ad ad

राजनीति


सर्वाधिक मतअन्तरको इतिहास बनाउने दाउमा प्रचण्डको गोरखा ‘मुभ’

सर्वाधिक मतअन्तरको इतिहास बनाउने दाउमा प्रचण्डको गोरखा ‘मुभ’

वाशुदेव मिश्र
कात्तिक १, २०७९ मंगलबार २१:२६, पोखरा

प्रचण्डले कुनैबेला भनेका थिए, ‘हामी हाँस्दाहाँस्दै रोएका छौँ। रुँदारुँदै हाँसेका छौँ।’

प्रचण्डसँग यस्ता अनुभूतिको कयौँ किस्सा रहेको माओवादी कार्यकर्ताहरु बताउँछन्। उनीहरु भन्छन्, ‘विषम परिस्थितिमा पनि सम्हालिन सक्ने र नयाँ ‘मुभ’बारे सोचिहाल्ने अध्यक्षको बानी छ।’

भूमिगत स्थिति र सशस्त्र द्वन्द्वको कुरा छाडौँ, खुला राजनीतिमा आएपछि पनि प्रचण्डले त्यस्तो स्वभाव देखाउँदै आएका छन्। अप्ठेरो पर्दा सम्हालिने, सम्झौता गर्ने र नयाँ रणनीतिसाथ अगाडि बढ्ने स्वभावकै कारण उनी राष्ट्रिय राजनीतिको केन्द्रमा छन्।

२०७० सालमा खुम्चिएको माओवादीलाई बौराएर २०७४ सालयता संसदीय अंकगणितमा ‘महत्वपूर्ण शक्ति’ बनाउनुमा उनको त्यही स्वभावले काम गर्दै आएको छ। मंसिर ४ गतेको चुनावपछि जुनसुकै बेला पनि प्रधानमन्त्री बन्ने सम्भावना बोकेका यी नेता अहिले चर्चाको शिखरमा छन्। कारण, भर्खरै चितवनमा बनाएको ‘नयाँघर’मा सुत्न छाडेर प्रचण्ड चुनावी प्रतिस्पर्धाको लागि गोरखा उक्लिएका छन्। 

कुनैबेला सामन्तवादको किल्ला देख्ने गोरखा दरबारको भ्रमण गरेका छन्। प्रचण्डको ‘मुभ’प्रति छोरी रेणुले ‘स्तब्ध, चितवनवासीका लागि दुर्भाग्य!’ भन्दै प्रतिक्रिया जनाए पनि स्वयं प्रचण्ड भने गोरखाबाट सुरक्षित हुने र इतिहास बनाउने दाउमा देखिएका छन्।

मोदीलाई वाराणसी गंगाले बोलाइन्, प्रचण्डलाई शहीदको रगतले गोरखा

गएको वैशाखमा सम्पन्न स्थानीय चुनावमा ५ दलीय गठबन्धन एकातिर र एमाले अर्को कित्तामा उभिए। तर, गोरखाको हकमा भने गठबन्धनले काम गरेन। माओवादी केन्द्रले जनयुद्धको उद्गमस्थलमा बढी भाग खोज्ने, अघिल्लो निर्वाचन परिणामको आधारमा बलियो देखिएको नेपाली कांग्रेस छाड्न नमान्ने! अन्ततः त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको वातावरण बन्यो। 

र, बाजी माओवादीले मार्यो। माओवादी २ नगरपालिकासहित ९ स्थानीय तह प्रमुखमा विजयी हुँदा २०७४ सालमा ९ पालिकाको नेतृत्व गरेको कांग्रेस २ पालिका प्रमुखमा समेटियो। त्यो चुनावको झल्को नमेटिँदै मंसिर ४ को संघीय र प्रदेश चुनावले गोरखालाई छपक्कै छोपेको छ। 

पाँच दलीय गठबन्धन भत्केको छैन, उत्साहित माओवादी कार्यकर्ताको मनोबल झन चुलिएको छ। कारण, गोरखा क्षेत्र नम्बर २ रोजेका अध्यक्ष प्रचण्डलाई पूर्वमाओवादी नेता डाक्टर बाबुराम भट्टराईले साथ जो दिएका छन्!

२०७४ सालको संघीय चुनावका प्रतिस्पर्धी तथा पूर्वसहकर्मी डा. भट्टराई र हालका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ लगाएर प्रचण्ड गोरखा उक्लिनुको अर्थ उनी त्यहाँ ‘सुरक्षित’ छन्। 

२०७४ सालको चुनावमा कांग्रेसको साथ पाएर नारायणकाजीलाई ६ हजार ८०७ मतान्तरले हराएका बाबुराम त भइहाले, कांग्रेस पनि अहिले प्रचण्डकै साथमा छ। गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा. भट्टराईको पक्षमा ३१ हजार ८०७ मत परेको थियो भने श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए। सत्य के हो भने श्रेष्ठको भागमा एमालेको मत पनि मिसिएको छ। त्यसअघिको २ चुनावमा डा. भट्टराई सो क्षेत्रबाट भारी मतअन्तरले विजयी हुँदै आएका थिए।

गोरखा २ मा प्रचण्डसहित ११ जना चुनावी मैदानमा छन्। एमालेले केही समयअघि पार्टी प्रवेश गरेका २९ वर्षीय अब्दुस सलाम मियाँदेखि नेपाली कांग्रेस बीपीका ९९ वर्षीय टीकादत्त पोखरेलसम्मको उम्मेदवारीले प्रचण्डलाई खासै फरक नपर्ने आकलन गरिएको छ। भावी प्रधानमन्त्रीको रुपमा हेरिएका प्रचण्डको गोरखा २ आगमनले उत्साहित माओवादी र बलियो शक्ति कांग्रेस तथा बाबुरामको साथले त्यहाँ प्रचण्ड साँच्चिकै बलिया देखिएका छन्।

गोरखाको क्षेत्र नम्बर २ मा गोरखा नगरपालिकाका ८ देखि १४ वडा तथा पालुङटार, सिरानचोक, सुलीकोट र अजिरकोट गाउँपालिका पर्छन्। वैशाखमा सम्पन्न स्थानीय चुनावमा गोरखा नगरपालिका वडा नम्बर ८ मा माओवादीले ७१९, कांग्रेस ७२२, एमाले ३२४ र जनता समाजवादीको २५९ मत आएको थियो भने वडा नम्बर ९ मा कांग्रेस ६०१, माओवादी ५४६,जसपा २९९ र एमाले १२६ मत।

यस्तै, १० नम्बर वडामा कांग्रेसले ८६४, एमालेले ५१५ र जसपाले २१० मत प्राप्त गरेको थियो। वडा नम्बर ११ मा माओवादी ३९०, एमाले ३७०, कांग्रेस ३६९ र जसपा ३०२ मतको हिस्सेदार बन्दा वडा नम्बर १२ मा कांग्रेसको ७९३, माओवादीको ६४३ र एमालेको ४९ मत आएको थियो।

वडा नम्बर १३ मा कांग्रेसको ६३२, जसपाको ६२८ र एमालेको १८९ मत थियो भने वडा नम्बर १४ मा माओवादीको ६७७, कांग्रेसको ३१३ र एमालेको २३५ मत थियो। जनता समाजवादीको मत गठबन्धनकै पक्षमा आउँछ भन्ने मान्ने हो भने यहाँ प्रचण्डको पक्षमा ८ हजार ९६७ मत छ। स्थानीय निर्वाचनको मत परिणामले यहाँ एमालेको पक्षमा १ हजार ८३८ मत मात्रै भएको देखाएको छ। 

सो क्षेत्रमा रहेका पालिकामध्ये अजिरकोटको अध्यक्षमा माओवादीका दीपक देवकोटा विजयी भएका छन्। उनको पक्षमा ३ हजार ७८७, प्रतिस्पर्धीहरु कांग्रेसका गोविन्दबहादुर गुरुङलाई ३ हजार २८९ र एमालेकी गीताकुमारी योगीलाई ३५५ मत खसेको थियो। 

सिरानचोकमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतसहित विजयी हुँदा माओवादीका नवराज पुडासैनीले ४ हजार १६८ र एमालेका देवराज श्रेष्ठले १ हजार ५४५ मत ल्याएका थिए भने बारपाक सुलीकोटमा माओवादीका विष्णुप्रसाद भट्टले ५ हजार ७१९ र कांग्रेसका जीतबहादुर घले ४ हजार ५७५ मत ल्याउँदा एमालेका हरिबहादुर बस्नेतले ५२२ मत ल्याएका थिए।

यता, बाबुरामको गृहक्षेत्रमा रहेको पालुङटारमा माओवादीका अध्यक्ष विवश चिन्तनले ६ हजार ७२ मत ल्याउँदा जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ र कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ९१७ मत आएको थियो। ती सबै ठाउँको मत जोड्ने हो भने सत्ता गठबन्धनको पक्षमा ४० हजार ६८६ मत हुन आउँछ। 

यस हिसाबले सत्ता गठबन्धनको पक्षमा करिब ५० हजार मत देखिए पनि पालुङटारमा एमालेको सहयोग माओवादीलाई नै थियो भने साना दलहरुले पनि केही मात्रामा मत प्राप्त गरेका थिए। प्रचण्ड यो पटक गोरखाबाट सर्वाधिक मतअन्तरसहित विजयी हुन चाहन्छन्। २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट डा.भट्टराईले सर्वाधिक मतअन्तरसहित निर्वाचित भएको इतिहास बदल्ने उनको चाहना छिपेको छैन। 

२०७४ सालको निर्वाचनमा दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङले ३० हजार १५३ मतअन्तरको रेकर्ड राखेका थिए। अहिले पार्वत मैदानबाहिर छन्। 

स्थानीय चुनावमा स्थानीय मुद्दा र व्यक्तिको प्रभावले काम गर्छ। संसदीय निर्वाचन त्योभन्दा फरक हुन्छ। यसरी हेर्दा सत्ता गठबन्धन बलियो देखिए पनि हिजोका सबै मत त्यहीँ खस्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। कांग्रेसका असन्तुष्टहरुको मत तान्ने आकलन गरिएका बीपी कांग्रेसका टीकादत्त र भर्भराउँदा युवा अब्दुस प्रचण्डको कीर्तिमान कायम गर्ने चाहनामा चुनौती बन्नसक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .