राजनीति


जसले कांग्रेसबाट प्रतिनिधिसभाको निर्वाचनमा डेब्यु गर्दैछन्

धनराजदेखि विनोद चौधरीसम्म संसद पस्ने दौडमा
जसले कांग्रेसबाट प्रतिनिधिसभाको निर्वाचनमा डेब्यु गर्दैछन्

कांग्रेसबाट पहिलो पटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरु


केशव सावद
असोज २९, २०७९ शनिबार २०:३२, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मंसिर ४ मा को निर्वाचनका लागि प्रतिनिधिसभातर्फ ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारहरु उठाएको छ। 

जसमध्ये १५ जनालाई कांग्रेसले प्रतिनिधिसभा सदस्य उम्मेदबारका रुपमा ‘डेब्यु’ गराएको छ। 

कांग्रेसले प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा ‘डेब्यु’ गराएकामा पदाधिकारीसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका नेताहरु छन्। कांग्रेसले उपसभापति धनराज गुरुङलाई स्याङ्जा–२ बाट ‘डेब्यु’ गराएको छ। 

२०७४ को निर्वाचनमा स्याङ्जा–२ बाट नेकपा एमाले नेतृ पद्माकुमारी अर्याल विजयी भएकी थिइन्। उनीसँग कांग्रेस नेता गोपालमान श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका थिए। 

श्रेष्ठ यसपालि समानुपातिकतर्फको उम्मेदवार बनेपछि कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट उपसभापति गुरुङलाई उम्मेदवार बनाएको हो। एमालेबाट यसपटक पनि नेतृ अर्याल नै उम्मेदवार छन्। 

कांग्रेसले सहमहामन्त्री किशोरसिंह राठौरलाई बाँके–३ बाट ‘डेब्यु’ गराएको छ। उनीविरुद्ध एमालेले किस्मतकुमार कक्षपतीलाई चुनावी मैदानमा उतारेको छ। २०७४ को निर्वाचनमा कांग्रेसबाट बादशाह कुर्मी र एमालेबाट नन्दलाल रोका क्षेत्री उम्मेदवार थिए। 

रोका ३१ हजार ६०१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरेका थिए। 

विनोद चौधरी

कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका बिना विभागीयमन्त्री उमेश श्रेष्ठलाई चितवन–२ मा ‘डेब्यु’ गराएको छ। यो क्षेत्रमा एमालेबाट कृष्णभक्त पोखरेललाई अघि सारेको छ। 

गत निर्वाचनमा कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी ४४ हजार ६७० मतकासाथ निर्वाचित हुँदा अधिकारीले २७ हजार ३१४५ मत ल्याएका थिए। 

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेका अर्का नेता हुन्– प्रदीप पौडेल। उनलाई कांग्रेसले काठमाडौं–५ मा ‘डेब्यु’ गराएको छ। पौडेलले प्रतिनिधिसभा सदस्यका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सामना गर्नुपर्ने छ। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेल कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई हराएर सांसद बनेका थिए। उनले २३ हजार २९ मत पाएका थिए भने महतले १३ हजार १६९ मत ल्याएका थिए। 

महत यसपाली समानुपातिकतर्फ उम्मेदवार बनेपछि कांग्रेसले तनहुँ–२ बाट उठ्न चाहेका केन्द्रीय सदस्य पौडेललाई काठमाडौं–५ मा ल्याएको हो। उनले आकांक्षा राखेको क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी उम्मेदवार छन्। 

कांग्रेसबाट नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरी पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। केन्द्रीय सदस्यसमेत रहेका चौधरीलाई कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट ‘डेब्यु’ गराएको छ। एमालेले यो क्षेत्रमा जनता प्रगतिशिल पार्टी नेपालका हृदयेश त्रिपाठीलाई सघाएको छ। 

उनी २०७४ मा एमालेको चुनाव चिन्ह सूर्यबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। त्रिपाठी ३८ हजार ५९२ मतसहित निर्वाचित हुँदा कांग्रेसका देवकरण प्रसाद कलवारले ३३ हजार ५९१ मत प्राप्त गरेका थिए। 

उमेश श्रेष्ठ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर विश्वनाथ पौडेलले चितवन–१ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा ‘डेब्यु’ गरेका छन्। यहाँ एमालेबाट उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। 

उनी २०७४ मा कांग्रेस नेता राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए। ५१ हजार ८० मतका साथ पाण्डे विजयी हुँदा बुर्लाकाटीले ३५ हजार ३६० मत पाएका थिए। 

कांग्रेसले काठमाडौं–३ मा सन्तोष चालिसेलाई पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ। यहाँ उनको एमाले नेता कृष्णबहादुर राईसँग प्रतिष्पर्धा हुँदैछ। 

गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट एमाले राई विजयी भएका थिए। कांग्रेस नेतृ अम्बिका बस्नेत दोस्रो र विवेकशील साझाकी सुमित्रा सिंह लामा तेस्रो भएका थिए।

यस निर्वाचन क्षेत्रबाट एमालेका राई १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत र विवेकशील साझाकी लामाले २ हजार २०५ मत पाएका थिए।

कांग्रेसले इलाम जिल्ला कार्यसमिति सभापति डम्बर खड्कालाई पनि ‘डेब्यु’ गराएको छ। उनलाई कांग्रेसले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो। यहाँ एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। 

२०७४ मा उनी कांग्रेसका केशव थापालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै सांसद बनेका थिए। नेम्वाङ ३६ हजार ५१७ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा थापाले २६ हजार ८६५ मत पाएका थिए। 

प्रदीप पौडेल

कांग्रेसका तर्फबाट पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नेमा मोहम्मद फिरदोस आलम पनि पर्दछन्। उनलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले रौतहट–२ बाट ‘डेब्यु’ गराएको छ। 

यो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालले शैलेन्द्र शाहलाई उम्मेदवार बनाएको छ। आसन्न निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ। 

२०७४ को निर्वाचनमा रौतहट–२ बाट कांग्रेस नेता मोहम्मद आफताब आलम विजयी भएका थिए। 

उनी १८ हजार ८३३ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादी फोरमका किरणकुमार साह १६ हजार ८६५ मत प्राप्त गरेर दोस्रो भएका थिए। 

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे पनि सिन्धुली–१ बाट पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन्। यहाँ एमालेले प्रदीपकुमार कटुवाल क्षेत्रीलाई उठाएको छ। 

२०७४ को निर्वाचनमा एमाले उम्मेदवार गणेशकुमार पहाडी विजयी भएका थिए। उनीसँग कांग्रेसका तर्फबाट प्रेमचन्द्र दाहालले प्रतिष्पर्धा गरेका थिए। 

कास्की क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार किशोरदत्त बरालसहित गठबन्धनका उम्मेदवारहरु

कांग्रेसका तर्फबाट पाल्पा–१ मा ज्ञानबहादुर गहाले उम्मेदवारका रुपमा ‘डेब्यु’ गरेका छन्। यहाँ एमालेले नारायणप्रसाद आचार्यलाई चुनावी प्रतिष्पर्धामा उतारेको छ। 

गत निर्वाचनमा एमालेबाट दलबहादुर राना ३२ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनीसँग कांग्रेसबाट प्रतिष्पर्धामा उत्रिएका विजयराज घिमिरेको २३ हजार ९९३ मत आएको थियो। 

कांग्रेसले भक्तपुर जिल्ला कार्यसमिति सभापति दुर्लभ थापालाई पनि ‘डेब्यु’ गराएको छ। उनले भक्तपुर–२ बाट उम्मेदवारका रुपमा ‘डेब्यु’ गरेका हुन्। यहाँ एमालेका तर्फबाट महेश बस्नेत उम्मेदवार छन्। 

गत निर्वाचनमा उनी कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतले पछि पार्दै विजयी भएका थिए। बस्नेत ३६ हजार ४१२ मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा ढुंगानाले १८ हजार ६८७ मत पाएका थिए। 

कांग्रेसले कास्की जिल्ला कार्यसमिति सभापति किशोरदत्त बराललाई पनि उम्मेदवारका रुपमा ‘डेब्यु’ गराएको छ। उनी कास्की–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएका हुन्। यहाँ एमालेबाट मनबहादुर गुरुङ चुनावी प्रतिष्पर्धामा छन्। 

गत निर्वाचनमा कास्की–१ बाट एमाले नेता खगराज खगराज अधिकारी विजयी भएका थिए। उनीविरुद्ध कांग्रेसले यज्ञबहादुर थापालाई उम्मेदवार बनाएको थियो। अधिकारीले ३९ हजार २४२ र थापाले २५ हजार ८२६ मत पाएका थिए। 

बाँके–२ बाट सुदीपनरसिंह राणाले ‘डेब्यु’ गरेका छन्। यहाँ एमालेबाट सूर्यप्रसाद ढकाल पनि चुनावी प्रतिष्पर्धामा छन्। यस्तै जसपाबाट मोहम्मद ईश्तियाक राई उम्मेदवार छन्। 

गत निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए। उनले २१ हजार ५७५ मत पाएका थिए। राईका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार पशुपति दयाल मिश्राले १५ हजार ९५१ मत ल्याएका थिए।  

कांग्रेसले मुस्ताङबाट योगेश गौचनलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ। एमालेले यहाँ निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई दोहोर्याएको छ। 

२०७४ को निर्वाचनमा उनी कांग्रेस नेता रोमी गौचन थकालीलाई पराजित गर्दै विजयी भएका थिए। तुलाचन ३ हजार ५४४ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा थकालीले ३ हजार १८१ मत प्राप्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .