ad ad

राजनीति


सुनील शर्मा र भानुभक्त ढकालको टाउको दुखाइ बन्दै रेखा थापा

सुनील शर्मा र भानुभक्त ढकालको टाउको दुखाइ बन्दै रेखा थापा

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ७:३४, मोरङ

आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ चर्चामा छ। यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य, पूर्वमन्त्री भानुभक्त ढकाल, नेपाली कांग्रेसका महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनील शर्मा र राप्रपा नेतृ तथा नायिका रेखा थापाबीच प्रतिस्पर्धा हुँदैछ। 

मोरङ क्षेत्र नं. ३ मा २०७४ सालको  चुनावमा एमालेका स्थायी कमिटी सदस्य  ढकाल र कांग्रेसका नेता शर्माबीच कडा प्रतिस्पर्धा भयो।

एमालेको गढ मानिने यस क्षेत्रमा अघिल्लो चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार ढकालले १ हजार ९०७ मतले मात्रै शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए ।

यस पटक पनि प्रतिनिधिसभा निर्वाचनमा उनै ढकाल र शर्मा प्रतिस्पर्धीका रुपमा दोहोरिएका छन्। यी दुईको कडा टक्कर हुने विश्लेषण भइरहेका बेला चुनावी प्रतिस्पर्धामा रेखा थापाको प्रवेशले चुनावी माहोल तताएको छ।

मुख्य प्रतिस्पर्धी शर्मा र ढकालका लागि राप्रपाकी उम्मेदवार रेखा थापा टाउको दुखाइको बिषय बनेकी छिन्। कारण, थापाको सक्रियता र बढ्दो चर्चा।

थापाको बढ्दो सक्रियताले क्षेत्र नं ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ। ढकाल र शर्माको तुलनामा थापाको घुलमिल स्थानीयसँग बढी देखिएको छ, जुन आत्मीयता शर्मा र ढकालले स्थानीयसँग साटासाट गर्न सकेका छैनन्।

अघिल्लो चुनावदेखि नै ढकालले प्रतिस्पर्धी शर्मालाई ‘गैरराजनीतिक व्यक्तित्व’ र शर्माले तेह्रथुम घर भएका ढकाललाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै कटाक्ष गरिरहेका छन् ।

जन्मथलो यही क्षेत्रमा भएकी स्थानीयवासी अभिनेत्री थापाले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकाललाई पनि चुनौती थपिने देखिएको छ ।

स्थानीयबासीले ढकाल र शर्माको विकल्पका रुपमा थापालाई हेरेको देखिन्छ। थापाले स्वास्थ्य, शिक्षा निःशुल्क, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, तटबन्ध, विकास निर्माण, यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुलाई चुनावी मुद्दा बनाएकी छन्।

यो निर्वाचन क्षेत्रमा राप्रपाको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आश छ। चलचित्र क्षेत्रमा कमाएको ख्यातीले रेखालाई सजिलो भएको छ। उनको घरदैलोमा अभिनेतृको क्रेजले पनि भीड लाग्ने गरेको छ। उनलाई कांग्रेस र एमालेबाट भड्किएको मत आउने देखिन्छ। 

कांग्रेस उम्मेदवार शर्माले सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायलाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटान समस्या जस्ता विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

अघिल्लो चुनावमा सुकुम्बासी समस्या समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएका एमाले उम्मदेवार ढकालले संसदमा समेत आवाज नउठाएको भन्दै सुकुम्बासी समुदाय रुष्ट छन्। ढकालले भने आफ्नो पार्टीले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर सुरु गरेको कामलाई गठबन्धनको सरकारले निरन्तरता दिँदै आएकाले अब चाँडै स्थायी समाधान पाउने दाबी गरेका छन्। तर, ढकालले क्षेत्र नं. ३ मा अपेक्षित काम गर्न नसकेको स्थानीयवासीको आरोप छ। 

अघिल्लो निर्वाचनमा एक ढिक्का देखिएको कांग्रेस यसपटक एक देखिएको छैन भन्दा फरक पर्दैन। कांग्रेसको महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको असन्तुष्टि अझै जारी छ।

सुनील शर्मालाई यस पटक बागी उम्मेदवार र पार्टीको संस्थापन पक्ष नै भारी हुने देखिएको छ। यद्यपि शर्मा भने आफ्ना प्रतिद्वन्दी एमालेका भानुभक्त ढकाललाई दोब्बर मत ल्याएर हराउने दाबी गर्छन्। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ढकाललाई आफूले ६० हजार मत ल्याएर जित हासिल गर्ने बताए।  

१४ औं महाधिवेशनदेखि कांग्र्रेसभित्र उत्पन्न्न भएको देउवा–कोइराला समूहबीचको अन्तरद्वन्द्व निर्वाचनको मुखमा साम्य हुँदै गएको शर्मा दाबी गर्छन्। तर, कोइराला समुहमा रहेका शर्मालाई उनकै समुहले पछिल्लो समय घात गरेको चर्चा मोरङमा छ।

शर्माले आफ्नो समुहलाई व्यवस्थापन गर्न नसक्दा उनी निकट धेरैले पार्टी परित्याग गरेका छन् भने केहीले बागी उम्मेद्वारीसमेत दिएका छन। शर्माको पकड पार्टीभित्र कमजोर हुँदै गएको देखिन्छ। 

पूर्वस्वास्थ्यमन्त्री तथा कानुनमन्त्री भानुभक्त ढकालले जनताको गुनासोलाई अत्यन्त महत्वका साथ लिएको बताउँछन्। अघिल्लो निर्वाचनपछि जनतामा नआएको भनेर ढकालको टीका टिप्पणी हुने गरेको छ। 

ढकाल भन्छन्, ‘जोसुकै नागरिकले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँगै यही निर्वाचन क्षेत्रमा बसिदिए हुन्थ्यो भनेर सोच्नु, नजिकै हुन पाए हुन्थ्यो, आफ्ना कुरा सिधासिधी राख्न पाए हुन्थ्यो भन्नुलाई स्वाभाविक रूपमा लिएको छु। तर, नागरिकले के बुझ्नुभएको छ भने राजकीयरूपमा काम गरेको व्यक्ति अलि व्यस्त हुन्छ। कानुन निर्माणको काममा लाग्नुपर्छ भन्ने पनि उहाँहरूलाई थाहा छ।’

‘हाम्रो मान्छे हो, घुलमिल भएन, पहुँच पुगेन भन्ने नागरिकका गुनासाहरू आएका थिए त्यो सम्बोधन हुँदै गएका छन्। मबाट भएका केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्नुपर्छ, गर्छु,’ ढकालले भने, मतदाताले यो मान्छे इमान जमानको मान्छे हो भनेर राम्रोसँग बुझ्नु भएको छ। नागरिकले मेरा बारेमा पनि राम्रो बुझ्नुभएको छ र मैले पनि नागरिकका समस्यालाई राम्रोसँग बुझेको छु।’

राप्रपा नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताउ्रँछिन्। रेखाले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने दाबी गर्छिन्।

यसअघि जितेका जनप्रतिनिधिले यस क्षेत्रको विकासका लागि सिन्को पनि नभाँचेकाले गलत परम्परा तोड्नका लागि आफू चुनावी मैदानमा खडा भएको थापाले बताइन्।

आफूले जितेको खण्डमा आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने थापा बताउँछिन्।

यस क्षेत्रमा ९ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा जिल्लाका ६ वटै क्षेत्रमध्ये सबभन्दा बढी १ लाख ४९ हजार ८ सय ३३ मतदाता छन्। 

क्षेत्र नं. ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नं ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ।

बेलबारी नगरपालिकाको उपप्रमुख बाहेक एमालेले तीन पालिकाको प्रमुख–उपप्रमुख सहित बहुमत वडाध्यक्ष जितेको छ। वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ। एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ।

एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ। एउटा वडा स्वतन्त्रले जितेको छ। क्षेत्र नं.३ मा माओवादीले ७ हजार तीन सय ७३, राप्रपाले २ हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १ हजार ८५५ मत ल्याएका थिए। वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ।

वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारूढ गठबन्धन एमाले भन्दा ८ हजार ४ सय १४ मतले अगाडि देखिन्छ।

(तेजन खड्काको सहयोगमा) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .