ad ad

म्यागेजिन


गोदावरी उद्यानमा मेटिएको युगोस्लाभियाको मानचित्र

मार्सल टिटोले जब राजा वीरेन्द्रका सामुन्ने भने– हिमशिखरजस्तै नेपाल सदैव शिर ठाडो पारिरहनेछ
गोदावरी उद्यानमा मेटिएको युगोस्लाभियाको मानचित्र

राजा वीरेन्द्र र युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटो। साथमा टिटो दम्पतीले गोदावरीमा रोपेको बिरुवा


सीताराम बराल
माघ २१, २०८० आइतबार १७:३०, काठमाडौँ

उद्यानको सुन्दरता वा महत्व बढाउन रोपिएका फूलका बिरुवाले कुनै दुई राष्ट्रको प्रेम, मित्रता, सम्बन्ध र दीर्घ अस्तित्वको कामनाको कथा सायदै भन्लान्। 

तर, गोदावरी (ललितपुर) स्थित वनस्पति उद्यानभित्र रोपिएका लालीगुराँसका दुई रुखले असंलग्न आन्दोलनका दुई प्रमुख हस्ती राष्ट्रहरूबीचको अगाध प्रेम, गहिरो मित्रता, युगौँयुग लामो सम्बन्धको कामनाको कथा अहिले पनि सुनाउँछन्।  

मूलढोकाबाट टिकट काटेर उद्यानभित्र प्रवेश गरेपछि दाहिनेतर्फ देखिन्छ एउटा अग्लो भाग। त्यो भागमा फलामे बार लगाएर विशेष रुपमा संरक्षण गरिएको अर्काे छुट्टै उद्यान देखिन्छ।  

‘उद्यानभित्रको विशेष उद्यान’ भन्न मिल्ने यसको ढोकामा सुनौला अक्षरले ‘भीभीआईपी प्लान्टेसन एरिया’ लेखिएको छ। 

नेपाल भ्रमणमा आएका अति विशिष्ट व्यक्ति (भीभीआईपी) हरूले भ्रमणको स्मरणस्वरुप वृक्षारोपण गरुन् भनेर ५० वर्षअघि यो विशेष उद्यान बनाइएको हो। यसभित्र ५० वर्षयता नेपाल भ्रमणमा आएका १५ विदेशी राष्ट्राध्यक्षहरूले रोपेका बिरुवा (रुख) संरक्षित छन्। 

राष्ट्राध्यक्ष छँदा नेपालका पूर्व राष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा. रामवरण यादवले पनि यहाँ वृक्षारोपण गरेका छन्। 

‘भीभीआईपी प्लान्टेसन एरिया’ भित्र प्रवेश गरेपछि दाहिनेतर्फ, तर अलिक पर भित्तोमा तपाईंहरूले मझौला आकारका लालीगुराँसका दुई रुखहरू भेट्नुहुनेछ। 

यसभित्र वृक्षारोपण गरिएका झण्डै तीन दर्जन रुखमध्ये सबैभन्दा पुराना यिनै दुई लाली गुराँसका रुख हुन्। 

यी लालीगुराँसका रुखको सुरक्षाका लागि गोलो आकारका फलामे बार लगाइएको छ। दुवै बारमा हरियो रङका साइनबोर्ड झुण्ड्याइएका छन्। साइनबोर्डमा यी बिरुवा कसले र कहिले रोपेका थिए भन्ने विवरण छ। 

दुईमध्ये बायाँतर्फको लालीगुराँसको रुख अलिक होचो छ। झुरुप्प परेका हरिया पात र हाँगाबिँगाका कारण यो रुख निकै सुन्दर र आकर्षक देखिन्छ। 

दायाँतर्फको लालीगुराँसको रुख अलिक अग्लो छ। यो पहिलो रुसजस्तो मनमोहक नलाग्न सक्छ। यदि मान्छे हुँदो हो त दोस्रो रुखलाई ‘कस्तो उदास मानिस रहेछ’ भन्न पनि सकिन्छ। 

गोदावरी उद्यानस्थित भीभीआईपी प्लान्टेसन एरिया 

बायाँतर्फको रुखमा टाँगिएको साइनबोर्ड हेर्दा थाहा हुन्छ, यो लालीगुराँस ‘म्याडम ब्रोज टिटो’ले रोपेकी हुन्।    

दायाँतर्फको बोर्डमा लेखिएको छ,  ‘रोडेडेन्ड्रन अर्बाेरियम (लालीगुराँस) प्लान्टेड बाई हिज एक्सलेन्सी मार्सल जोसेफ ब्रोज टिटो, प्रेसिडेन्ट अफ सोसलिस्ट फेडरल रिपब्लिक अफ युगोस्लाभिया अन द फोर्थ अफ फेब्रुअरी १९७४।’ 

अर्थात् यो बिरुवा २२ माघ २०३० मा ‘समाजवादी संघीय गणतन्त्र युगोस्लाभियाका राष्ट्रपति महामहिम मार्सल जोसेफ ब्रोज टिटोले रोपेका हुन्, जसले राजा वीरेन्द्रको निमन्त्रणामा २०–२३ माघ २०३० मा पत्नी योभान्का ब्रोज टिटो (प्रथम महिला) का साथ नेपालको राजकीय भ्रमण गरेका थिए।  

फुल्चोकीको शिखरदेखि गोदावरीको फेदीसम्म हजारौँ वर्षयता लाखौँ लालीगुराँसका फूलहरू फुल्दै आएका छन्, जसले प्रत्येक हिउँदमा यो क्षेत्रलाई राताम्मे र मनमोहक बनाउँछन्। 

त्यसैले, भन्न सकिन्छ– गोदावरी उद्यानभित्र फूलको अभाव भएकाले युगोस्लाभियाली राष्ट्रपति र प्रथम महिला मार्फत् राजा वीरेन्द्रले लालीगुराँसका यी दुई बिरुवा रोप्न लगाएका थिएनन्। 

रोपिएको केही वर्षपछि नै यी दुई लालीगुराँसको हाँगाका टुप्पामा फूल फुल्न थाले। तर, अन्यमा जस्तो यी रुखमा फुल्ने लालीगुराँस बेअर्थी फूल थिएनन्, होइनन्।    

खासमा यी दुई रुखमा फुल्ने लालीगुराँसका राता फूल नेपाल– युगोस्लाभियाबीचको प्रेम र मित्रताको प्रतीक हुन्। अनि लालीगुराँस रोपिएको ठाउँ चाहिँ दुई मुलुकबीचको हार्दिक र सुमधुर सम्बन्धको निसानी। 

यस्तो निसानी, जो युगोस्लाभियाको अस्तित्व र नेपाल–युगोस्लाभिया सम्बन्ध वर्षाैं–वर्षसम्म कायम रहोस् भन्ने शुभेच्छाका साथ राजा वीरेन्द्रले छनोट गरेका थिए।   

आहा, कस्तो सुखद!

राष्ट्रपति टिटो र प्रथम महिला योभान्काले रोपेका लालीगुराँसका रुखहरू यत्तिका वर्षसम्म जीवित छन्, प्रत्येक हिउँदमा तिनले राता गुच्छाका साथ यिनले नेपाल–युगोस्लाभियाबीचको सुखद सम्बन्धको सम्झना गराउँछन्।

नेपाल र युगोस्लाभियाबीचको सम्बन्ध युगौँयुगसम्म सुमधुर रहोस् भन्ने कामनाका साथ रोपिएका यी दुई बिरुवा अझै हुर्किंदै र अग्लिँदै गएका छन्। तर, बिरुवाहरू हुर्कंदै गर्दा युगोस्लाभियाको भने अवसान भइसकेको छ। विश्वको मानचित्रबाट युगोस्लाभिया लुप्त भइसकेको छ। 

कुनैबेला युरोपको वैभवशाली राष्ट्र युगोस्लाभिया अहिले सर्बिया, क्रोएसिया, स्लोभेनिया, बोस्निया–हर्जगोभिना, मोन्टेनिग्रो, म्यासेडोनिया र कोसोभो गरी ७ राष्ट्रमा विभाजित छ।

असंलग्न आन्दोलनका शीर्ष नायक 
सन् १९६०–८० को दशकसम्म बाल्कन क्षेत्रको शक्ति राष्ट्र युगोस्लाभियासँग नेपालको सम्बन्ध र राष्ट्रपति टिटोको नेपाल भ्रमण विश्वको तत्कालीन भूराजनीतिक परिस्थितिको उपज थियो। असंलग्न आन्दोलनले मूर्तरुप लिने कोसिस गर्दैगर्दा २१ असोज २०१६ मा नेपाल–युगोस्लाभियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।  

राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइराला दुवै अमेरिकी नेतृत्वको पूँजीवादी धुरी र सोभियत संघ नेतृत्वको साम्यवादी धुरीबाट नेपाललाई निरपेक्ष राख्न चाहन्थे। राजा र प्रधानमन्त्री दुवै गुट–निरपेक्षताका पक्षधर थिए। संयोगवश महेन्द्र र बीपीबीच सुमधुर सम्बन्ध रहेका बेला असंलग्न आन्दोलनको नेतृत्वकर्ता युगोस्लाभियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुन पुग्यो।  

त्यो बेला अमेरिका र सोभियत संघ विश्वका राष्ट्रहरूलाई आ–आफ्नो धुरीमा तान्ने प्रयास गरिरहेका थिए। अमेरिका–सोभियत संघबीच विश्वका अन्य राष्ट्रहरूलाई आ–आफ्नो कित्तामा तान्ने प्रयास चलिरहेका बेला इजिप्टका राष्ट्रपति जमाल अब्दुल नासिर, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र युगोस्लाभियाका राष्ट्रपति मार्सल जोसेफ ब्रोज टिटोले विश्व राजनीतिमा तेस्रो धार (ध्रुव) निर्माणको प्रयास थाले। 

नासिर, नेहरु र टिटोको प्रयासले सफलता पनि प्राप्त गर्यो। युद्ध र उपनिवेशवादको विरोध, पञ्चशीलको सिद्धान्तसहित शान्तिको वकालत र सम्पूर्ण राष्ट्रहरूको स्वतन्त्रता पक्षधरताका साथ निर्माण भएको यो ‘तेस्रो धार’ असंलग्न आन्दोलन (ननअलाइन मुभमेन्ट–‘नाम’) का रुपमा लोकप्रिय र चर्चित भयो। 

‘नाम’ स्थापनाको प्रमुख श्रेय नासिर, नेहरु र मार्सल टिटोलाई दिने गरिन्छ। तर तीनमध्ये ‘नाम’ स्थापनाको प्रमुख अग्रसरकर्ता भने युगोस्लाभियाली राष्ट्रपति टिटो थिए। 

इजिप्टका राष्ट्रपति नासिर, भारतका प्रधानमन्त्री नेहरु र युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटो

१९ जुलाई १९५६ (४ माघ २०१२) मा भएको यी तीन नेताको भेटवार्ताले असंलग्न आन्दोलनको सूत्रपात गरेको थियो। यो भेटवार्ताका आयोजक राष्ट्रपति टिटो थिए, जसले विश्व इतिहासमा महत्व राख्ने भेटवार्ता युगोस्लाभिया (हाल क्रोएसिया) को आफ्नो निजी टापु ब्रियोनीमा आयोजना गरे।  

मार्सल टिटोको निजी टापु ब्रियोनीमा असंलग्न आन्दोलनको सूत्रपात त भयो नै। पाँच वर्षपछि असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलन पनि युगोस्लाभियामै भयो, राजधानी बेलग्रेडमा। 

त्यो शिखर सम्मेलनले असंलग्न आन्दोलनको पहिलो अध्यक्ष राष्ट्रपति टिटोलाई चयन गरेको थियो।  

राष्ट्रपति टिटो नेतृत्वको युगोस्लाभिया त्यो बेला विश्वको सर्वाधिक वैभवशाली राष्ट्र मानिन्थ्यो। उनले त्यहाँ स्थापना गरेको समाजवादलाई साँचो अर्थको समाजवाद मानिन्थ्यो। युगोस्लाभिया आर्थिक रुपले समृद्धसमेत थियो, प्रविधि–निर्माणमा पनि यो राष्ट्र अग्रणी मानिन्थ्यो।  

यही कारण गुट निरपेक्ष अर्थात् असंलग्न आन्दोलनको पक्षमा रहेका विश्वका एकसेएक अग्ला नेताहरूलाई बेलग्रेडमा निम्त्याएर त्यो भव्य र ऐतिहासिक सम्मेलन युगोस्लाभियाले आयोजना गर्न सकेको थियो।  र, युगोस्लाभियाको समृद्ध समाजवाद र वैभवको कारक थिए– राष्ट्रपति मार्सल जोसेफ ब्रोज टिटो। 

असंलग्न आन्दोलनले संगठित रुप लिँदै गर्दा अमेरिकामा जोन एफ केनेडी र सोभियत संघमा लियोनिड ब्रेजनेभ राष्ट्रपति थिए। ‘शक्ति राष्ट्र’ का कारण केनेडी र ब्रेजनेभलाई विश्वका शक्तिशाली नेता मानिए पनि युगोस्लाभियाको रवाफ र मार्सल टिटोको प्रभाव पनि कम्ती थिएन। 

आर्थिक समृद्धि र वैभव त थियो नै, यसबाहेक युगोस्लाभियाको रवाफ र मार्सल टिटोको प्रभावको कारण थियो– एडोल्फ हिटलर नेतृत्वको जर्मनी र बेनिटो मुसोलिनी नेतृत्वको इटलीलाई टिटो नेतृत्वको युगोस्लाभियाले दोस्रो विश्वयुद्धमा एक्लै चखाएको पराजय। 

बाल्टिक क्षेत्रको भूराजनीतिक महत्व मध्यनजर गर्दै जर्मनी र इटलीले ६ अप्रिल १९४१ मा युगोस्लाभियामाथि आक्रमण गरेका थिए। तर, युगोस्लाभियाका सम्राट पिटर द्वितीयले जर्मन र इटलीले आक्रमण गर्द कुनै प्रतिरोध गरेनन्। युगोस्लाभियाली सेनाले बिनाप्रतिरोध आत्मसमर्पण गर्‍यो। युगोस्लाभिया नाजीवाद–फासीवादको पोल्टामा पर्‍यो।  

पहिलो विश्वयुद्धका बेला टिटो क्रोएसियाली सेनामा थिए। युद्धमा उनी जारकालीन रुसी सेनाको कब्जामा परे। उनी रुसमा बन्दी अवस्थामा रहेका बेला भ्लादिमिर लेनिनको नेतृत्वमा रुसमा अक्टोबर क्रान्ति सुरु भयो। जार शासनले बन्दी बनाइको टिटोलाई क्रान्तिकारीहरूले मुक्त गरिदिए। मुक्त भएपछि उनलेपनि अक्टोबर क्रान्तिमा भाग लिए। 

टिटो सन् १९२० मा युगोस्लाभिया फर्केर त्यहाँको कम्युनिस्ट पार्टीमा आबद्ध भए। पार्टीको पदीय सोपान चढ्दै गर्दा सन् १९३५ मा उनले कम्युनिस्टहरूको साझा विश्व संगठन कम्युनिस्ट इन्फरमेसन ब्युरो (कोमिन्टर्न) को बाल्कन शाखा हेर्ने जिम्मेवारी पाए। सन् १९३८ मा उनी युगोस्लाभियाको कम्युनिस्ट पार्टीको प्रमुख बने। 

जब युगोस्लाभियामाथि हिटलर–मुसोलिनीले कब्जा जमाए, त्यही विन्दुबाट युगोस्लाभियामा नाजीवाद–फासिवाद विरुद्ध मुक्तिसंग्राम सुरु भयो। यो मुक्तिसंग्रामको आव्हानकर्ता टिटो नै थिए। मुक्तिसंग्रामको नेतृत्व पनि उनैले गरे।  

टिटोले युगोस्लाभियामा लाखौँको फौज निर्माण गरेर नाजीवादी–फासीवादी सेनाविरुद्ध एक्लै लडिरहेका बेला अमेरिका, सोभियत संघ, बेलायत लगायत राष्ट्र सम्मिलित ‘मित्र राष्ट्र’ (अलाइड फोर्स) को फौजलाई भने  हिटलर–मुसोलिनीको प्रतिरोध गर्न मुस्किल परिरहेको थियो।  

अमेरिका–सोभियत संघ–बेलायत नेतृत्वको ‘अलाइड फोर्स’ ले हिटलर–मुसोलिनी नेतृत्वको धुरी राष्ट्र (एक्सिस फोर्स) गठबन्धनलाई सन् १९४५ मा मात्र पराजित गरेका हुन्। तर, १९४१–४३ को  दुई वर्षे संघर्षबाटै टिटोले हिटलर–मुसोलिनीको संयुक्त फौजलाई युगोस्लाभियाली भूमिमा नराम्रो पराजय चखाए।  

यो विजयसँगै युगोस्लाभिया नाजीवाद–फासीवादबाट मुक्त मात्र भएन, राजतन्त्रबाट समेत मुक्त भयो। युगोस्लाभ जनताले मुलुकको नेतृत्व उनैलाई सुम्पे। सन् १९४३ देखि मृत्युपर्यन्त ४ मे १९८० (२२ वैशाख २०३७)  सम्म युगोस्लाभियाको राष्ट्रपति उनै थिए।  

दोस्रो विश्वयुद्धका बेला हिटलर र मुसोलिनीको प्रतिरोधका क्रममा मार्सल टिटो (सबैभन्दा दायाँ)

३७ वर्षे शासनकालमा युगोस्लाभियालाई उनले सम्पन्न राष्ट्रमा परिणत गरे। जस्तो कि, सन् १९६०–८० मा युगोस्लाभिया बाल्कन क्षेत्रको ‘शक्तिराष्ट्र’ को रुपमा चिनिन्थ्यो। विश्वभरका नेताहरू उनीसँग नतमस्तक हुन्थे। 

सोभियत संघबाट दीक्षित कम्युनिस्ट नेता भए पनि उनी सोभियत संघ र त्यहाँका नेता स्टालिनका अन्धभक्त भने थिएनन्। स्टालिनका नाजायज हस्तक्षेप र गलत कदमको उनले विरोध गर्न हिचकिचाएनन्। भनिन्छ, राष्ट्रपति टिटोसँग मतभेद बढ्दै जाँदा स्टालिनले उनको हत्या प्रयाससमेत गरेका थिए। 

गलत निर्देशनहरूको विरोध गर्दा स्टालिनले आफूलाई तारो बनाएपछि टिटोले युगोस्लाभियाली कम्युनिस्ट पार्टीलाई सोभियत संघ नेतृत्वको ‘कोमिन्टर्न’ बाट अलग गरे। र, युगोस्लाभियाली कम्युनिस्ट पार्टीको नेतृत्वमा इन्फर्मेसन ब्युरो अफ द कम्युनिस्ट एन्ड वर्कर्स पार्टीज् (कोमिनफर्म) नामक छुट्टै विश्व–कम्युनिस्ट संगठन निर्माण गरे। 

स्वाभाविक थियो, टिटोको स्टालिनसँग मतभेद सिर्जना भएपछि अमेरिकाले लाभ लिन खोज्यो। टिटोलाई आफू नेतृत्वको ध्रुवमा समावेश गर्ने अमेरिकी प्रयास सुरु भयो। 

तर, स्टालिनसँग मतभेद भए पनि टिटो अमेरिकी ध्रुवमा जान चाहेनन्। उनले दुवै महाशक्तिसँग समदुरीको सम्बन्ध राखे। बरु, युगोस्लाभियाजस्तै भूराजनीतिक खिचातानीले अप्ठेरोमा परेका गुट–निरपेक्ष राष्ट्रहरूलाई संगठित गर्ने प्रयास थाले। 

इजिप्टका राष्ट्रपति जमाल अब्दुल नासिर र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको साथ उनलाई यसैक्रममा मिलेको थियो। 

अब फर्काैं नेपालतिर, जो अमेरिका र सोभियत संघबाट हजारौँ किमि दुर भए पनि यी दुईबीचको भूराजनीतिक खिचलोबाट मुक्त थिएन। दुवै महाशक्ति आफ्नो प्रभाव यहाँ बढाउन प्रयासरत थिए। 

राजा महेन्द्र पनि महाशक्ति राष्ट्रहरूको प्रतिस्पर्धा र प्रभावबाट नेपाललाई मुक्त राख्न चाहन्थे। प्रतिफल, राजा महेन्द्रले नेपाललाई असंलग्न आन्दोलनमा संलग्न गराए। बेलग्रेडमा सम्पन्न असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलन (१६– २१ भदौ २०१८) मा नेपाल सहभागी भयो।  

बेलग्रेडमा असंलग्न राष्ट्रहरूको प्रथम शिखर सम्मेलन

राष्ट्रपति टिटोको राजा वीरेन्द्र (तत्कालीन युवराज) सँग पहिलो भेटघाट बेलग्रेडमा सम्पन्न असंलग्न राष्ट्रहरूको त्यही पहिलो शिखर सम्मेलनमा भएको थियो। 

आफ्नो जीवनकालमा भएका असंलग्न राष्ट्रहरूको तीनवटा शिखर सम्मेलन (बेलग्रेड ः १६–२१ भदौ २०१८, कायरो (इजिप्ट) ः २०–२४ असोज २०२१ र लुसाका (जाम्बिया) : २३–२५ भदौ २०२७) मा राजा महेन्द्र सहभागी थिए। त्यसमध्ये बेलग्रेडमा सम्पन्न पहिलो शिखर सम्मेलनमा उनले १६ वर्षे किशोर–युवराज वीरेन्द्रलाई पनि सँगै लगेका थिए।  

असंलग्न राष्ट्रहरूको सबै शिखर सम्मेलनमा राजा महेन्द्रको राष्ट्रपति मार्सल टिटोसँग भेटघाट र वार्ता भयो। प्रत्येक भेटमा राजा महेन्द्र राष्ट्रपति टिटोलाई नेपाल भ्रमणमा आउन निम्तो दिइरहन्थे। तर, असंलग्न आन्दोलनका शिखर नेता टिटो यति धेरै व्यस्त थिए कि, राजा महेन्द्र जीवित छँदासम्म नेपाल भ्रमणमा आउन सकेनन्।  

तर, राजा वीरेन्द्रले दिएको पहिलो निम्तोमै उनी नेपाल आइपुगे। त्यो निम्तो २०–२५ भदौ २०३० मा अल्जेरियाको राजधानी अल्जियर्समा सम्पन्न असंलग्न राष्ट्रहरूको चौथो शिखर सम्मेलनमा राजा वीरेन्द्रले दिएका थिए। 

अल्जियर्स शिखर सम्मेलनमा राजा वीरेन्द्रका साथ उनका निजी सचिव चिरन शमशेर थापा पनि थिए। 

‘असंलग्न राष्ट्रहरूको प्रत्येक शिखर सम्मेलनका क्रममा राजा महेन्द्रले राष्ट्रपति टिटोलाई नेपाल भ्रमणको निम्तो दिइबक्सेको थियो,’ राजप्रासाद सेवाका पूर्व संवाद सचिव थापाले भने, ‘राजा वीरेन्द्रले पनि अल्जियर्स शिखर सम्मेलनमा भेटका क्रममा उहाँलाई नेपाल भ्रमणको निम्तो दिइबक्स्यो।’ 

‘अल्जियर्स शिखर सम्मेलनका क्रममा राजा वीरेन्द्रबाट पाएको निम्तोको ५ महिनापछि नै राष्ट्रपति टिटो नेपाल भ्रमणमा आउनुभयो,’ थापाले भने, ‘राजा महेन्द्रलाई नजुरेको राष्ट्रपति टिटोलाई काठमाडौँमा स्वागत गर्ने अवसर श्री ५ वीरेन्द्रलाई जुर्‍यो।’ 

राष्ट्रपति टिटो पत्नी योभान्का ब्रोज टिटोका साथ २० माघ २०३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले। मार्सल टिटोलाई नेपाल भ्रमण गराउने दरबारको अपेक्षा १२ वर्षपछि पूरा भयो। उनी २३ माघसम्म काठमाडौँमा रहे।  

दक्षिण एसियाका भारत, बंगलादेश र नेपाल गरी तीन मुलुकको दुई हप्ते भ्रमणमा आउनुअघि राष्ट्रपति टिटोले असंलग्न आन्दोलनको प्रमुख नेताका रुपमा विश्वका ६० मुलुकमा १ सय ३० पटक भ्रमण गरिसकेका थिए। 

राष्ट्रपति टिटोको ४३ सदस्यीय भ्रमण दलमा युगोस्लाभियाका एकसेएक महत्वपूर्ण नेताहरू थिए। तिनमा सर्बिया व्यवस्थापिका सभाका अध्यक्ष ड्रोगोस्लाम मार्काेभिच, समाजवादी गणतन्त्र क्रोएसियाका कम्युनिस्ट लिगका कार्यकारी समितिका सचिव एवं क्रोएसिया लिगका कार्यकारी समितिका सचिव जोजेब होबेच र संघीय कार्यकारी परिषदका सदस्य एमिल लुदभिगर उल्लेख्य थिए।

राष्ट्रपति टिटोको यो भ्रमणअघि नेपाल–युगोश्लाभियाबीच दुई–दुई पटक सरकार प्रमुख स्तरमा समेत भइसकेको थियो। मन्त्री परिषदका अध्यक्ष डा. तुलसी गिरिले असंलग्न आन्दोलनका बेलग्रेड शिखर सम्मेलन लगत्तै र बिसं २०३० मंसिरमा प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले युगोश्लाभियाको भ्रमण गरेका थिए। युगोश्लाभियाका दुईजना सरकार प्रमुखहरुले पनि नेपालको भ्रमण गरे। त्यसमध्ये प्रधानमन्त्री प्रधानमन्त्री पेटर स्टाम्बोलिक सन् १९६६ मा र अर्का प्रधानमन्त्री डिज्मल बिजेडिक सन् १९७३ मा नेपाल भ्रमणमा आएका थिए।

अपूर्व स्वागत  
बंगलादेशको पाँच दिने भ्रमण (१६–२० माघ २०३०) सम्पन्न गरेर राष्ट्रपति टिटो काठमाडौँ आइपुगेका थिए। त्यसअघि उनी भारतको ६ दिने (११–१६ माघ २०३०) भ्रमणमा थिए। एकै चोटि भएको तीन दक्षिण एसियाली मुलुहरूको भ्रमण खासमा तत्कालीन भूराजनीतिक सन्दर्भको उपज थियो। 

बंगलादेश असंलग्न आन्दोलनको ‘कान्छो सदस्य’ थियो। २६ मार्च १९७१ (३ चैत २०७१) मा पाकिस्तानबाट विभाजित भई स्वतन्त्रता घोषणा गरेको बंगलादेश असंलग्न आन्दोलनको सदस्य बनेको थियो। त्यहीकारण असंलग्न आन्दोलनको कान्छो सदस्य बंगलादेश र बंगलादेश निर्माणमा भूमिका खेलेको भारतलाई केन्द्रमा राखेर राष्ट्रपति टिटो दक्षिण एसिया भ्रमणमा आएका थिए। 

‘भारतको सहयोगमा स्वतन्त्रता प्राप्त गरेको मुलुक भएकाले अल्जियर्स शिखर सम्मेलनमा बंगलादेशप्रति सबैको आकर्षण थियो, भविष्यमा बंगलादेशप्रति भारतले कस्तो व्यवहार गर्ला भन्ने चिन्ता र चासो पनि थियो,’ थापाले भने, ‘त्यसैले, उहाँ पहिले भारत जानुभयो, त्यसपछि बंगलादेश। हामी (नेपाल) सँगको लामो सम्बन्ध र स्नेहका कारण  दक्षिण एसिया भ्रमणका बेला नेपाललाई पनि छुटाउनु भएन।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्याहरूद्वारा युगोस्लाभियाली राष्ट्रपति टिटो र प्रथम महिला योभान्काको स्वागत 

वीरेन्द्र गद्दीमा बसेपछि नेपाल भ्रमण गर्ने पहिलो विदेशी राष्ट्राध्यक्ष राष्ट्रपति टिटो नै थिए। सरकार प्रमुख भने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन्, जो विसं २०२९ मा नेपाल भ्रमणमा आएकी थिइन्। 

पुराना पत्रकार भैरव रिसाल (९६ वर्ष) त्यो बेला सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता थिए। उनले राष्ट्रपति टिटोको नेपाल भ्रमणको समाचार ‘कभरेज’ गरेका थिए। उनी २०३१ असोज पहिलो हप्ता भएको राजा वीरेन्द्रको युगोस्लाभिया भ्रमण दलमा पनि सामेल थिए।    

‘मलाई लाग्छ, राजा महेन्द्रले राष्ट्रपति टिटोसँग वीरेन्द्रलाई राज्य सञ्चालनका लागि सघाउन (तालिम दिन) आग्रह गरेका थिए,’ रिसालले सम्झे, ‘नेपाल आउँदा होस् वा राजा वीरेन्द्र युगोस्लाभिया जाँदा– मार्सल टिटोको हाउभाउ राजा वीरेन्द्रलाई केही सिकाइरहेजस्तै त्यस्तै देखिन्थ्यो।’ 

‘यी दुईबीचको सम्बन्ध हजुरबा र नातिको हो कि जस्तो लाग्यो, उमेरका दृष्टिले पनि र हाउभाउ (बडील्याङ्ग्वेज) का हिसाबले पनि,’ उनले थपे, ‘टिटोले भनेका कुरालाई राजा वीरेन्द्रले सहज रुपमा ग्रहण गरिरहेका थिए। उनीहरूबीच के कुराकानी हुन्थ्यो, त्यो चाहिँ हामीलाई जानकारी हुने कुरा भएन।’ 

उमेरका दृष्टिले पनि यी दुई राष्ट्राध्यक्ष हजुरबा–नातिजस्ता थिए। वीरेन्द्र २९ वर्षे युवा थिए। राष्ट्रपति टिटो भने ८३ वर्षका थिए। राजा वीरेन्द्रका हजुरबा श्री ५ त्रिभुवनभन्दा ६ वर्षमात्र कान्छा थिए उनी।  

हजुरबा समानका राष्ट्रपति टिटोको स्वागत–सम्मानका लागि राजा वीरेन्द्रले पनि कुनै कसर बाँकी राखेनन्। 

राष्ट्राध्यक्षहरू सैन्य पोसाकमा : राष्ट्रपति टिटोको स्वागत गर्दै राजा वीरेन्द्र  

राष्ट्रपति टिटो इल्युसिन–१८ नामक विशेष विमानबाट २० माघको बिहान काठमाडौँ आइपुगेका थिए। बंगलादेशको राजधानी ढाकाबाट उडान भरेको सो विमान ११ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।  

राष्ट्रपति टिटो र प्रथम महिला योभान्काको स्वागतका लागि राजा वीरेन्द्र र रानी ऐश्वर्य विमानस्थलमा उपस्थित थिए।  

स्वागतको दृश्य साँच्चिकै रोचक थियो। राष्ट्रपति टिटो सैन्य पोसाकमा काठमाडौँ आइपुगेका थिए, अनि उनको स्वागतका लागि राजा वीरेन्द्र पनि सैन्य पोसाकमै उपस्थिति थिए।

विमानस्थलबाट राष्ट्रपति टिटो–योभान्का लगायतको युगोस्लाभियाली भ्रमण दललाई भृकूटीमण्डपस्थित राष्ट्रिय सभागृह ल्याइयो। विमानस्थलबाट राष्ट्रिय सभागृहसम्म पुग्दा राष्ट्रपति टिटो राजा वीरेन्द्रको कारमा थिए। योभान्का रानी ऐश्वर्यको कारमा थिइन्। 

राष्ट्रिय सभागृहमा राष्ट्रपति टिटो र योभान्काले काठमाडौँ नगरपञ्चायतले राखेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे। विदेशी राष्ट्राध्यक्ष नेपालको राजकीय भ्रमणमा आउँदा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने प्रचलन अहिले पनि छँदैछ, जुन राष्ट्रपति टिटोको नेपाल भ्रमणबाट सुरु भएको हो। 

राष्ट्रिय सभागृहबाट टिटो–योभान्का नारायणहिटी राजदरबारतर्फ लागे। नारायणहिटी राजदरबारमा राष्ट्रपति टिटो र योभान्कालाई नेपाली राजपरिवारका सदस्यहरूसँग भेटघाट र परिचय गराइएको थियो। त्यहाँ राजा वीरेन्द्र–रानी ऐश्वर्य र राष्ट्रपति टिटो–प्रथम महिला योभान्काबीच एकआपसमा आ–आफ्ना मुलुकका उच्च विभूषण (पदक) आदान–प्रदान भयो। 

युवराज दीपेन्द्रसँग राष्ट्रपति टिटोको परिचय 

नारायणहिटीबाट उनीहरूको सवारी शीतल निवास चलाइयो। त्यो बेला शीतल निवास राष्ट्रिय अतिथिगृह थियो। नेपाल भ्रमणभर उनीहरूको मुकाम शीतल निवासमै रह्यो।  

राष्ट्रिय सभागृहबाट नारायणहिटी र नारायणहिटीबाट शीतल निवास पुर्‍याइँदा टिटो र योभान्का चारघोडे बग्गीमा सवार थिए। राष्ट्रपति टिटोका साथ बग्गीमा राजा वीरेन्द्र र योभान्काका साथ रानी ऐश्वर्य बसेकी थिइन्। बग्गी अघिल्तिर १६ वटा घोडचढी सैनिक (रिसल्ला) र पछिल्तिर १२ रिसल्ला थिए।  

त्रिभुवन विमानस्थलदेखि शीतलनिवाससम्मको मार्ग स्वागतद्वार र राष्ट्रपति टिटोको दीर्घायु कामनासहितका ब्यानरहरूले झकिझकाउ थियो। प्रत्येक चोकमा नेपाल र युगोस्लाभियाको संयुक्त झण्डा टाँगिएका थिए। 

दोस्रो दिन २१ माघमा बिहानीपख उनको स्वागतमा राजदरबारमा चियापान कार्यक्रम आयोजना गरियो। दिउँसो काठमाडौँ नगरपालिकाले ‘नागरिक अभिनन्दन’ कार्यक्रम आयोजना गर्‍यो। प्रधानपञ्च रनेन्द्रमान सिंहले उपहारको रुपमा चाँदीको कलात्मक मन्दिर प्रदान गरे, भादगाउँले ढाकाटोपी पनि लगाइयो। 

योभान्काका लागि उपहार थियो, पस्मिनाको खास्टो। प्रधानपञ्च सिंहले नै उनलाई खास्टो ओढाएर सम्मान प्रकट गरे। 

साँझपख नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले सांस्कृतिक कार्यक्रम आयोजना गरे। प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए। उनले साँझपख सोल्टी होटलमा राष्ट्रपति टिटोको सम्मानमा रात्रिभोज आयोजना गरे। 

राष्ट्रपति टिटोको भ्रमणभर सवारी मन्त्री तोकिएका थिए, सामान्य प्रशासन तथा वनमन्त्री हरिबहादुर बस्नेत (हाल ८३ वर्ष)। पूर्वमन्त्री बस्नेतका भनाइमा काठमाडौँको सांस्कृतिक सम्पदा अवलोकनका लागि राष्ट्रपति टिटोलाई भक्तपुरको पनि भ्रमण गराइएको थियो।   

गोदावरी भ्रमणको कार्यक्रम तेस्रो दिन (२२ माघ) का लागि तय थियो। त्यसैक्रममा राष्ट्रपति टिटो र योभान्काले त्यहाँ लालीगुराँसका बिरुवाहरू रोपेका हुन्। काठमाडौँबाट १६ किमि परको गोदावरी उद्यान पुग्ने उनी पहिलो विदेशी राष्ट्राध्यक्ष पनि हुन्।

युगोस्लाभियाली भ्रमण दलमा सबैगरी ४३ जना थिए। उनीहरू सबैलाई नेपालले २२ माघमा विभूषण (तक्मा) को घोषणा गर्‍यो। यसमध्ये सर्बियाको व्यवस्थापिका अध्यक्ष ड्रागोस्लाभ मार्काेभिक सहित ६ जनाले गोरखा दक्षिण बाहु (पहिलो) प्राप्त गरे। बदलामा राष्ट्रपति टिटोको तर्फबाट पनि झण्डै दुई सय नेपाली अधिकारीहरूलाई त्यहाँका विभिन्न विभूषण प्रदान गरिएको घोषणा गरियो। 

राष्ट्रिय सभागृहबाट नारायणहिटीतर्फ प्रस्थानका क्रममा बग्गीमा रानी ऐश्वर्य र प्रथम महिला योभान्का ब्रोज टिटो 

यसमध्ये राजा वीरेन्द्रका भाइहरू अधिराजकुमार ज्ञानेन्द्र र धीरेन्द्रले ग्य्रान्ड कर्डन अफ युगोस्लाभ फ्लाग (पहिला) नामक युगोस्लाभियाली पदक प्राप्त गरे। यो पदक प्राप्त गर्ने नेपाली अन्य उच्च अधिकारीहरूमा प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, राष्ट्रिय पञ्चायतका कार्यवाहक अध्यक्ष डम्बरबहादुर बस्नेत, परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सामान्य प्रशासन तथा वनमन्त्री (सवारीमन्त्री), हरिबहादुर बस्नेत, गृहमन्त्री होमबहादुर श्रेष्ठ, राजसभा स्थायी समितिका सभापति वेदानन्द झा, युगोस्लाभियाका लागि नेपाली राजदूत झरेन्द्रनारायण सिंह, प्रमुख राजदरबार पदाधिकारी बडाकाजी पुष्पराज राजभण्डारी र राजदरबार समारोह प्रबन्धक सरदार हंसमान सिंह थिए। 

‘युगोस्लाभियाका एकजना प्रोफेसर पछि नेपाल आए। उनी हामीलाई दिइएको तक्मा अध्ययनका लागि आएका रहेछन्,’ त्यो बेला सवारीमन्त्रीको जिम्मेवारीमा रहेका ८३ वर्षीय बस्नेतले भने, ‘हामीलाई दिइएका तक्मा निकै महत्वपूर्ण रहेको उनले सुनाए। तक्माहरू महत्वपूर्ण भएकैले उनी क–कसले ती तक्मा प्राप्त गरे भन्ने अध्ययन गर्न नेपाल आएका रहेछन्।’ 

दुई राष्ट्राध्यक्षहरूबीच आ–आफ्नो मुलुकको शीर्ष पदकहरूको आदान–प्रदान भने राष्ट्रपति टिटो काठमाडौँ ओर्लेकै दिन भइसकेको थियो। त्यसै साँझ नारायणहिटीमा आयोजित रात्रिभोजमा राष्ट्रपति टिटोलाई राजा वीरेन्द्रले ‘ओजश्वी राजन्य’ र योभान्कालाई ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट (प्रथम) चढाए।  

आदान–प्रदान गरिएका उच्च विभूषणहरूका साथ योभान्का टिटो, राजा वीरेन्द्र, राष्ट्रपति टिटो र रानी ऐश्वर्य (बायाँबाट क्रमशः) 

राजतन्त्रकालीन नेपालमा यी दुई पदक राजपरिवारका सदस्य वा राष्ट्रसेवामा कुनै उल्लेखनीय योगदान दिने नेपाली नागरिक तथा नेपाल अधिराज्यसित प्रेम र सद्भावना राख्ने विदेशीलाई प्रदान गरिने पदकका रुपमा चिनिन्थ्यो। 

राष्ट्रपति टिटोले पनि राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई आफ्नो मुलुकको सर्वाेच्च पदक चढाए। राजा वीरेन्द्रलाई उनले ग्य्रान्ड कर्डन अफ युगोस्लाभ ग्रेट स्टार र रानी ऐश्वर्यलाई ग्य्रान्ड कर्डन अफ युगोस्लाभ स्टार (प्रथम) विभूषण चढाएका थिए।  

राजा वीरेन्द्र र मार्सल टिटो तक्मा लगाइसकेपछि

फेरि नेपाल आउने इच्छा 
सवारीमन्त्री रहेका राप्रपा नेता बस्नेतका भनाइमा नेपाल भ्रमणबाट राष्ट्रपति टिटो र योभान्का निकै खुसी देखिन्थे। मन्त्री बस्नेतसँग उनले आफू फेरि नेपाल भ्रमणमा इच्छुक रहेको सुनाएका थिए। 

‘म आगामी साल पनि नेपाल भ्रमणमा आउनेछु,’ बस्नेतले राष्ट्रपति टिटोको भनाई उद्धृत गर्दै भने, ‘अर्काे साल सकिनँ भने त्यसपछिको वर्ष भए पनि आउनेछु।’ 

टिटोले बस्नेतसँग चितवनको बारेमा आफूले धेरै सुनेको र त्यहाँ जान आफू इच्छुक रहेको बताएका थिए। 

‘दोस्रो पटक नेपाल आउनु भएको भएको भए उहाँ पक्कै चितवन जानुहुने थियो,’ उनले थपे, ‘नेपाल भ्रमणबाट उहाँ निकै प्रभावित हुनुहुन्थ्यो। उहाँलाई नेपाल निकै मन परेको थियो।’

योभान्कापनि नेपाल भ्रमणबाट निकै खुसी देखिन्थिन्। राष्ट्रिय सभागृहबाट बग्गीमा चढेर नारायणहिटी राजदरबारतर्फ लाग्दा स्वागतमा सडकको दायाँ–बायाँ उभिएका स्थानीयवासीले उनको त्यो खुसी देख्न पाएका थिए। 

‘राष्ट्रिय सभागृहबाट नारायणहिटीतर्फ लाग्दा राष्ट्रपति टिटो र श्रीमती टिटो दुवै प्रसन्न मुद्रामा हात हल्लाउँदै अघि बढेका थिए,’ २१ माघको गोर्खापत्रले लेखेको थियो। उपलब्ध सबै तस्बिरहरूमा योभान्का निकै हर्षित देखिन्छिन्। 

नेपाल भ्रमणले दिएको खुसी ‘बडील्याङ्ग्वेज’ बाट मात्र होइन, राष्ट्रपति टिटोकै मुखबाट समेत सुन्न पाए। नेपाल भ्रमणको अवसर जुरेकोमा उनी कति खुसी थिए, नेपाल आएको पहिलो दिन नै उनले अभिव्यक्त गरेका थिए। 

राष्ट्रपति टिटोको स्वागतमा २० माघ साँझ नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रले रात्रिभोज आयोजना गरेका थिए। त्यसअवसरमा वीरेन्द्रले शान्तिपूर्ण सहअस्तित्व र असंलग्नताको सिद्धान्तका एक दृढ प्रवर्तकका रुपमा राष्ट्रपति टिटोप्रति नेपालको आदरभाव रहेको उल्लेख गरे। 

‘असंलग्नताको धारणा र यसको विकासप्रति महामहिमको व्यक्तिगत योगदानको हामी सराहना गर्दछौँ,’ राजा वीरेन्द्रले भनेका थिए, ‘महामहिमको नेतृत्वमा युगोस्लाभियाले आर्थिक, सामाजिक र बौद्धिक क्षेत्रहरूमा धेरै उन्नति गरेको छ। र, यस कुराको पनि हामी प्रशंसा गर्दछौँ।’ 

राजा वीरेन्द्रको स्वागतको प्रत्युत्तर राष्ट्रपति टिटोले नेपालको प्रशंसाबाट सुरु गरे।    

‘म तथा मेरी श्रीमती नेपाल भ्रमणको अवसर पाएर अत्यन्त प्रफुल्लित थियौँ। यो रमणीय र मैत्रीपूर्ण देशको भ्रमण गर्ने हाम्रो धेरै अघिदेखिको अभिलाषा थियो। मौसुफ सरकारबाट हामीहरूप्रति स्नेहपूर्ण भावनाको लागि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने, ‘विशेष गरेर नेपालको माटोमा टेकेकै बेलादेखि हामीले पाएको हार्दिक स्वागत र आतिथ्यको लागि हामी कृतज्ञ छौँ।’ 

काठमाडौँ नगरपञ्चायतले भोलिपल्ट (२१ माघ) मा आफ्नो ‘नागरिक अभिनन्दन’ कार्यक्रममा पनि उनले नेपालको प्रशंसा गरेका थिए।  

त्यसक्रममा उनले नेपाललाई विश्वको छानामा अवस्थित मुलुकको रुपमा चित्रित गरे, कैयौँ शताब्दीदेखि यो मुलुक एसियाली महाद्वीपमा उत्तर र दक्षिणको बीचको सम्पर्कस्थलको रुपमा रहिआएको स्मरण गराए। 

‘शताब्दियौँ लामो संघर्षमार्फत् नेपालले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गरेको छ,’ उनले भने, ‘अरुमाथि विजय प्राप्त गर्न खोज्नेहरुका सामु यो मुलुकसँग रहेका ठूला–ठूला हिमशिखरहरू चुनौतीका रुपमा छन्। ती हिमशिखरहरूजस्तै नेपाल सदैव शिर ठाडो पारी स्वाभिमानपूर्वक रहेको छ र रहनेछ।’ 

उनले आफूले नेपालको सौन्दर्य तथा सांस्कृतिक एवं ऐतिहासिक स्मारकहरूबारे पहिलेदेखि प्रसस्त सुन्दै आएको जानकारी गराए र नेपाल एसियाको प्राचीनतम सभ्यतामध्येको एक रहेको उल्लेख गरे। उनले थपे, ‘नेपालको गौरवपूर्ण इतिहासका उपलब्धिहरूबारे (एकै पटकमा) जानकारी प्राप्त गर्न सम्भव छैन।’ 

काठमाडौँ नगरपञ्चायतद्वारा आयोजित ‘नागरिक अभिनन्दन’लाई सम्बोधन गर्दै राष्ट्रपति टिटो

उनको पछिल्लो वाक्यांश ‘फेरि नेपाल भ्रमण गर्न इच्छुक छु’ भन्ने कुराको संकेत थियो। सार्वजनिक सम्बोधनमार्फत् आफू फेरि नेपाल आउन इच्छुक रहेको संकेत गरेका राष्ट्रपति टिटोले सवारीमन्त्री बस्नेतलाई अर्काे वर्ष नेपाल आउने योजना नै सुनाए।  

राष्ट्रपति टिटोको दोस्रो नेपाल भ्रमण भने कहिल्यै जुरेन। सायद उनको व्यस्तता र बुढ्यौली यसमा जिम्मेवार थियो।  

बरु राजा वीरेन्द्र २०३१ असोज पहिलो हप्ता राष्ट्रपति टिटोको मुलुक युगोस्लाभिया पुगे। राष्ट्रपति टिटोले काठमाडौँमै उनलाई युगोस्लाभिया भ्रमणको निम्तो दिएको थिए। त्यही निम्तो स्वीकार गर्दै राजा वीरेन्द्र पाँच दिने भ्रमण (७–१२ असोज २०३१) मा युगोस्लाभिया पुगेका थिए।  

काठमाडौँमा आफूले पाएजस्तै सम्मान राष्ट्रपति टिटोले पनि राजा वीरेन्द्रलाई बेलग्रेडमा दिए। त्यहाँ पनि दुई राष्ट्राध्यक्षका बीच आ–आफ्नो मुलुकका शीर्ष विभूषणहरू आदान–प्रदान भयो। 

२१ तोपको सलामीका साथ बेलग्रेडको प्रख्यात सेतो दरबारमा राजा वीरेन्द्र–रानी ऐश्वर्यको स्वागत भयो। काठमाडौँ नगरपञ्चायतले राष्ट्रपति टिटो र श्रीमती टिटोलाई गरेजस्तै स्वागत बेलग्रेड नगरले पनि राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई गर्‍यो।

राजा–रानी ११ असोजमा ७ वर्ग किमि मात्र क्षेत्रफल भएको त्यो सुन्दर द्वीप ‘ब्रियोनी’ पनि पुगे, जहाँ राष्ट्रपति टिटोको गृष्मकालीन दरबार ‘ब्रियोनिका’ थियो।  

‘ब्रियोनिका’ त्यही दरबार हो, जहाँ १९ जुलाई १९५६ (४ माघ २०१२) मा इजिप्टका राष्ट्रपति नासिर, भारतका प्रधानमन्त्री नेहरु र राष्ट्रपति टिटोबीच भएको ऐतिहासिक वार्ताले असंलग्न आन्दोलनको खाका कोरेको थियो।  

त्यसअघि नेपाली राजदम्पती एक रात बिताउने गरी क्रोएसियाको राजधानी जाग्रेब पनि पुगे। आड्रियाट्रिक समुद्रको तटमा रहेको ‘इस्ट्रा’ सहरबाट राजा वीरेन्द्रलाई राष्ट्रपति टिटोले प्रयोग गर्ने ‘पोदगोर्का’ डुङ्गाबाट ब्रियोनी पुर्‍याइएको थियो। 

‘ब्रियोनी टापु निकै सुन्दर रहेछ,’ भ्रमण दलमा रहेका पत्रकार रिसालले भने, ‘आफ्ना विशेष पाहुनालाई टिटोले त्यहाँ स्वागत गर्दा रहेछन्, ब्रियोनीमा गरिएको स्वागत र भ्रमणबाट बुझिन्छ– राष्ट्रपति टिटोले कति महत्व दिएका रहेछन्!’ 

‘टापुको एउटा होटलमा हामी पत्रकार र भ्रमण दलका अरु सदस्यलाई राखिएको थियो,’ भ्रमण दलमा रहेका गोर्खापत्रका पत्रकार आदित्यमान श्रेष्ठ (८९ वर्ष) ले सम्झे, ‘राजा–रानीलाई चाहिँ राष्ट्रपति टिटोले आफ्नै दरबारमा राख्नु भएको थियो।’ 

युगोस्लाभियाको पाँच दिने भ्रमण (७–११ असोज २०३१) सकेर राजा–रानी जोर्डनको भ्रमणमा लागे। जोर्डनतर्फ लाग्नुअघि दुई मुलुकको तर्फबाट संयुक्त विज्ञप्ति जारी भयो। 

दरबारका पूर्व संवाद सचिव चिरन शमशेर थापाका भनाइमा राजा वीरेन्द्रको युगोस्लाभिया भ्रमणको क्रममा जारी भएको संयुक्त विज्ञप्ति असंलग्न आन्दोलनको कोसेढुंगो संयुक्त विज्ञप्ति मानिन्थ्यो। 

‘राष्ट्रपति टिटो र राजा वीरेन्द्रको तर्फबाट जस्तो संयुक्त विज्ञप्ति जारी भयो, त्यसैलाई मोडल मानेर असंलग्न राष्ट्रका राष्ट्राध्यक्षहरूले त्यसपछिका भ्रमणमा विज्ञप्ति जारी गर्न थाले,’ थापाले भने, ‘त्यो विज्ञप्तिलाई युगोस्लाभियाको पाठ्यक्रममा समेत राखिएको थियो।’ 

गोदावरीमा राष्ट्रपति टिटो र प्रथम महिला योभान्काले नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिरुवा रोपेका थिए। बेलग्रेडको ‘मैत्री पार्क’ मा पनि राजा वीरेन्द्रबाट किम्बुको बिरुवा रोप्ने प्रबन्ध गरिएको थियो। 

राजा वीरेन्द्रबाट त्यही पार्कमा किम्बु वृक्षारोपण गरिएको थियो, जहाँ राजा महेन्द्रले पनि १३ वर्षअघि सोही खालको बिरुवा रोपेका थिए।

‘युगोस्लाभियामा यो बिरुवा ‘चाभोर’ नामले प्रसिद्ध छ, लोकप्रिय जातको यो रुख निकै छिटो बढ्छ,’ त्यो वृक्षारोपणबारेको समाचारमा गोर्खापत्रले भनेको थियो, ‘यस वृक्षारोपणको महत्व अझै बढ्नुको कारण के छ भने स्वर्गीय श्री ५ महेन्द्र २०१८ सालमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिइबक्सन बेलग्रेड सवारी होइबक्सँदा मौसुफ सरकारबाट रोपिबक्सेको किम्बुको ढकमक्क फुलेको रुख यसको नजिकै पर्दछ।’ 

नेपाल–युगोस्लाभियाको मैत्री वृद्धिका लागि राजा वीरेन्द्रबाट बेलग्रेडको मैत्रीपार्कमा किम्बुको बिरुवा रोप्ने प्रबन्ध गरिएको थियो। राष्ट्रपति टिटो र प्रथम महिला योभान्काबाट गोदावरीमा गराइएको लालीगुराँसको वृक्षारोपण भने युगोस्लाभियाको दीर्घ अस्तित्व र एकताको कामनाका लागि थियो। 

सन् १९४३ अघिसम्म युगोस्लाभिया ‘गणतन्त्र सर्बिया’ को रुपमा चिनिन्थ्यो। यसको सीमाभित्र अहिलेको सर्बिया, क्रोएसिया र स्लोभेनिया मात्र थिए। हिटलर र मुसोलिनीको आक्रमणविरुद्ध मुक्तिसंग्राम सुरु भएपछि टिटोले मोन्टेनिग्रो, बोस्निया–हर्जगोविना र म्यासेडोनियावासीहरूको समेत साथ प्राप्त गरे। 

युगोस्लाभियाको नक्सा 

हिटलर–मुसोलिनीविरुद्ध सन् १९४३ मा विजय प्राप्त भएसँगै टिटोले उपरोक्त ६ ‘राष्ट्र’ समेटेर ‘समाजवादी संघीय गणतन्त्रात्मक युगोस्लाभिया’ को घोषणा गरेका थिए। 

विविध जातीय एकता भएका यी सबै राष्ट्रका लागि राष्ट्रपति टिटो सर्वमान्य नेता थिए। त्यहीकारण उनको नेतृत्वमा ‘संघीय युगोस्लाभिया’ को निर्माणलाई सबैले स्वीकार गरे।  

सबै जातिहरूका लागि सर्वमान्य व्यक्तित्व भएका कारण पछि संविधानमै मार्सल टिटो ‘आजीवन राष्ट्रपति’ हुने व्यवस्था समेत गरियो। विविधतायुक्त ६ राष्ट्रहरूबीचको एकताका लागि संविधानमा ‘प्रेसिडियम अफ प्रेसिडेन्ट’ को व्यवस्था गरिएको थियो।  

यो व्यवस्था अनुसार राष्ट्रपति टिटोको निधनपछि प्रत्येक ‘राष्ट्र’ बाट पालैपालो राष्ट्रपति हुने प्रबन्ध थियो। टिटो जीवित छँदा चाहिँ यो प्रबन्ध प्रधानमन्त्री चयनमा गरिएको थियो, जस अनुसार फरक–फरक ‘राष्ट्र’ बाट युगोस्लाभियाको प्रधानमन्त्री चयन हुन्थे। 

तर, राष्ट्रपति टिटोपछि ‘संघीय युगोस्लाभिया’ को भविष्यबारे अन्योल थियो। उनको बुढ्यौलीसँगै युगोस्लाभियालीहरूबीच जातीय द्वन्द्व देखिन थालिसकेका थिए।  

‘युगोस्लाभिया भ्रमणका क्रममा राष्ट्रपति टिटो आफैले श्री ५ वीरेन्द्रसँग युगोस्लाभियाको जातीय विविधताको चर्चा गर्नुभएको थियो,’ पूर्व संवाद सचिव थापाले सम्झे, ‘जातीय द्वन्द्वको सम्भावना रहेकाले आफूपछि युगोस्लाभियाको भविष्य के होला भनेर चिन्ता प्रकट गर्नुभएको थियो।’ 

राष्ट्रपति टिटोको त्यही चिन्ताको आधारमा १८ जनवरी १९७७ (५ माघ २०३३) मा युगोस्लाभ प्रधानमन्त्री डिज्मल बिजेदिकको निधन हुँदा राजा वीरेन्द्रले त्यसमा षडयन्त्र देखेका थिए। 

मुस्लिम बहुल बोस्नियाको पालो आएकाले बिजेदिक प्रधानमन्त्री बनेका थिए। उनले सन् १९७३ मा नेपालको भ्रमण समेत गरेका थिए,’ थापाले भने, ‘अर्काे समुदायले बिजेदिक प्रधानमन्त्री बनेको रुचाएको थिएन। यसै आधारमा श्री ५ वीरेन्द्रले त्यो विमान दुर्घटना षडयन्त्रको शंका गरिबक्सेको थियो।’ 

‘संघीय युगोस्लाभिया’ जुनसुकै बेला दुर्घटनामा पर्न सक्थ्यो। राजा वीरेन्द्रको कामना थियो– मार्सल टिटोको युगोस्लाभियाले त्यस्तो दुर्घटना भोग्नु नपरोस्। यही कामनाका साथ उनले गोदावरीमा राष्ट्रपति टिटो र योभान्काबाट वृक्षारोपण गर्ने व्यवस्था मिलाएका थिए। 

गोदावरी वनस्पति उद्यानभित्र टिटो र योभान्काबाट जुन भूगोलमा वृक्षारोपण गरिएको थियो, ती स्थलमा युगोस्लाभियाको नक्सा कोरिएको थियो। त्यो नक्सामा गोदावरीस्थित मार्बल उद्योगबाट उत्पादित सेतो रंगका मार्बल (संगमरमर) प्रयोग गरिएका थिए।  

जमिनमा कुलेसोको मात्र नक्सा बनाउँदा त्यो कुनै पनि बेला पुरिन सक्थ्यो। त्यसलाई चिरस्थायी बनाउने उदेश्यका साथ त्यसमा मार्बल प्रयोग गरिएको थियो। 

गोदावरीमा टिटो र योभान्काद्वारा वृक्षारोपण, सेतो घेरा युगोस्लाभियाको नक्सा बनाउन प्रयोग भएको हो  

युगोस्लाभियाको भविष्यप्रति चिन्तित राष्ट्रपति टिटोका लागि मार्बलले कोरिएको युगोस्लाभियाको नक्साले खुसी दिलायो। त्यो खुसी वृक्षारोपण गर्दै गर्दा खिचिएको तस्बिरमा देख्न सकिन्छ। 

युगोस्लाभियाली संविधानले नै मार्सल टिटो जीवनपर्यन्त राष्ट्रपति हुने व्यवस्था गरेकाले प्रथम महिला योभान्कालाई विश्वका सञ्चारमाध्यमहरूले ‘रेड क्विन’ (क्रान्तिकारी रानी) को उपमा दिने गर्थे। दोस्रो विश्वयुद्धकी योद्धा भएकाले उनलाई यस्तो उपमा दिइएको थियो। 

नेपाल भ्रमणका क्रममा सरकारी सञ्चारमाध्यम गोर्खापत्रका पत्रकारहरूले यी ‘रेड क्विन’ को बडी ल्याङ्ग्वेजलाई केन्द्रमा राखेर समाचार बनाउने गरेको थियो। यसैक्रममा युगोस्लाभियाको नक्साभित्र वृक्षारोपण गर्न पाउँदा योभान्काको हर्ष गोर्खापत्रले उल्लेख गरेको थियो।  

‘खासगरी श्रीमती ब्रोज सेता सिंहमरमरद्वारा लेखिएको युगोस्लाभियाको नक्सामा ती विरुवाहरू रोपिएकोमा प्रसन्न हुनुभएको थियो,’ गोर्खापत्रले लेखेको थियो, ‘युगोस्लाभियाको नक्साभित्र नेपालको राष्ट्रिय फूल फुल्दा नेपाल–युगोस्लाभियाबीचको दौत्य सम्बन्ध र मार्सल टिटोको मैत्रीपूर्ण भ्रमणको सम्झना दिलाउने छ।’ 

म्याडम ब्रोज टिटो बिरुवा रोप्दै

विलुप्त युगोस्लाभिया, मेटिएको नक्सा
गोर्खापत्रको त्यो समाचारमा भनिएजस्तै ती दुई रुखमा फुल्ने लालीगुराँसले राष्ट्रपति टिटो र प्रथम महिला योभान्काको नेपाल भ्रमणको सम्झना अहिले पनि दिलाइरहेका छन्।  

तर, यी दुई रुखले नेपाल–युगोस्लाभियाबीचको सम्बन्धको वर्तमान अवस्था भने बताउन सक्दैनन्। किनकि, विश्वको मानचित्रमा युगोस्लाभिया भन्ने मुलुक नै अहिले अस्तित्वमा छैन। 

मार्सल टिटोको सुन्दर रचनाका रुपमा रहेको त्यो युगोस्लाभिया पालैपालो टुक्रिँदै सर्बिया, क्रोएसिया, स्लोभेनिया, बोस्निया–हर्जगोभिना, मोन्टेनिग्रो,  म्यासेडोनिया र कोसोभो गरी ७ वटा मुलुकमा विभाजित भइसकेको छ। 

गोदावरीमा रोपेको लालीगुराँस ६ वर्षको हुँदै गर्दा २२ पुस २०३७ मा ८७ वर्षको उमेरमा राष्ट्रपति टिटोको निधन भयो। स्वर्गीय टिटोप्रति उच्च सम्मानका कारण अन्तिम संस्कारमा भाग लिन राजा वीरेन्द्रले आफ्ना भाइ अधिराजकुमार ज्ञानेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री केबी शाही लगायतका अधिकारी सामेल थिए।  

टिटोको निधनपछि राखिएको समवेदना पुस्तिकामा हस्ताक्षर गर्दै ज्ञानेन्द्र शाह, बेलग्रेडमा  

मार्सल टिटोको संघर्ष र व्यक्तित्वबाट निर्माण भएको त्यो मुलुक उनको निधनपछि ११ वर्ष जसोतसो अस्तित्वमा रह्यो। तर, जब १९९० को दशकमा विश्वभर साम्यवाद विरोधी लहर चल्यो, त्यो तुफानले युगोस्लाभियालाई समेत लपेट्यो।  

टिटोको निधनपछि त्यहाँ बलियो नेतृत्वको अभाव भयो। सबल नेतृत्वको अभावमा जातीय राष्ट्रवादले विस्तारै टाउको उठाउन थाल्यो। ‘संघीय युगोस्लाभिया’ को अंगका रुपमा रहेका प्रत्येक राष्ट्रले छुट्टै राज्यको माग गर्न थाले। 

युगोस्लाभियामा जातीय राष्ट्रवादले टाउको उठाउँदै गर्दा विश्वभर कम्युनिस्ट शासनविरोधी आँधीबेहरी चल्यो। त्यसैक्रममा सबैभन्दा पहिले स्लोभेनिया र क्रोएसियाले २५ जुन १९९१ (११ असार २०४८) मा  आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरे। 

अब युगोस्लाभियाको रुपमा सर्बिया, मेसेडोनिया र बोस्निया–हर्जगोभिनामात्र रहे। तर, स्लोभेनिया र क्रोएसिया अलग भएपछि मेसेडोनिया र बोस्निया–हर्जगोभिना पनि युगोस्लाभियाभित्र लामो समय रहन चाहेनन्।  

स्लोभेनिया र क्रोएसियालाई पछ्याउँदै मेसेडोनियाले ८ सेप्टेम्बर १९९१ (२३ भदौ २०४८) र बोस्निया–हर्जगोभिनाले ३ मार्च १९९२ (२० फागुन २०४८) मा स्वतन्त्रताको घोषणा गरे। 

सन् १९६०–८० को दशकमा बाल्कन क्षेत्रको शक्तिराष्ट्र ‘संघीय युगोस्लाभिया’ अब पटक–पटकको विभाजनमार्फत् ‘सर्बिया’ मा सीमित हुन पुग्यो। 

तर, चार वटा राष्ट्र अलग भइसक्दा पनि युगोस्लाभियाको भाग्यमा लेखिएको विभाजनको ‘लेखा’ भने अझै टरिसकेको थिएन। अब विभाजित हुने पालो कोसोभो र मोन्टेनेग्रोको थियो। 

‘सर्बिया’ मा सीमित युगोस्लाभियाली राष्ट्रपति स्लोभोदान मिलासोविक यो विभाजन रोक्न प्रयासरत थिए। 

तर, अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले २४ मार्च १९९९ (१० चैत्र २०५५) देखि  १० जुन १९९९ (२७ जेठ २०५६)  सम्म कोसोभोमा रहेको युगोस्लाभियाली सेनामाथि हवाई आक्रमण सुरु गर्‍यो। नेटोको साढे दुई महिना लामो आक्रमणका कारण कमजोर बनेको युगोस्लाभियाली सेना कोसोभोबाट फिर्ता भयो। 

संयुक्त राष्ट्रसंघको नेतृत्वमा त्यहाँ अन्तरिम सरकार गठन भयो। १९ फेब्रुअरी २००८ मा कोसोभो पनि युगोस्लाभियाबाट विधिवत् अलग भयो। 

कोसोभोभन्दा दुई वर्षअगावै मोन्टेनेग्रो पनि युगोस्लाभियाबाट अलग भइसकेको थियो। जनमत संग्रहमार्फत् मोन्टेनेग्रोले २१ मे २००६ (७ जेठ २०६३) मा स्वतन्त्रताको घोषणा गरेको थियो।

१९ जेठ २०५८ को दरबार हत्याकाण्डमा निधन हुनुअघिसम्म युगोस्लाभियामा विकसित यी दुखद घटनाक्रम राजा वीरेन्द्रले गहिरोसँग नियालिरहेका हुन्थे। तर, एकीकृत युगोस्लाभियाको रक्षाका लागि उनले गर्न सक्ने केही थिएन। 

एउटा कुरा भने उनले अवश्य गर्नसक्थे। त्यो हो– गोदावरीको वनस्पति उद्यानमा  मार्सल टिटो र प्रथम महिला योभान्काले रोपेका लालीगुराँसका रुख र रुख वरिपरि बनाइएको समाजवादी संघीय गणतन्त्रात्मक युगोस्लाभियाको नक्साको संरक्षण। 

त्यो काम चाहिँ उनले गरे। 

‘जीवित छँदासम्म श्री ५ वीरेन्द्रले ती बिरुवाको बुझबुझारथका लागि दरबारबाट कर्मचारीहरूलाई पठाइबक्सन्थ्यो,’ पूर्व संवाद सचिव थापाले भने, ‘म आफै पनि पटक–पटक गोदावरी पुगेर ती बिरुवाको अवस्था बुझ्ने गरेको थिएँ। श्री ५ वीरेन्द्र छँदासम्म ती बिरुवा राम्रैसँग हुकँदै थिए।’  

राष्ट्रपति टिटोको ४४ वर्षअघि निधन भयो। राजा वीरेन्द्र पनि २२ वर्षअघिको दरबार हत्याकाण्डमा मारिए। योभान्कापनि ११ वर्षअघि बितिन्। २३ वर्षयता त्यो युगोस्लाभिया अहिले युरोपका ७ राष्ट्रमा विभाजित छ। 

युगोस्लाभियाको चिरअस्तित्वको कामना गर्दै गोदावरी उद्यानभित्र नक्सा बनाइएको र नक्साभित्र राष्ट्रपति टिटो र प्रथम महिला योभान्काबाट नेपालको राष्ट्रिय फूल लाली गुराँस रोपिएको पनि यो हप्ता (२२ माघ) मा ५० वर्ष पुग्दैछ। 

कस्तो भए होलान् मार्सल टिटो र योभान्काले वृक्षारोपण गरेका लालीगुराँसका रुख! अनि के भयो होला, त्यहाँ मार्बलले घेरेर बनाइएका युगोस्लाभियाका नक्सा!

यिनै जिज्ञासा मेट्न म ६ माघमा गोदावरी वनस्पति उद्यानस्थित ‘भीभीआईपी प्लान्टेसन एरिया’ पुगेको थिएँ। 

बलियो फलामे बारले घेरिएको क्षेत्रको ढोकैमा एउटा बोर्ड टाँगिएको थियो। बोर्डमा त्यहाँभित्र रहेका रुखहरू वृक्षारोपण राष्ट्राध्यक्ष र तिनको मुलुकको नाम उल्लेख थियो। 

बोर्डको पहिलो नम्बरमै थियो– मार्सल टिटो र म्याडम टिटोको नाम! 

अर्थात् ५० वर्षअघि उनीहरूले रोपेका ती बिरुवा अझै जीवित रहेछन्। 

ममा खुसीको सीमा रहेन। 

त्यहाँभित्र रहेका करिब तीन दर्जनमध्ये मैले टिटो र योभान्काले रोपेका लालीगुराँसका ती दुई बिरुवा खोजेँ। बायाँतर्फको कुनोमा लालीगुराँसका दुई रुख परैबाट देखिए। 

ती लालीगुराँस राष्ट्रपति मार्सल टिटो र प्रथम महिलाले रोपेका थिए भन्ने कुरा त्यहाँ टाँगिएका हरिया साइनबोर्डले पुष्टि गरे। 

तर, लालीगुराँसको बिरुवासँगै बनाइएको युगोस्लाभियाको नक्सा भने त्यहाँ थिएन। न नक्साको संकेत जनाउने कुनै डोब, न त नक्सा बनाउन प्रयोग गरिएका मार्बलका टुक्राहरू नै वरिपरि थिए।  

कसले, कहिले र किन हटायो होला, त्यहाँ बनाइएका युगोस्लाभियाको नक्सा! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .