ad ad

म्यागेजिन


विश्वका कुनै पनि जातिको ‘रक्त शुद्ध’ छैन : प्रा. जर्ज भान ड्रिम (भिडिओ)

‘हिन्दीभन्दा नेपाली भाषा मीठो छ’
विश्वका कुनै पनि जातिको ‘रक्त शुद्ध’ छैन : प्रा. जर्ज भान ड्रिम (भिडिओ)

बर्न युनिभर्सिटी जर्मनीका इतिहास र भाषाविज्ञानका प्राध्यापक जर्ज भान ड्रिम (भिडिओ तथा तस्बिरः विशाल कार्की र सरोज नेपाल)


जेवी पुन मगर
माघ १५, २०८० सोमबार २०:३४, काठमाडौँ

इतिहासको गौरवगान अहिले फेसनमा छ। भारतीय उपमहाद्वीपमा मात्र नभई विश्वभर नै अहिले इतिहास पुनर्लेखन र पुनर्व्याख्याको उन्मादी लहर चलेको देखिन्छ। तँभन्दा म श्रेष्ठ र तेरो विगतभन्दा मेरो विगत सर्वश्रेष्ठ भन्दै गौरवगानका कथा पटकथा तयार पार्ने होडबाजी छ।

सत्ता र शक्ति (राज्य र तिनका बौद्धिक संयन्त्र) को गठजोडको बलमा बर्चस्वशाली समुदायको उत्पत्ति र तिनका संस्कृति उत्कृष्ट रहेको प्रमाणित गर्न मनगढन्ते इतिहास तयार पारिँदैछ। इतिहासमाथि राजनीतिक रङरोगन गर्ने प्रवृत्ति हाबी हुँदै गइरहेकोले तथ्य र प्रमाणका आधारमा इतिहासका कथा कहनेहरुका कलम र मुख दुवै बन्द गर्न थालिएका छन्।

इतिहासको मनोमानी व्याख्या गर्ने यस्तो राजनीतिक स्वार्थका पछाडि राज्य र प्रायोजित प्राज्ञका जातीय स्वार्थ, कुण्ठा र ईर्ष्याले महत्वपूर्ण भूमिका खेलेको ठानिन्छ। धेरै पछाडि फर्कनु पर्दैन। हिटलरको झुटा संकथनको बलमा खडा गरिएको ‘आर्य सर्वोच्चता’ ले यहुदीहरुमाथि मच्चाएको जातिसंहारले इतिहासको एउटा कालखण्ड नै रक्तरन्जित बनाएको धेरै भएको छैन।

तर दुर्भाग्य के भइदियो भने हिटलरको ग्यास च्याम्बरमा आततायी मृत्यु भोगेको यहुदीहरुको सत्ताले अहिले त्यही दुर्दान्त कर्म प्यालेस्टिनी जनतामाथि गरिरहेको छ। त्यो कृत्यलाई उचित ठहर्‍याउन झुटो इतिहासको सहारा लिइएको छ।

यो भयो टाढाको कुरा। छिमेकी देश भारतमै हेरौँ। त्यहाँ इतिहास पुनर्लेखनको नाममा एउटा सभ्यताको भ्रामक सर्वोच्चता स्थापित गर्ने चर्को अभ्यास चलेको १० वर्ष भैसकेको छ। यो भाष्यमा ‘आर्य सभ्यता र हिन्दु धर्म नै भारतीय उपमहाद्वीपको सबैभन्दा प्राचीन सभ्यता हो’ भन्दै दाबी गरिँदै आएको थियो। तर हालसालै भारतीय उपमहाद्वीपमा आर्य सभ्यताभन्दा द्रविड सभ्यता प्राचीन रहेको प्रमाणिक तथ्य प्राप्त भएपछि झुटा संकथन संकटमा पर्न गएको छ।

आनुवांशिक (जिन) अध्ययनबाट यो तथ्य उद्घाटित भएको थियो। यो अनुसन्धानमा संलग्न बर्न युनिभर्सिटी जर्मनीका इतिहास र भाषाविज्ञानका प्राध्यापक जर्ज भान ड्रिम पनि थिए। उनको अनुसन्धानमूलक पुस्तक ‘एथ्नोलिङ्ग्विस्टिक प्रि–हिस्टोरी’ र ‘ल्याङ्ग्वेजेज् अफ द हिमालयज्’ (दुई अध्याय) मा अहिलेको भारतमा आर्य आउनु अगावै द्रविडहरुको उन्नत सभ्यता अस्तित्वमा रहेको उल्लेख छ।

त्यसबेलाको द्रविड सभ्यता अत्यन्त समृद्ध र समानतामा आधारित बताउँदै प्रा. भानले द्रविड सभ्यतामा नगर विकास भइसकेको र त्यहाँ वर्गीय समानता रहेको लेखेका छन्। त्यहाँ न वर्ग भेद थियो न जातीय उँचनिच।

यो अध्ययनबाट भारतमा जातप्रथा आर्यहरुको आगमन र द्रविडहरुमाथि विजयपछि मात्र सुरु भएको पुष्टि हुने उनले उल्लेख गरेका छन्।

भाषिक अध्ययनले मात्र नभई आनुवांशिक अध्ययनबाट यो तथ्य प्रमाणित भएपछि यस्तो इतिहास खोतल्ने वैज्ञानिकहरुलाई भारतमा हतोत्साहित बनाउने काम भएको छ। यो तथ्य उत्खनन् गर्ने प्रा. भानले नेपालमा पनि बहुसांस्कृतिक समाज बुझाउने गम्भीर अध्ययन गरेका छन्। यो काम उनले २०३९ सालयता तिरन्तर गरिरहेका छन्।

ज्ञान आर्जनमा असाध्यै गरिब हाम्रो समाजमा पनि इतिहासको व्याख्या तथ्यमा भन्दा भावनामा आधारित रही गरिने चलन छ। त्यस्तो समाजमा प्रा. भानजस्ता तथ्यमा आधारित इतिहास पढाउने गम्भीर अध्येताको प्रयत्न स्तुत्य छ।

इतिहासलाई राजनीतिक रङरोगन गर्ने प्रचलन चलिरहेको यो युगमा मैले एक दर्जन भाषामा पोख्त भानसँग कयौँ जिज्ञासा राखेको थिएँ। यो लामो वार्ताले नेपाली समाज र मानव सभ्यताबारे तथ्यपूर्ण इतिहास बुझ्न सघाउ पुग्ने नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .