’ स्वार लेख्छन्, ‘हामी घुटुघुटु थुक निलिरहेका थियौँ, अरुहरु मजासँग स्वाद लिई लिई खाइरहेका थिए। त्यसबेला हाम्रो बिजोग कसले हेरिदेओस्!’
ओहोरदोहोर गर्ने वेटरहरु उनीहरुसँग केही खोजिरहेजस्तो गरी क्वारक्वार्ती हेर्थे, जान्थे। खाना ल्याउने छाँटकाँट देखाउँदैनथे।
‘त्यसको केहीबेरपछि मात्र हाम्रो खाना आइपुग्यो, भोकाए पनि हामीले विस्तारै खाना खायौँ,’ उनी थप लेख्छन्, ‘खाना नआउँदा हामीलाई उठेर हिडौँ जस्तो पनि लागेको थियो। तर, यसो गर्नु शिष्टता हुने थिएन।’
खाना खाइसकेपछि मात्र आफूहरुका लागि खाना ल्याउन वेटरहरुले किन ढिलो गरेका रहेछन् भन्ने कुरा नेपालीहरुले जानकारी पाए।
स्वारको भनाइमा उनीहरुले लगाएको पोसाक नेपालको राष्ट्रिय पोसाक हो भन्ने वेटरलाई जानकारी रहेनछ। त्यसैले, त्यस्तो पोसाक लगाएका मानिसहरु पहिलो पटक देख्दैमा उसलाई अनौठो लाग्नु स्वाभाविक थियो।
त्यस्ता मानिसलाई खाना खान दिने कि नदिने भन्ने दोधारमा परेको वेटरले मालिकलाई गएर सोधेछ, ‘कमिजको फेरो बाहिर निकालेर केही व्यक्तिहरु डाइनिङ टेबलमा बसेका छन्, उनीहरुलाई खाना दिऊँ कि नदिउँ?’
‘होटल मालिकले हामीले लगाएको लुगा कमिज होइन, नेपाली दौरा हो र यो नेपालको राष्ट्रिय पोसाक हो भनी सौभाग्यवस बुझेछन् र खाना दिनु भनेका रहेछन्,’ स्वारले लेखेका छन्, ‘हाम्रो खाना आउन ढिला हुनुको कारण यही पो रहेछ।’
सम्मेलन समाप्तिपछि सबै मुलुकका प्रतिनिधि अस्ट्रेलियाको राजधानी क्यानबेराका लागि रवाना भए। दिउँसोको खानाका लागि उनीहरु एउटा रेस्टुरेन्टमा रोकिए।
नोभेम्बर महिना भए पनि अस्ट्रेलियामा उखरमाउलो गर्मी थियो। तिर्खाले आकुलब्याकुल भएका उनीहरुले रेस्टुरेन्ट छिर्नासाथ पानी मागे।
खाना माग्दाको बेलाजस्तै ढिलाइ भयो, पानी आइपुग्न पनि। पानी दिन किन ढिलाइ गरियो भन्ने कुरा उनीहरुले तत्काल बुझ्न सकेनन्। राजधानी क्यानबेरा पुगेपछि मात्र जानकारी पाए।
क्यानबेरा पुगेका उनीहरुको हातमा साँझपख एउटा स्थानीय अखबार पर्यो, जसमा लेखिएको थियो, ‘नेपालीहरुले त पानी पो पिउँदा रहेछन्!’
खासमा अस्ट्रेलियामा पानीभन्दा बियर सस्तो थियो। त्यस्तो उखरमाउलो गर्मीमा चिसो र सस्तो बियरको साटो पानी मागेका थिए। अनि किन अस्ट्रेलियालीहरुले आश्चर्य नमानुन्!
नेपालीले बियरको साटो पानी माग्दा जसरी अस्ट्रेलियालीहरु आश्चर्यचकित भए, पानी मागेको विषय समेत समाचार बनेको देख्दा नेपालीहरुलाई पनि ताज्जुब लाग्यो।
जस्तो कि स्वार लेख्छन्, ‘अस्ट्रेलियालीहरु पानी पिउँदा रहेनछन्, बियर, खनिज पानी आदि पिउँदा रहेछन्। बियर आदि पेय वस्तु त्यहाँ निकै सस्तो रहेछ भन्ने हामीले पछि मात्र थाहा पायौँ। तर, त्यहाँ ससाना घटनाहरु पनि समाचारको रुपमा निस्केको देख्दा हामीलाई पनि आश्चर्य लाग्यो।’
यस्तै–यस्तै रोचक संस्मरण बोकेर जनरल राणा, पाण्डे र स्वारसहितको टोलीले केही दिनपछि अस्ट्रेलिया छाड्यो। उनीहरुले अस्ट्रेलिया देश छाडेपनि महादेश भने तत्काल छाडेनन्।
त्यहाँबाट उनीहरु न्युजिल्यान्ड पुगे, जुन अस्ट्रेलिया महादेश अन्तर्गतकै एउटा सानो टापु मुलुक हो।
अर्काे रेकर्डधारी भ्रमण
विसं २०४९ मा संस्कृतिविद् सत्यमोहन जोशीको संस्मरणात्मक पुस्तक ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ प्रकाशित भयो। त्यो पुस्तकमा जोशीले आफू न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली भएको दाबी गरेका थिए।
गिरीश गिरीद्वारा लिखित ‘सत्यमोहन’ पुस्तक (२०७८ चैत) मा भने जोशीले आफू न्युजिल्यान्ड पुग्नुअघि कुनै नेपालीले पाइला राखेको आफूलाई जानकारी नभएको भन्दै आफ्नो दाबी सच्याएका छन्।
‘मैले बुझेसम्म ‘ल्यान्ड’ भनिएका मुलुकहरु सबै युरोपतिर पर्थे, त्यसबाहेक मानिस र घरहरु पनि युरोपकै जस्ता देखिने भएकाले हामी त यो न्युजिल्यान्ड पनि युरोपकै होला भन्ठान्दै थियौँ,’ स्व. जोशीले भनेका छन्, ‘(तर) कहाँ हुनु? होइन रहेछ।’
जोशी आफैँले पछिल्लो आत्मकथामा आफ्नो दाबी सच्याएजस्तै, न्युजिल्यान्डमा परेको पहिलो नेपाली पाइला जोशीको थिएन। ‘इक्याफे’ सम्मेलनमा अस्ट्रेलिया पुग्ने राणा, पाण्डे र स्वार सहितको सोही टोली नै न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली टोली थियो।
राणाकालमा काठमाडौँबाट जान वा बाहिरबाट काठमाडौँ आउन प्रशासनको स्वीकृति आवश्यक पथ्र्याे। भारत र चीनको तिब्बत बाहेकका मुलुक जानुपर्यो भने त झन् राणा शासकहरुकै स्वीकृति चाहिन्थ्यो। उनीहरुको आदेशबिना राहदानी जारी हुन्नथ्यो। राहदानीमा जुन मुलुक जाने हो, त्यो मुलुकको मात्रै नाम उल्लेख गरिएको हुन्थ्यो।
अस्ट्रेलिया जाने यो प्रतिनिधिमण्डका लागि जारी गरिएको राहदानीमा हिन्दुस्तान (भारत), बर्मा, सियाम (इन्डोनेसिया), सिङ्गापुर, नेदरल्यान्ड्स, इस्ट इन्डिज, न्युजिल्यान्ड र अस्ट्रेलिया उल्लेख थियो। राहदानीमा जनरल विजय शमशेरले हस्ताक्षर गरेका थिए, जो त्यो बेला परराष्ट्र विभागका डाइरेक्टर जनरल (परराष्ट्रमन्त्री सरह) थिए।
स्वारको राहदानीमा लागेको न्युजिल्यान्डको भिसामा १२ जनवरी १९४८ (२८ पुस २००४) मिति उल्लेख छ। यही मितिमा न्युजिल्यान्ड पुगेलगत्तै त्यो भिसा लाग्यो होला।
संस्कृतिविद् स्व.जोशी भने विसं २०१० जेठमा न्युजिल्यान्ड पुगेका थिए। तत्कालीन जनसंख्या विभागमा कार्यरत जोशीलाई युनाइटेड नेसन्स टेक्निकल एसिस्टेन्स एडमिनिस्ट्रेसन (यूएनटीए) को छात्रवृत्ति प्राप्त थियो।
जोशीभन्दा ६ वर्षअघि नै अस्ट्रेलिया हुँदै न्युजिल्यान्ड पुगेका राणा, पाण्डे र स्वारलाई पनि न्युजिल्यान्ड सरकारले आफ्नो मुलुक भ्रमणका लागि निम्त्याएको थियो। उनीहरु सरकारी पाहुनाका रुपमा त्यहाँ पुगेका थिए। त्यहाँ उनीहरुले एक हप्ता उत्तरी टापुको भ्रमणमा बिताए। र, बैंकक–कलकत्ता हुँदै काठमाडौँ फर्किए।
न्युजिल्यान्ड भ्रमणबारे स्वारले सो संस्मरणमा खासै उल्लेख गरेका छैनन्। तर, न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली भ्रमण दल यही थियो भन्ने कुराको प्रमाण स्वारको परिवारले संग्रहालयमा हस्तान्तरण गरेको राहदानीले प्रष्ट पार्छ।
‘अस्ट्रेलिया र न्युजिल्यान्ड जाने पहिलो नेपालीहरु राणा, पाण्डे र स्वार थिए भन्ने कुराको पुष्टि यो राहदानीले गर्छ,’ डा. भट्टराई भन्छन्, ‘त्यसैले, परिवारले बुझाएको स्व. स्वारको राहदानी ऐतिहासिक महत्वको छ।’
(तस्बिर सौजन्य : ईश्वरी स्वार)
प्रतिक्रिया