ad ad

फोटोफिचर


चिनियाँ बजार : जहाँ सयौँथरी फूल, चराको गुँडदेखि रुखका जरासमेत किन्न पाइन्छ (तस्बिरहरू)


ज्ञानेन्द्र खड्का
असोज २९, २०८० सोमबार ६:२२, खुनमिङ, युन्नान (चीन))

चीनको युन्नान प्रान्तस्थित खुनमिङ महानगर प्राकृतिक सम्पदाले भरिपूर्ण छ। युन्नान प्रान्तले पछिल्लो समय तीव्र गतिमा समृद्धि र विकासको रफ्तार पक्रिरहेको छ।

अहिलेको अववस्थामा १८ औँ धनी प्रान्तमा गनिने यहाँ जडीबुटी, चिया, कफी, फलफूलसहित हजारौँ प्रकारका वनस्पति उत्पादन हुने गरेका छन्।

ती उत्पादनलाई बजारसम्म पुर्‍याउन चीन सरकारले कयौँ ठूला ठूला बजार पनि बनाएको छ। चीनले आन्तरिक बजारमा खपतसँगै आफ्ना उत्पादनलाई दक्षिण एसिया, युरोप, अमेरिका, अफ्रिका र ल्याटिन अमेरिकासम्म पुर्‍याउने गरेको छ।

यहाँको कफी विश्वमै प्रसिद्ध मानिन्छ। अहिले युन्नानको बाओसान सहर विभिन्न प्रजातिका कफी उत्पादन केन्द्र बन्दै गएको छ। ८ स्क्वायर किलोमिटरमा फैलिएको यो बजारको सबै क्षेत्र घुमिसक्न कम्तीमा २ घण्टा लाग्छ।

यस्ता अनेक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन चीनले खुनमिङमै विशाल बजार खोलेको छ। युन्नानका विभिन्न क्षेत्रमा उत्पादित फूललाई उपभोक्तासम्म पुर्‍याउने गरी खोलिएको यो दोउनान फूल बजारमा दैनिक १० औँ करोडको कारोबार हुने गरेको छ।

यहाँ नेपालमा पाइने सयपत्री, थुँगे, लाहुरे, थरीथरीका गुलाब र कमलदेखि दर्जनौँ प्रकारका फूलको किनबेच हुन्छ। गुलाबका ठूला ठूला गुची बिहेका लागि तयार गरिएको छ।

यो बजारमा दैनिक ३०० भन्दा धेरै प्रकारका ४० देखि ६० लाखवटा फूल किनबेच हुन्छ। अहिले यो बजारबाट दैनिक ६ मिलियन आरएमबीसम्मका फूलको कारोबार हुने गरेको स्थानीय सरकारका अधिकारी बताउँछन्।

युन्नान एयरलाइन्स जस्ता २० भन्दा ठूला कम्पनीले यहाँको फूल किन्छन्। यहाँबाट लाखौँ फूल बेइजिङ, सघाई जस्ता १० वटा ठूला सहरमा जान्छ। अर्कातिर जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्यान्ड जस्ता देशमा पनि यहाँको फूल जहाजबाट लग्ने गरिएको छ।

पाँच तले यो फूल बजारको अर्को रोचक पक्ष भनेको यहाँ समुद्री ढुंगादेखि बच्चा हुर्काएर छाडिसकेको चराको गुँड र रुखका जरासमेत किन्न पाइन्छ। यहाँको बजारमा फूलसम्बन्धी तालिम केन्द्र, फूल सजावट केन्द्र र फूलसम्बन्धी विवरण बताउने अलग्गै क्षेत्र पनि छ। यहाँको बजारबाट फूल बेच्ने व्यापारीको संख्या नै १० हजार बढी छ।

सुन्दा अनौठो लाग्ने यस्ता वस्तुलाई सहरीक्षेत्रका चिनियाँहरुले मूल्यवान मान्छन्। खुनमिङका तीन तारेदेखि पाँचतारे ठूला होटलहरु यस्ता वस्तु सजाइएको हुन्छ।

होटलहरूमा रुखका जरा, चराका गुँड, जंगली फूलहरु, झ्याउ पनि सजाएर सानोतिनो जंगली आकृति नै बनाएका हुन्छन् चिनियाँ व्यवसायीहरुले।

त्यो बजारमा मोती, समुद्री जीवहरूका विभिन्न अवशेष, थरी थरीका भाँडा, स्थानीय बाजा, कपडादेखि श्रृंगारका सामानसमेत पाइन्छ। यसलाई युन्नान सरकारले एसियाकै ठूलो फूल बजार भन्ने गरेको छ।

स्थानीय कृषकहरुका उत्पादन बजारसम्म ल्याउन चीनको ग्रामीण सरकारले काम गरेको हुन्छ। कृषकका सामान किनिदिएर बजारम्म लगिदिने काम सरकारले गर्छ। त्यहीकारण यहाँका किसानले उचित भाउ पाएर खेतीलाई निरन्तरता दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .