फोटोफिचर


‘स्वर्गको टुक्रा’ मकवानपुरको लटारम्मेश्वर (तस्बिरहरू)


सुनिता विष्ट
चैत २६, २०७९ आइतबार १८:१९, हेटाैँडा

काठमाडौंबाट छोटो दूरीमा नै पुग्न सकिने रमणीय गन्तव्य हो मकवानपुरको भीमफेदी गाउँपालिका ८ मा अवस्थित लटारम्मेश्वर।

काठमाडौंको धुलो, धुवाँ र कोलाहालबाट मुक्त भएर शान्त ठाउँमा घुम्ने सोच बनाउनेहरुको लागि आकर्षणको केन्द्रबिन्दु पनि हो यो ठाउँ।

काठमाडौंबाट लटारम्मेश्वरसम्म पुग्न कान्तिराजपथको बाटो ४५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ। यसपछि लगभग १ घण्टा पैदल हिँडेपछि पुगिन्छ यो रमणीय ठाउँमा। 

डब्लु डाँडा भनेर समेत परिचित रहेको यस ठाउँको शिखरमा पुगेर रमणीय दृश्य अवलोकन गर्दा स्वर्गको एक अंश भनेर व्याख्या गर्न मन पराउँछन् आन्तरिक पर्यटकहरु।

हेटौंडा र काठामाडौंबाट उत्तिनै दूरीमा पर्ने यस लटारम्मेश्वरमा दिनहुँ सयौं मानिसहरु भगवानको दर्शन गर्न, घुम्न तथा ट्रेकिङ गर्नसमेत आउने गरेको स्थानीयहरु बताउँछन्।

पर्यटकीय हब बन्दै
लटारम्मेश्वरलाई बागमती प्रदेशकै महत्वपूर्ण पर्यटकीय हबको रुपमा विकास गर्नको लागि भीमफेदी गाउँपालिकाले चासो देखाएको छ।

यस ठाउँको विकासको लागि डीपीआर निर्माण गरेर काम अघि बढाउन लागेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए।

उनले भने ‘चिसो मौसम, काठमाडौँ उपत्यका तथा मकवानपुर सहित अन्य जिल्लाको दृष्य अवलोकन गर्न सकिने, धार्मिक स्थलसमेत रहेको लटारम्मेश्वर महादेव मन्दिर परिसरलाई हामी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागेका छौँ।’

उनले त्यस क्षेत्रमा दर्शन गर्न आउने, घुम्न आउनेको लागि विश्रास्थल, खानेपानीको प्रबन्ध लगाएतको काम सुरु गरिएको बताए। यस बाहेक सिँढी निर्माणको काम पनि जारी रहेको उनको भनाई छ।

यसरी पुग्न सकिन्छ
काठमाडौं र हेटौंडा दुवैतर्फबाट कान्तिलोकपथ मार्ग हुँदै ४३  किलोमिटरको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन भन्ने स्थान पुगिन्छ। त्यहाँबाट आर्मी क्याम्प हुँदै ८ किलोमिटरको यात्रापछि महादेबटार पुगिन्छ।

महादेबटारसम्म साना गाडी तथा मोटरसाइकल लान सकिन्छ। त्यसपछि ४ किलोमिटरमा चिलाउने लेक भन्ने स्थानमा पुगिन्छ। उक्त स्थानबाट करिब २ घण्टाको पैदल यात्रा पश्चात लटारम्मेश्वर महादेवको मन्दिर पुगिन्छ। 

यस्तो छ धार्मिक इतिहास
हिन्दु धर्मको पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर लिएर हिँडने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रुपमा उक्त क्षेत्रलाई लिइन्छ। सतिदेवीको जटा झरेर पतन भएको पौराणीक कथा अनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेव भएको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .