ad ad

राजनीति


मधेश प्रदेशमा ‘विशेष अभियान’ थाल्दै नेपाली कांग्रेस

स्थानीय निर्वाचन लक्षित गतिविधि बढाइँदै
मधेश प्रदेशमा ‘विशेष अभियान’ थाल्दै नेपाली कांग्रेस

फाइल तस्बिर


केशव सावद
माघ २५, २०७८ मंगलबार १४:५५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेशलाई लक्षित गरेर ‘विशेष अभियान’ थाल्ने भएको छ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टी ‘आक्रामक’ रुपमा अघि बढेपछि कांग्रेस मधेश प्रदेशमा ‘विशेष अभियान’ सञ्चालन तयारीमा जुटेको हो। 

‘विशेष अभियान’ सञ्चालनका लागि माघ २७ गते बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा छलफलले प्रवेश पाउने एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यद्यपि, कांग्रेस केन्द्रीय कार्यालयले कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भने ‘विशेष अभियान’बारे छलफलको एजेन्डा उल्लेख छैन। 

विज्ञप्तिमा म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाहरूका सम्बन्धमा, पार्टीको अधिवेशन हुन बाँकी रहेका जिल्लाबारे तथा विविध गरी तीनवटा एजेन्डा बैठकका लागि तय गरिएको उल्लेख गरिएको छ। 

तर, अभियान सञ्चालन तयारी गरिरहेका पदाधिकारीनिकट स्रोतले मधेश प्रदेशमा ‘विशेष अभियान’बारे कार्यसम्पादन समितिमा छलफल प्रवेश पाउने जनाएको छ। 

स्थानीय तहदेखि संघीय संसदको निर्वाचनलाई लक्षित गरेर संगठन निर्माणका लागि मधेश प्रदेशमा ‘विशेष अभियान’ तयारी गरिएको स्रोतको भनाइ छ। 

स्रोतका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लामा ‘विशेष अभियान’ का लागि केन्द्रीय नेता खटाउनेसम्मको तयारी भइरहेको छ। 

‘विशेष अभियान’ सञ्चालन तयारी गरिरहेका पदाधिकारीले पनि यसबारे आन्तरिक छलफल भइरहेको स्वीकार गरेका छन्। 
उनले मधेश प्रदेशमा मात्रै नभएर कांग्रेस देशव्यापी अभियानमा जाने तयारीमा रहेको बताए। 

‘समग्र देशका लागि अभियानमा जान्छौँ,’ ती पदाधिकारीले भने, ‘मधेश प्रदेशको विशेष फरक अभियान हुन्छ।’

उनले आन्तरिक तयारी भइरहेकाले अभियानको मिति तय भइनसकेको पनि बताए। 

‘यही मिति भन्ने छैन। कार्यसम्पादन समिति बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘बैठकपछि चाँडै अभियान सुरु गर्छौं।’

ती पदाधिकारीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर देशव्यापी र मधेश प्रदेशमा सञ्चालन गरिने ‘विशेष अभियान’को प्रकृतिबारे केही खुलाउन चाहेनन्। 

‘अहिले नै यी र यस्ता कार्यक्रम हुन्छन् भन्ने तय गर्न बाँकी छ,’ उनले भने,  उनले भने, ‘कार्यसम्पादन समितिको बैठकबाट वा त्यसपछि ‘कन्सेप्ट’ तयार हुन्छ।’

कांग्रेसले यसअघि २०७६ वैशाख २५ गते ७७ वटै जिल्लामा हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण अभियान सञ्चालन गरेको थियो। 

७७ जिल्लामा एकसाथ उद्घाटन गरिएको जागरण अभियानमा आशन ग्रहणमा परम्परागत शैली अन्त्य गर्दै स्वागत र समापनबाहेक तीन वक्ताले बोल्ने कार्यतालिका बनाइएको थियो। 

जसअनुसार विषय प्रवेश, महिला वक्ता र प्रमुख अतिथिको मन्तव्य थिए। उक्त जागरण अभियानबाट कांग्रेसले नेताहरुलाई फूल, माला पहिराउने र ब्याच लगाउने परम्परा पनि अन्त्य गर्ने घोषणा गरेको थियो।

कांग्रेसले त्यसबेला नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रम भनेर त्यसको प्रचार गरेको थियो। उक्त जागरण अभियान उद्घाटनका लागि पदाधिकारी पनि खटिएका थिए। 

जागरण अभियानको उद्घाटनका लागि कांग्रेसले प्रदेश १ को सुनसरीमा तत्कालीन उपसभापति विजयकुमार गच्छदार, तत्कालीन प्रदेश २ (मधेश) को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र तत्कालीन प्रदेश ३ (बागमती) को काठमाडौंमा सभापति शेरबहादुर देउवालाई खटाएको थियो। 

यस्तै गण्डकी प्रदेशको पोखरामा तत्कालीन महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ (लुम्बिनी) को रुपन्देहीमा तत्कालीन महामन्त्री डा. शशांक कोइराला, कर्णाली प्रदेशको सुर्खेतमा तत्कालीन कोषाध्यक्ष सीतादेवी यादव र सुदूरपश्चिम प्रदेशको धनगढीमा तत्कालीन उपसभापति विमलेन्द्र निधिले जागरण अभियानको उद्घाटन गरेका थिए। 

वैशाख २५ गते सुरू भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म सञ्चालन गरिएको थियो। 

कांग्रेसले बीपी जयन्तीको अवसर पारेर २०७६ भदौ २४ बाट दोस्रो चरणको र पुष ७ गतेबाट तेस्रो चरणको जागरण अभियान सञ्चालन गरेको थियो। 

तीन चरणको जागरण अभियानका लागि कांग्रेसले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा गरी १२ भाषामा जागरण गीत तयार पारेको थियो। 

संस्थापक नेता  बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सञ्चालन गरिएको दोस्रो चरणको जागरण अभियानमा पनि कांग्रेसका केन्द्रीय नेताहरु जिल्लामा खटिएका थिए। 

जसअन्तर्गत सुनसरीमा सभापति देउवा, कास्कीमा वरिष्ठ नेता पौडेल, धनुषामा तत्कालीन उपसभापति निधि, सुनसरीमा तत्कालीन उपसभापति गच्छदार, मकवानपुरमा तत्कालीन महामन्त्री डा. कोइराला, भक्तपुरमा तत्कालीन महामन्त्री खड्का, काठमाडौंमा तत्कालीन कोषाध्यक्ष यादव र तत्कालीन सहमहामन्त्री डा. प्रकाशशरण महतलाई खटाइएको थियो। 

२०७६ भदौ २४ गते प्रारम्भ भएको दोस्रो चरणको जागरण अभियान असोज ७ गते समापन गरिएको थियो। यस्तै पुस ७ गते प्रारम्भ भएको तेस्रो चरणको जागरण अभियान पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर समापन भएको थियो। 

कांग्रेसले पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान चलाएको थियो। 

पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीका स्थानीय तहलाई सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने लगायत उद्धेश्य राखेर जागरण अभियान सञ्चालन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .