ad ad

छापा खबर


३६ घण्टाको फरकमा एकै घरका ३ भाइको निधन, घटना सुनेर दिदीको पनि मृत्यु

३६ घण्टाको फरकमा एकै घरका ३ भाइको निधन, घटना सुनेर दिदीको पनि मृत्यु

नेपालखबर
जेठ ६, २०७८ बिहिबार २:३७,

मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो।

स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाएका खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन्।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४ वैशाखमा इम्तियाजले पनि संसार छोेडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो। खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो। कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ। झस्काएको छ।

घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ।

नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ। २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन्। छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ। एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन्।

चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ। चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन। सबैका लागि एउटै मूल गेट छ। जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ।

यही कोलोनीमा ७ भाइका छोराछोरी, नातिनातिना गरी ३५ जनाको परिवार बस्छ। सदरलाइनमा पुस्तौंदेखि बस्दै आएको यो परिवार सुनारमण्डीमा भने १२ वर्षअघि सबैै भाइको एउटै थलोमा घर बनाएर बस्न थालेको थियो। मंगलबार अपराह्नतिर संवाददाता पुग्दा यो बडेमानको घर पनि सुनसान थियो।

मृतकका भतिजो (जेठो दाइ हाजी सब्बिरका कान्छा छोरा) सरप्राज मेहमुद मूलद्वारमा भेटिए। उनले दाइ सहनाज आदिल (माइलो बुवाको छोरा)लाई कुरा गर्न बोलाए। सहनाजले साइलो काका रियाज अहमदलार्ई डाके। ३ तले घरको दोस्रो तलाको उत्तरतर्फको झ्यालबाट उनले हेरिरहे। तल उनी आउन मानेनन्। मात्र चिहाइरहे। संवाददाताले बोलाउँदा पनि उनी तल झरेनन्। पत्रकार भनेपछि बरु झ्यालबाटै कुरा गर्न राजी भए।

‘लगातार एकपछि अर्को भाइको मृत्युु भयो। अहिले त तल झर्न पनि हिम्मत आउँदैन’, उनले पीडा सुनाए’, ‘यो महामारी के हाम्रै घरको लागि भएको हो र?’ बेला–बेलामा उनको बोली अवरुद्ध हुन्थ्यो।

‘सबै भाइ मिलेर बसेका थियौं। अभाव केही पनि थिएन। आवश्यक परेको बेलामा एकले अर्कोलाई सहयोग गथ्र्यौ। किन हाम्रै परिवारमाथि यस्तो समस्या भयो?’, ३ भाइ गुमाएका रियाजले भने, ‘हामीले आफ्नो तर्फबाट बचाउन सक्ने सबै प्रयास ग¥यौं। उपचार गर्न पैसाको अभाव पनि हुन्थेन। सबै भाइ मिलेर जति लागे पनि पैसा त जम्मा भइहाल्थ्यो। पैसाले मात्र पनि मान्छे बाँच्ने रहेनछ?’

कोरोनाले कसरी एक्कासि मान्छेको ज्यान लिँदोरहेछ, यो परिवार आश्चार्य चकित छ। ‘काका एजाजलाई मधुमेहको समस्या थियो। अरू कसैलाई दीर्घरोग थिएन। मधुमेहको रोगी भए पनि उहाँले औषधि सेवन गर्नु भएको थिएन। खानपिनबाटै मधुमेहलाई नियन्त्रणमा राख्नु भएको थियो’, भतिजा सहनाज आदिलले यर्थाथता दर्शाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .