ad ad

राजनीति


प्रदीप पौडेलेको वाचा : सांसद भएँ भने आफ्नैबारे छानबिन गर्ने समिति बनाउँछु

प्रदीप पौडेलेको वाचा : सांसद भएँ भने आफ्नैबारे छानबिन गर्ने समिति बनाउँछु

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट निर्वाचित भएपछि आफ्नैबारे छानबिन गर्ने नागरिक अगुवा सम्मिलत समिति गठन गर्ने बताएका छन्। 

बुद्धिजीवी तथा पेसागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको बृहत् भेलामा उनले आफू सांसद बनेको खण्डमा आफ्नै विषयमा छानबिन गर्ने समिति बनाउने बताएका हुन्। 

‘हामीले भनेका छौं, हामीमाथि नै छानबिन गर्ने एउटा नागरिक छानबिन समिति बनाइनुपर्छ। त्यसको सुरुवात हामीले गर्ने छौं,’ काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले भने। 

उनले उक्त समितिको छानबिनका क्रममा गल्ती भेटिए सांसद पद नगए पनि अर्कोपटक निर्वाचनका लागि आफू अयोग्य हुने पनि जिकिर गरे। 

‘समितिले हामीमाथि छानबिन गर्दा गलत साबित गर्‍यो भने हाम्रो सांसद पद जाँदैन,’ पौडेलले भने, ‘तर, अर्कोपटक हामी गलत ठहरियौं भने चुनाव जित्दैनौं। जनताका बीचमा हामी नांगिन्छौं। मिडियाले हामीलाई बर्बाद गरिदिन्छ।’ 

विश्वका अन्य देशहरुमा जस्तो ‘राइट टु रिजेक्ट’ को व्यवस्था नेपालमा पनि लागु हुनुपर्नेमा उनको जोड थियो। 

‘यो यसकारणले आवश्यक छ कि संसारमा यस्तो पनि व्यवस्था छ, राइट टु रिजेक्ट,’ पौडेलले भने, ‘५ वर्षका लागि चुनिएको एउटा सांसद गलत काममा मुछियो भने उसलाई गरेको समर्थन फिर्ता लिने व्यवस्था दुनियाँ म छ, यहाँ पनि हुनुपर्छ।’ 

उनले निर्वाचन जितेको एक वर्षभित्रै काठमाडौं–५ को बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने प्रतिवद्धतासमेत जनाए। 
पौडेलले मतदातासँग ‘डिजिटल कनेक्टिभिटी’ सहज बनाउन ‘एप्स’ विकास गरेर काम अघि बढाउने पनि बताए। 

‘मतदातासँग डिजिटल कनेक्टिभिटी सहज बनाउँछौं। हामी एउटा एप्सको विकास गर्छौं। कहाँ खाल्डो परेको छ त्यसमार्फत जानकारी गराइदिनुस्। हामीले जानकारी प्राप्त गरेको ५ दिनभित्र त्यो खाल्डो पुरिसक्छौं,’ उनले भने, ‘कहाँ ढल फुटेको छ त्यसको पनि हामीलाई जानकारी गराइदिनुस्। स्थानीय तहको सहयोग लिनुपर्ने हो कि कसको सहयोग लिनुपर्ने हो, कसको सहयोग लिने हो सहयोग लिएर हामी त्यसको तत्काल समस्या हल गर्छौं।’ 

आफू सांसद विकास कोषको हिमायती नभए पनि सांसद विकास कोषको रकम लगानीका लागि नागरिकि अगुवाहरुको समिति निर्माण गरेर काम गर्ने पनि पौडेलले प्रतिबद्धता जनाए। 

‘सांसद विकास कोषको म विरोधी हुँ। तर, म मात्र विरोधी भएर हुँदैन। सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने त्यसका निम्ति नागरिक अगुवाहरुको एउटा समिति बनाइने छ। समितिले छनोट गरेको योजनाहरुमा पैसा हाल्ने व्यवस्था गर्ने छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .