ad ad

राजनीति


एमसीसीकै कारण गठबन्धन तोड्ने विन्दुमा देउवा, विकल्प एमाले

कांग्रेसका एक पदाधिकारी भन्छन् : पाँच दलको सहकार्य करिब सकियो
एमसीसीकै कारण गठबन्धन तोड्ने विन्दुमा देउवा, विकल्प एमाले

फाइल फोटो


केशव सावद
फागुन ४, २०७८ बुधबार २२:०, काठमाडौँ

पाँच दलीय गठबन्धन तोडेर भए पनि अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढेको छ। 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई वर्तमान गठबन्धन तोडेर भए पनि एमसीसीलाई संसदबाट छिनोफानो गर्न पार्टीभित्रैबाट दबाब परेको हो। 

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले निर्णय गर्नुअघि नै कांग्रेस सांसदहरुले एमसीसीबारे छिनोफानो गर्न देउवालाई आग्रह गरेका हुन्।

उनीहरुले वर्तमान पाँच दलीय गठबन्धन तोडेर एमसीसी पारित गर्ने माहोल बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको संसदीय दलको बैठकमा आफूहरुले एमसीसीलाई जुनसुकै अवस्थामा पनि संसदबाट टुंग्याउन आग्रह गरेको एक सांसदले बताए। 

‘दलको बैठकमा एमसीसी पारित गर्नुपर्छ। त्यसका लागि कांग्रेसले जुनसुकै कदम पनि चाल्नु पर्ने सभापतिलाई भनेका छौं,’ ती सांसदले नेपालखबरसँग भने। 

जवाफमा प्रधानमन्त्री देउवाले उक्त बैठकमा एक दिन कुर्न भनेको पनि ती सांसदले सुनाए। ‘उहाँ (प्रधानमन्त्री) ले एक दिन कुर्न भन्नुभयो,’ उनले थपे।

ती सांसदले प्रधानमन्त्री देउवा सत्ता गठबन्धनले साथ नदिए पनि पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको एमसीसी टेबलका लागि प्रयासरत रहेको जिकिर गरे। 

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले साथ नदिए प्रतिपक्षी एमालेसँग मिलेर परियोजना पास गराउने तयारीमा प्रधानमन्त्री रहेको पनि ती सांसदले दाबी गरे। 

देउवाले बुधबार बसेको प्रतिनिधि सभा बैठकमै एमसीसी टेबल गर्ने तयारी गरेका थिए। त्यही अनुसार बुधबार मध्यान्ह बसेको प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा कानुन मन्त्री दिलेन्द्र बडुले एमसीसी अघि बढाउन सभामुख अग्नि सापकोटासँग प्रस्ताव गरेका थिए।

तर, बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच त्यही समयमा भएको भेटवार्तापछि एमसीसी तत्काललाई रोकियो।

त्यसअघि बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकले जबरजस्ती एमसीसी टेबल गरे सरकार छोड्ने निर्णय गरेको थियो।

नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति सुरु हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। 

छलफलमा प्रचण्डले गठबन्धनमा सहमति गरेरमात्रै एमसीसी अगाडि बढाउनु पर्ने भनेपछि बुधबारका लागि संसदमा एमसीसी टेबल हुन नसकेको अर्का एक सांसदले बताए। 

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको सहमतिअनुसार बिहीबार ३ बजे गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच छलफल हुँदैछ। 

तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेसका एक पदाधिकारी उक्त बैठकमा आफूहरुको निर्णयअनुसार अरु दल सहमत हुनेमा विश्वस्त देखिँदैनन्। 

उनले वर्तमान पाँच दलीय गठबन्धनले निरन्तरता पाउने सम्भावना लगभग समाप्त भएको प्रतिक्रिया दिए। 

‘भोलि (बिहीबार) गठबन्धनका नेताहरुको बैठक बोलाउने भन्ने छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘रातभर कुनै पहाड पल्टिँदैन। एमसीसीबारे गठबन्धनमा सहमति जुट्दैन। अरु तपाईं अनुमान लगाउनुस्।’ 

उनले एमसीसी पास गराउन कांग्रेसले जुनसुकै उपाय अवलम्बन गर्नेसमेत बताए। ‘अब सधैँ गठबन्धन भनेर बस्न जरुरी छैन। संसदबाट जसरी पनि एमसीसी अघि बढ्छ। विकल्पहरूमा सभापतिको ध्यान गएको छ,’ ती पदाधिकारीले भने। 

उनले बिहीबार गठबन्धनको बैठकअघि आफूहरुले प्रधानमन्त्री देउवासँग एमसीसीबारे थप छलफल गरेर आवश्यक सुझाव दिने पनि जानकारी दिए। 

विकल्प एमाले 
प्रतिपक्षी एमालेसँग मिलेर एमसीसी पारित गर्नुको विकल्प नभएको पनि पनि बताए। 

‘आज (बुधबार) देखिहाल्नुभयो कांग्रेस र एमाले मात्रै सडकमा थिएनन्। बाँकी सबै विरोध गर्दै सडकमा निस्किएका थिए,’ उनले भने, ‘यसको अर्थ अब गठबन्धन कता जान्छ? अनुमान गर्न गाह्रो छैन।’

उनले एमसीसी परियोजनाले देशको कायापलट हुने नभए पनि परियोजना फिर्ता जाँदा मुलुकले व्यहोर्ने घाटा पनि मनन् गर्नुपर्ने तर्क गरे। 

‘५५ अर्बले देश धेरै बन्ने त होइन। तर, त्यो रकम फिर्ता जाँदा अन्तराष्ट्रिय जगतले नेपाललाई हेर्ने दृष्टिकोण के हुन्छ?,’ ती पदाधिकारीले प्रश्न गरे, ‘कसले आएर नेपालमा लगानी गर्छ?’ 

उनले कांग्रेस लोकप्रिय भन्दा पनि लोकहितको पक्षमा उभिने पार्टी भएको जिकिर गर्दै उक्त कुरा एमसीसी पारित गर्ने कुराले दलहरुमा देखिएको विभाजनले पुष्टि गरेको पनि दाबी गरे।  

‘कांग्रेस राइट पार्टी हो। लोकप्रियभन्दा पनि लोकहितको पक्षमा उभियो,’ उनले भने, ‘एमसीसीमा देखिएको यो विवादले यसलाई पुष्टि गरेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .