ad ad

राजनीति


कांग्रेस केन्द्रीय समितिलाई पूर्णता दिने तयारी

अब २० सदस्य मनोनयन गर्न बाँकी
कांग्रेस केन्द्रीय समितिलाई पूर्णता दिने तयारी

केशव सावद
माघ २९, २०७८ शनिबार १६:४२, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी गरेका छन्। कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिने भएका हुन्। 

१४औं महाधिवेशनबाट कांग्रेसको १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति चयन भएको छ। विधानले सभापतिलाई थप ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने अधिकार दिएको छ। 

कांग्रेस विधानको धारा २१ को उपधारा (१०) मा भनिएको छ, ‘कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्संख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्नेछ।’ 

जसअन्तर्गत सभापति देउवाले यसअघि दुई चरणमा गरी १३ जना केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन्। उनले पहिलो चरणमा गत पुस १७ गते १० र दोस्रो चरणमा पुस १८ गते ३ जना गरी १३ सदस्य मनोनयन गरेका हुन्। 

पहिलो चरणअन्तर्गत महाधिवेशनमा तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिमा प्रतिस्पर्धा गरेका नेताद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, उपसभापतिमा पराजित नेताद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला,  महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी, र मीनबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा भइसकेका छन्। 

यस्तै दोस्रो चरणमा देउवाले सभापतिमा उठेर हारेका अर्का उम्मेदवार कल्याणकुमार गुरुङ, आफ्नै समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पार्टीको केन्द्रीय सदस्य बनाएका हुन्।  

मनोनयन गरिनुपर्ने केन्द्रीय सदस्यको कूल संख्या ३३ मध्ये अब बाँकी २० जनालाई सोमबारसम्म चयन गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी गरिएको सभापति देउवाका विश्वासपात्र नेताले जानकारी दिएका छन्। 
‘सोमबारसम्म कार्यसमिति पूर्णता दिने गरी तयारी गरिएको छ’, सरकारका मन्त्रीसमेत रहेका ती नेताले शनिबार नेपालखबरसँग भने। उनले मनोनयन गरिने नेताहरूको नाम भने खुलाएनन्। मनोनयन हुन बाँकी २० जनामा १३ महिला र ७ पुरुष रहने जानकारी भने ती नेताले दिए। 

सभापति देउवाले कोषाध्यक्ष छनोट गर्न पनि बाँकी छ। कांग्रेसको विधानमा सभापतिको प्रस्तावमा केन्द्रीय समितिले कोषाध्यक्ष चयन गर्ने प्रावधान छ। विधानको धारा २१ को उपधारा (४) मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष १’ उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .