राष्ट्रिय जनमोर्चाले अर्घाखाँची जिल्लाको क्षेत्र क बाहेक प्रदेशसभातर्फको उम्मेदवारी निस्क्रिय पारेको छ।
अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पाँचदलीय गठबन्धनमा भएको सहमतिअनुसार पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन्।
राजमोले प्रदेश सभामा अर्घाखाँचीको क्षेत्र क मा सागर केसीको उम्मेदवारी दिएको छ। केसी पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुन्।
यसबाहेक गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ बागलुङ १ मा अध्यक्ष चित्रबहादुर केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेलको उम्मेदवारी कायम छ।
विज्ञप्तिमा २०६२/६३ सालको संयुक्त जआन्दोलनबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गर्दै त्यो स्थितिमा देश प्रतिगमनतिर जाने, राजतन्त्र वा कुनै प्रकारको अधिनायकवादी व्यवस्था आउने खतरा औँल्याएको छ।
‘त्यसप्रकारको पृष्ठभूमिमा नै प्रतिगमन विरोधी ५ दलीय गठबन्धनको निर्माण भएको हो। प्रतिगमनको खतरा अहिले पनि विद्यमान भएकाले त्यसका विरुद्ध गठबन्धनलाई बलियो र सशक्त बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ’ अध्यक्ष केसीले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्वपूर्ण कडी हुनेछ। त्यसका लागि सम्पूर्ण देशभक्त, लोकतान्त्रिक शक्ति तथा जनसमुदायहरुले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउनु पर्दछ।’
Shares
प्रतिक्रिया