मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ। यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम छ।
हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ। दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामाग्री ढुवानी गरिने छ।
अब सात जिल्लाको मतपत्र छपाइ बाँकी
आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका सबै मतपत्र छपाइ सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौं, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाका लागि मतपत्र मात्र छपाइ हुन बाँकी छ।
निर्वाचन आयोगका अनुसार यी जिल्लामा करिब ८४ लाख मपतत्र आवश्यक पर्ने छ। आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ३ करोड १४ लाख ५६ हजार ५ सय मतपत्र छपाइ गरिसकेको छ। हालसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ, सल्यान, रुकुम पश्चिम तथा रुकुम पूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ।
Shares
प्रतिक्रिया