फोटोफिचर


जगमगाउँदो पशुपतिनाथ, अनेक रुपरंगका बाबाजी (तस्बिरहरु)


सरोज बैजु
फागुन ६, २०७९ शनिबार ०:३४, काठमाडौँ

फागुनकृष्ण चतुर्दशीका दिन अर्थात् शनिबार महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदैछ।

शिवको पूजा गर्ने अघिल्लो रात काठमाडौंको पशुपतिनाथमा हजारौँ भक्तजन पुगेका छन्। नेपाल र भाततका कयौँ स्थानबाट आएका बाबाजीहरुले जगाएको धुनीले पशुपति क्षेत्र उज्यालिएको छ।

अनेक स्वरुप र वस्त्रमा सजिएर आएका बाबाजीहरु आजैदेखि भक्तजनका आकर्षणका केन्द्र भएका छन्। शनिबार दर्शन गराउनका लागि पशुपतिनाथलाई विशेष रुपमा सजाइएको छ।

पशुपति क्षेत्र र पारि वनकाली क्षेत्रमा बाबाजीहरुको बाक्लो भीड छ। शिवजीका बुटीका रुपमा यो पटक पनि बाबाजीहरुले गाँजासहितका पदार्थ लुकिछिपी दिइरहेका छन्। 

बाबाजीहरुका अनेक नृत्य र भागभंगीले भक्तजनलाई तानिरहेका छन्। पशुपतिनाथमा भारतबाट पनि सयौँको संख्यामा बाबाजीहरु आउने गर्छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु शनिबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

यो दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .