ad ad

राजनीति


स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहल मच्चाए : आयुक्त भण्डारी

स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहल मच्चाए : आयुक्त भण्डारी

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १९:८, काठमाडौँ

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरुले कोलाहल मच्चाउन आवश्यक नरहेको बताएका छन्। 

गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने बताए।

आयुक्त भण्डारीले भने,  ‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निजविरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेश गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो।’ 

उनले त्यसपछि मात्रै आचारसंहिता उल्लंघनकर्तालाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निर्णय मात्र अन्तिम निर्णय भएकाले यसलाई राम्रोसँग बुझ्न आग्रह गरे।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उनले बताए। निर्वाचन आयोगले संविधान, कानून, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउनुहुँदै आयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन लागू गरिने बताए।

सामाजिक सञ्जालमार्फत प्रवाह हुनेसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्ता अभिव्यक्तिलाई सञ्चारमाध्यमले स्थान दिन नहुने उनले बताए।

यही कात्तिक १७ पछि जब राजनीतिक दलले आमसभा, कोणसभा, भेला, र्‍याली, गोष्ठी तथा सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न थाल्नेछन् त्यसपछि आचारसंहिता उल्लंघनका घटना बढ्न सक्ने भएकाले सञ्चारमाध्यम चनाखो भएर रिर्पोटिङ गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .