ad ad

राजनीति


अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

मधुकर अधिकारी
कात्तिक ९, २०७९ बुधबार १८:६, वासिङटन डिसी

अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ। त्यसमाथि वैधानिक तबरले ग्रिन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ। यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छ्याउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन्।

कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका १२ भन्दा बढी जना अमेरिकाको विभिन्न एकाइका निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी छ। उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धा गर्नुहुनेमा मेरिल्यान्ड राज्यको डिस्ट्रिक ८ बाट मेरिल्यान्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुन निर्वाचनमा होमिएका डा ह्यारी भण्डारी र न्युयोर्क राज्यको डिस्ट्रिक १०३ बाट न्युयोर्क स्टेट एसेम्बलीका लागि सहना श्रेष्ठ छन्। भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीका तर्फबाट आधिकारिक उमेदवार बनेका हुन्। सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरी एउटा अलग्गै इतिहास रच्न सफल भएकी छन्। 

सन् २००१ मा अध्ययनका लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ। उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी थिइन्। सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जित हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीका तर्फबाट आगामी नोभेम्बर ८ तारिखका लागि निर्वाचनमा होमिएकी छन्। भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन्। 

उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीका तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका हुन्। भण्डारी मेरिल्यान्डको जनरल एसेम्बलीमा आफनो चारवर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन्। सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ।

उनको निर्वाचन क्षेत्र पर्पल डिस्ट्रिक अर्थात् डेमोक्र्याट र रिपब्लिकन पार्टी दुवैले जित हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्य भएको क्षेत्र हो। यसले गर्दा मतदाताले उमेदवारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन्। भण्डारी आफनो निर्वाचन क्षेत्रमा आफ्नो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन्। उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिबद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए। यसले उनको लागि सकारात्मक वातावरण बनेको छ। उनको क्षेत्र ३ जनाले प्रतिनिधित्व गर्छन्। 

भण्डारी भन्छन्, ‘मैले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु। करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरु मेरो क्षेत्रमा निर्माणाधीन छन्।

मेरिल्यान्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एन्ड सरकार सञ्चालन कमिटिमा बसेर काम गरेका भण्डारी आफनो चारवर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन्। उनी भन्छन्, ‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्‍यौं। यसले मेरिल्यान्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल साबित गराउन सफल पनि भयो। महामारीको बेला गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम गर्‍यौँ।’

उक्त समितिमा बसेर लङ टर्म केयर, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफ्नो कार्यकाल सफल भएको भण्डारीको भनाइ छ। 

नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको उल्लेख गर्दै उनी भन्छन्, ‘कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँ।’

नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका भण्डारीले कोरोना महामारीको बचमा एक हजार पाँच सय नेपालीको बेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए। भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायका रुपमा नआएको उल्लेख गर्दै राजनीतिक/सामाजिक एकीकरणका पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन्।

भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुम निर्माणका लागि ५ लाख ५० हजार डलर बराबरको रकम लेजिस्लेटिभ बन्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन्। सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उमेदवार बाराक ओबामाको चुनावी अभियानमा स्वयंसेवक बनेका भण्डारी यो १४ वर्षमा धेरै कुरामा पहुँच राख्न सफल भएका छन्। 

मेरिल्यान्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत भण्डारी अपराह्न ३ बजेसम्म कक्षाकोठामै विद्यार्थीलाई अध्यापन गराउँछन्। उनी भन्छन्, ‘मैले आफनो पेसालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टिममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु।’

भण्डारी दोस्रो कार्यकालका लागि उमेदवार बनेका छन्। उनले यसपटक जित हासिल गरेको खण्डमा दोस्रो कार्यकाल अमेरिकाको मूलधारको राजनीतिमा विजय हुने उनी एक मात्र व्यक्ति हुनेछन्।

उता सहना श्रेष्ठले न्युयोर्कको १०३ नम्बरको डिस्ट्रकमा डेमोक्र्याट पार्टीको दुई दशकदेखि प्रतिनिधित्व गरिरहेका बहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा हराएकी हुन्। उनको पहिलोपटकको राजनीतिक यात्राले नै नयाँ उचाइ हासिल गर्न सकेको छ। पर्यावरण क्षेत्रमा काम गर्ने श्रेष्ठले आफनो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेकी छन्। उनी ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएकी छन्। यी नारा तय गर्नुमा आफ्नो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउँछिन्।

उनले भनिन्, ‘यो न्युयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नुपरेको छ। यसलाई मैले मुख्य मुद्दा बनाएको छु। मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरु निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो । यसका लागि कतिपय विलहरु बनाउनुपर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ।’

उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश छन्। उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेन्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेकी छन्। उनीलगायत न्युयोर्क राज्यका चार एसेम्बली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुर्‍याएको छ। 

सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी थिइन्। सहना भन्छिन्, ‘मैले उमेदवार हुने सोच बनाएको एक वर्ष भयो। यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ।’

उनी आफ्ना पतिसहित न्युयोर्कको हडसन भ्यालीमा बस्छिन्। उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिस्टम अफ अमेरिको सहअध्यक्षसमेत छिन्। श्रेष्ठ भन्छिन्,‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो।’

यसपटकको निर्वाचनमा दुई जना मात्र निर्वाचनको मैदानमा भए पनि विगत वर्षहरुमा अनेकन राज्यमा नेपालीहरुले उम्मेदवारी दिइरहेका छन्। तर अहिलेसम्म सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैंनन्। यसरी अमेरिकाको राजनीतिमा होमिनेहरु दर्शन रौनियारले सन् २०१२ मा वासिङटन स्टेटको कंग्रेसनल डिस्ट्रिक १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए तर उनले प्राईमेरी निर्वाचनमा नै पराजय भोग्नुपर्‍यो।

यसैगरी टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिस्ट्रिक ९२ वाट उमेदवार बनेका दिनेश शर्माले पनि यस पटक प्राइमेरी निर्वाचनमा हारको सामना गर्नुपर्‍यो। नेपाली अमेरिकन मतदाताहरुको राम्रो मत भएको स्थानमा पनि शर्माले जित हासिल गर्न सकेनन्। राज्य तहको निर्वाचनबाहेक स्थानीय तहको निर्वाचनमा भने नेपालीले जित हासिल गरेका छन्। भर्जिनियाको हरडनको काउन्सिल मेनका रुपमा प्रदीप ढकाल कार्यरत छन्। यसैगरी मेरिल्यान्ड राज्यको इन्डियाना हेड सिटीको भाइस मेयरका रुपमा किरण सिटौलाले काम गरिरहेका छन्। उता कनेक्टिकट राज्यको वेडफर्डमा काउन्सिल मेनका रुपमा राम श्रेष्ठले काम गरिरहेका  छन्।

यसैगरी टेक्सासमा रहेको युलेस सिटीको काउन्सिल सदस्यको रुपमा टीका पौडेलले गत वर्ष भएको निर्वाचनमा विजय प्राप्त गरेका थिए। यस्तै ओहायो राज्यमा रहेको भुवन प्याकुरेलले काउन्सिल सदस्यका रुपमा काम गरेका छन्। प्याकुरेल भुटानी अमेरिकन हुन्। प्याकुरेल आप्रवासन पुनस्थापना अन्तर्गत अमेरिका आइपुगे। उनले ओहायो राज्यमा सिटी काउन्सिलमा विजय हासिल गरेका छन्। प्याकुरेल नेपाली भाषीको सेवामा आफूले काम गरेको बताउँछन्। 

टेक्सासमा नै मोहन ज्ञवालीले सिटी काउन्सिल सदस्यमा उमेदवारी दिएका थिए तर हारे। अमेरिकामा रहेका नेपालीहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिमा होमिएका छन्। यसले गर्दा यहाँको मूलधारको राजनीतिमा नेपालीहरुको सहभागिता वृद्धि भएको छ। सन् २०१८ को हयारीको निर्वाचनमा विजयी गराउन नेपालीहरुको फर्सिको मुन्टाको डिप्लोमेसीले काम गरेको थियो।

यसअन्तर्गत नेपाली अमेरिकनहरुले आफनो घरको करेसाबारीमा फलेका हरिया सागसब्जी आफ्ना छिमेकीहरुलाई दिएर भावनात्मक रुपमा नजिकका साथी बनेका थिए। कतिपय अवस्थामा त्यस्ता छिमेकीहरुले समेत मतदानमा भाग लिएर मत दिएका थिए। यसैले यहाँका स्वतन्त्र अध्येताहरु फर्सिको मुन्टा डिप्लोमेसीको रणनीति चुनावी अभियानमा फलदायी भएको बताउँछन्।
टेक्सासमा बसेर वित्तीय साक्षरता अभियानमार्फत समुदायलाई सहयोग गर्दे आएका गगन केसी अमेरिकाको राजनीतिमा बढीभन्दा बढी सहभागिताको खाँचो रहेको बताउँछन्। कतिपय विषयमा कानुन, विधिविधान र अधिकारको बारेमा जानकारी लिन पनि राजनीतिक सहभागिताको खाँचो रहेको उनी बताउँछन्। 

नेप्लिज अमेरिकन एलायन्स फर एक्सनका उपाध्यक्ष अर्जुन हमाल अझै नेपाली अमेरिकीले यो मूलधारको राजनीतिमा सक्रिय सहभागिता जनाउन नसकेको बताउँछन्। उनी थप्छन्,‘हामीले एक जना डेलिगेट निर्वाचित गर्दा त सरकारी सेवा, सुविधामा यस्तो पहुँच स्थापित गराउन सफल भएका छौंँ भने अझ धेरै निर्वाचित प्रतिनिधि भएको खण्डमा धेरै काम गराउन सकिन्छ।’

टेक्सासमा रहेका टीका पौडेलको चुनावी अभियानमा खटिएका नेपाल–अमेरिका पत्रका सङ्घ नेजाका अध्यक्ष विकासराज न्यौपाने अमेरिकाको स्थानीय तहको सरकार सञ्चालनको प्रक्रिया सिक्न स्थानीय तह, राज्य स्तरका लागि राज्य तहको र सङ्घीय सरकारका लागि कंग्रेस सिनेटको अभियानमा सहभागी हुनु पर्ने बताउँछन्। न्यौपाने भन्छन्, ‘अमेरिकाको राज्य सञ्चालनबारे बुझ्न निर्वाचनमा होमिनुभएकाहरुलाई हरेक तबरले सहयोग गर्नु पर्ने हामीहरुको दायित्व पनि हो।’

अमेरिकामा राजनीति गर्न महत्त्वपूर्ण पाटो आर्थिक पक्ष हुन्छ। आफ्ना तल्लो एकाइका नागरिकले दिने चन्दा, स्थानीय सङ्घ/संस्थाले दिने चन्दा र कर्पोरेट चन्दाका आधारमा उमेदवारको क्षमता मापन गरिन्छ। यसरी उठाइएको चन्दाको महत्त्वपूर्ण हिस्सा आफ्नो एजेन्डा समेटेर पठाइने चिठी र पर्चाहरुमा बढी खर्च हुन्छ। यसैगरी डिजिटल विज्ञापन र कार्यालय व्यवस्थापनका लागि समेत सोही चन्दाका आधारमा खर्च गर्नुपर्ने हुन्छ।  यसरी सङ्कलन गरिएको रकम, व्यक्तिको विवरण र खर्चसमेत सम्बन्धित राज्यको निर्वाचन कार्यालयमा हरेक तीन/तीन महिनामा बुझाउनुपर्ने हुन्छ।

कुन राजनीतिज्ञलाई कसले, के कति सहयोग गरे र उनीहरुले के-के शीर्षकमा खर्च गरे भन्ने जानकारी मतदाताले पाउँछन्। आर्थिक पक्षको पारदर्शितालाई यहाँ प्रजातन्त्रको महत्वपूर्ण आधारशीलाका रुपमा लिने गरिन्छ। सन् २०२० को राष्ट्रपतिको चुनावलाई आधार मानेर यस चुनावलाई मध्यावधी चुनाव भनिन्छ। अमेरिकाको राजनीतिमा यस्तो चुनाव दुई वर्षअघि राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपतिले गरेका काम/कारबाहीलाई नागरिकले कसरी हेरेका छन् भनेर गरिने जनमतसङ्ग्रह पनि हो।

आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा ३४ सिनेटर, ४३५ कंग्रेस मेन र ३६ वटा राज्यको गभर्नरका लागि निर्वाचन हुने भएको छ। यसैगरी कतिपय राजयका जनरल एसेम्बली, काउन्टी एक्जुकेटिभलगायत स्थानीय निकायमा सरकार सञ्चालन गर्ने पदाधिकारीको निर्वाचन हुनेछ। अमेरिकाको राज्य सञ्चालनमा स्थानीय, राज्य र सङ्घीय गरेर तीन तहको सरकार सञ्चालनमा छ। यी सबै तहका निर्वाचन नोभेम्बर ८ तारिखको लागि तोकिएको छ। तर चुनाव हुनुभन्दा अगाडि ‘अर्लिभोटिङ’मार्फत नागरिकले मतदान दिन पाउँछन् भने हुलाकी चिठी पत्रमार्फत पनि नागरिकले मतदानमा सहभागिता जनाउन सक्छन्। अमेरिकामा राष्ट्रपतिको चुनाव भने आगामी दुई वर्षपछि अर्थात् सन् २०२४ मा हुनेछ।

सिनेटमा ४८ डेमोक्र्याट, ४८ रिपबिलकन र दुई स्वतन्त्र सिनटेर छन्। कुनै विधयेकमा बराबर मत परेको खण्डमा उपराष्ट्रपतिले मतदान गरेर बहुमत कायम हुने व्यवस्था छ। यसैले डेमोक्र्याट पार्टी र रिपब्लिकन पार्टी दुवै सिनेटमा बहुमत सदस्यको जित हासिल गर्न चाहन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .