ad ad

राजनीति


नेमकिपाको किल्लामा गठबन्धन र एमालेको ‘शिष्ट’ प्रचार

जहाँ गठबन्धन र एमालेका उम्मेदवार ‘नयाँ पार्टी’लाई मत माग्दैछन्
नेमकिपाको किल्लामा गठबन्धन र एमालेको ‘शिष्ट’ प्रचार

प्रतिनिधिसभा सदस्यमा भक्तपुर– १ का प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाल (बीच), एमालेका नवराज गेलाल र माओवादी केन्द्रका सुनिल गोठे (बायाँ र दायाँ)


सीताराम बराल
कात्तिक २१, २०७९ सोमबार २१:४१, भक्तपुर

खोलीखेत जोगाउने तटबन्धनले हो
संविधान जोगाउने गठबन्धनले हो 

भक्तपुरको दुवाकोट, मंगलबजार (चाँगुनारायण नगरपालिका–२) मा आइतबार मध्यान्ह जुन भवनको परिसरमा सत्तारुढ गठबन्धनको यो चुनावी गीत बज्दैथियो, त्यो भवन खासमा एमालेको निर्वाचन कार्यालय थियो। 

बिहानीपखको चुनावी घरदैलो सकिएपछि खाना खाइवरी आफ्ना कार्यकर्ताहरुका साथ भक्तपुर–१ का एमाले उम्मेदवार नवराज गेलाल चुनाव कार्यालय राखिएको भवनको भुइँतलामा सुस्ताउँदै थिए।

त्यहीबेला सत्तारुढ गठबन्धनको तर्फबाट भक्तपुर– १ का माओवादी केन्द्रका उम्मेदवार सुनिले गोठे ‘बासु’ र भक्तपुर– १ ‘क’ का कांग्रेस उम्मेदवार सुरेश श्रेष्ठको टोली घरदैलो गर्दै त्यहीँ पुग्यो।

एमालेका गेलाल त्यहाँ भएको जानकारी पाएपछि सत्तारुढ गठबन्धनका उम्मेदवार गोठे त्यहीँ रोकिए। आफ्ना प्रतिस्पर्धी एमालेका गेलालसँग भेटघाट गरे।

माओवादी केन्द्रीय सदस्य डीपी ढकालका भनाइमा चुनावी अभियान सुरु भएपछि सत्तारुढ गठबन्धन र एमालेको टोलीबीच चाँगुनारायण नगपालिकाका वस्तीहरुमा जम्काभेट भइरहन्छ। जम्काभेट हुँदा गोठे र गेलाल हार्दिकतापूर्वक हात मिलाउँछन् र आ–आफ्नो टोलीको नेतृत्व गर्दै घरदैलोका लागि अघि बढ्छन्। 

देशभर सत्तारुढ गठबन्धन र एमाले गठबन्धनबीच ‘काँटे कि टक्कर’ को स्थिति छ। तीव्र प्रतिस्पर्धाका बीच आगामी चुनावमा जित निकाल्न कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीसहितको सत्तारुढ गठबन्धन र एमाले–जसपा–राप्रपासहितको विपक्षी गठबन्धनबीच अनेक दाउपेच चलिरहेको छ। उनीहरु एकअर्काप्रति निसाना साँधिरहेका छन्।

तर, भक्तपुर– १ मा सत्तारुढ गठबन्धन र एमालेबीच त्यस्तो दाउपेच छैन। एकले अर्काेलाई होचो–निचो देखाउने अस्वस्थ प्रतिस्पर्धामा पनि उनीहरु छैनन्। 

मैले धक मानी–मानी ‘तपाईंहरु दुवै जना सँगै बसेको फोटो खिच्न मन लाग्यो, तयार हुनुहुन्छ?’ भनेर आग्रह गरेँ। माओवादी केन्द्रका गोठे र एमालेका गेलाल दुवैजना कुम जोडेर फोटो खिच्न तयार भए।

यो मौकाको फाइदा उठाउँदै मैले दुवै उम्मेदवारसँग प्रश्न गरेँ, ‘कस्तो हुँदैछ तपाईंहरुको चुनावी अभियान? नतिजा कस्तो आउला?’  

गोठे र गेलाल दुवैको जवाफ एउटै थियो, ‘भक्तपुर–१ ले यसपटक पुरानो पार्टीलाई होइन, नयाँ पार्टी रोज्नेछ। माहोल त्यतैतिर उन्मुख छ।’ 

विसं २०४६ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिका ६ वटा आम निर्वाचनमा भक्तपुर–१ बाट लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजय हासिल गर्दै आएको छ। नेमकिपाले २०४८ देखि लगातार विजय हासिल गर्दै आएकाले अन्य दलले यहाँ नेमकिपालाई ‘पुरानो पार्टी’ र आफूलाई ‘नयाँ पार्टी’ का रुपमा चिनाउँदा रहेछन्।  

भक्तपुर– १ मा ‘पुरानो पार्टी’ (नेमकिपा) लाई पराजित गर्नु यसपटक पनि ‘फलामको च्युरा चपाउनु’ सरह छ भन्ने ‘नयाँ पार्टी’ वाला सत्ता गठबन्धन र एमाले दुवैले बुझेका छन्। त्यसैले देशका अन्य निर्वाचन क्षेत्रमा देखिने आपसी आक्रामकता यहाँ सत्ता गठबन्धन र एमालेबीच पाइँदैन। 

बरु, यहाँको ‘पुरानो पार्टी’ नेमकिपाप्रति सत्ता गठबन्धन र एमाले दुवै आक्रामक छन्। र, यो निर्वाचनमा सके नेमकिपाको परम्परागत गढ तोडेर विजय हासिल गर्ने, नभए विगतमा भन्दा यसपटक मतअन्तर कम पार्ने योजनामा छन्।  

कसैले तोड्न नसकेको किल्ला 
भक्तपुर–१ मा स्थानीय तह निर्वाचन–२०७९ मा मेयरतर्फ दलहरुले प्राप्त गरेको मत हेर्ने हो भने आगामी निर्वाचन परिणामबारे धेरथोर आकलन गर्न सकिन्छ। 

यो निर्वाचन क्षेत्रमा पर्ने भक्तपुर र चाँगुनारायण नगरपालिकामा नेमकिपाका उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ३२ हजार ५ सय १९ छ। यी दुई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले १३ हजार ४ सय १७, एमाले उम्मेदवारहरुले १२ हजार १, राप्रपा उम्मेदवारहरुले ९ हजार १ सय ४७ र माओवादी केन्द्रका उम्मेदवारले १ हजार ६ सय २८ मत प्राप्त गरेका छन्। 

अर्थात्, दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेमकिपाबीचको मतअन्तर १९ हजार १ सय २ देखिन्छ। 

तर, नेमकिपाबाहेकका सबै प्रमुख दल– कांग्रेस, एमाले, राप्रपा र माओवादीको मतलाई एउटा तराजु र नेमकिपाको मतलाई अर्काे तराजुमा राख्ने हो भने नेमकिपा इतरपक्ष भारी देखिन्छ। नेमकिपाभन्दा इतर ३ हजार ६ सय ७४ मतले अगाडि देखिन्छ। 

तर, भक्तपुर– १ मा सत्ता गठबन्धन, एमाले र राप्रपाका फरक–फरक उम्मेदवार छन्। नेमकिपाको दबदबा समाप्त पार्न उनीहरुबीच मिलाप हुने कुनै सम्भावना छैन।  

मिलापको सम्भावना शून्य भएकाले सत्ता गठबन्धन र एमाले दुवैले नेमकिपा इतरको मत आफूतिर तान्ने योजना बनाएका छन्, ताकि प्रतिस्पर्धामा आफू नेमकिपाको हाराहारी पुग्न सकियोस्। 

मतदाताको स्वागत ग्रहण गर्दै माओवादी केन्द्रका सुनिल गोठे 

एमालेका गेलालले भने, ‘नेमकिपाबाहेकको मत एकातिर पर्ने हो भने नेमकिपालाई भक्तपुर–१ मा सहजै पराजित गर्न सकिन्छ। हामी तिनै मत आकर्षित गर्ने योजनामा छौँ। हेरौँ, के हुन्छ!’

माओवादी केन्द्रका गोठे पनि पनि यस्तै योजनामा छन्। उनको भनाइमा भक्तपुरमा सत्ता गठबन्धनभित्र देखिएको पूर्ण एकता, गठबन्धनको पक्षमा देशव्यापी रुपमा बनिरहेको माहोलको प्रभाव, युवा उम्मेदवारी आदिका कारण नेमकिपाबाहेकको मत आफूतिर आकर्षित हुने स्थिति बन्दैछ। 

‘हामी अलिक कमजोर भनेको भक्तपुर नगरपालिकामा हो। तर, म पनि भक्तपुर नगरपालिकाकै बासिन्दा हुँ। त्यसैले मैले व्यक्तिगत मत पाउने स्थिति छ,’  गोठेले नेपालखबरसँग भने, ‘चाँगुनारायण नगरपालिकामा हामी यसै पनि अघि छौँ। त्यसैले, यसपटक बाजी मार्न सकिन्छ भन्नेमा छु।’

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भक्तपुर– १ (क) उम्मेदवार सुरेश श्रेष्ठले गठबन्धनभित्र कुनै विवाद नरहेकाले पहिलेको निर्वाचनको तुलनामा यसपटक अनुकूल स्थिति रहेको दाबी गरे। 

सत्ता गठबन्धन र एमाले दुवैको आशा यो क्षेत्रमा पछिल्लो थपिएको मतदाता संख्यामा छ, जहाँ यसअघिको तुलनामा झण्डै ९ हजार मतदाता थपिएका छन्। यीमध्ये अधिकांश मतदाता बाहिरी जिल्लाका छन्। बसाइसराइ गरी आउनेहरु प्रायजसो गैर–नेमकिपा हुने भएकाले थपिएका यी मतदाताको मत आफूले पाउने आशा सत्ता गठबन्धन र एमाले दुवैले गरेका छन्। 

थपिएको मतदाता संख्याका अलावा नगरपालिकामा नेमकिपाको अपेक्षाकृत कमजोर स्थिति पनि सत्ता गठबन्धन र एमालेको आशाको अर्काे कारण हो। 

तर, यति हुँदाहुँदै पनि भक्तपुर–१ बाट जित निकाल्न सत्ता गठबन्धन र एमाले दुवैलाई सहज छैन। भक्तपुर नगरपालिकामा नेमकिपा यति धेरै बलियो छ कि स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत मात्र सुरक्षित गर्न सक्यो भने २०७४ भन्दा अझ ठूलो मतअन्तरका साथ नेमकिपाले विजय हासिल गर्न सक्छ। 

२०७४ को निर्वाचनमा भक्तपुर–१ मा नेमकिपाका सुवाल ३३ हजार ७६ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोसीले १७ हजार ८ सय ७६ र माओवादी केन्द्रका सुनिल सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए।

स्थानीय तह निर्वाचनमा भने भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति २९ हजार २ सय ५२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत मात्र सुरक्षित गर्न सके। कांग्रेसका कासुलासहित एमाले, माओवादी केन्द्र, राप्रपा कुनै पनि दलका उम्मेदवारले यहाँ जमानत जोगाउन सकेनन्।

सत्तारुढ गठबन्धनका गोठे र एमालेका गेलालबीच ‘फोटो सेसन’ हुुनुभन्दा केही मिनेट अघि मात्र दुवाकोटकै स्थानीय सूर्य बुढाथोकीसँग चुनावी स्थितिबारे कुराकानी भएको थियो।  

विसं २०४८ देखि ‘हलो’ मा मतदान गर्दै आएका उनी राप्रपाको कुनै जिम्मेवारीमा नभए पनि प्रतिबद्ध मतदाता रहेछन्। ०४८ देखि भोट दिँदै आएको चुनाव चिन्ह र दल यसपटक पनि परिवर्तन गर्ने पक्षमा उनी छैनन्।

बुढाथोकीले कांग्रेस, एमाले, माओवादी र राप्रपा फरक–फरक रुपमा लड्दाको फाइदा नेमकिपाले २०४८ देखि नै लिइरहेको दाबी गरे।   

‘कांग्रेस, एमाले, माओवादी र राप्रपा एकजुट हुने हो भने भक्तपुर–१ उनीहरुले सहजै जित्छन्,’ उनले भने, ‘के गर्नु, मिल्दैनन्। अनि नेमकिपालाई चिट्ठा पर्छ।’ 

बुढाथोकीको भनाइमा चाँगुनारायण नगरपालिकामा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र राप्रपाबीच हुने भए पनि भक्तपुर नगरपालिकामा नेमकिपाको बर्चश्व भएकाले त्यहीँको भोटले उसले सहजै जित्छ। 

माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालको भनाइमा ०७२ मा संविधान जारी हुनुअघिकै निर्वाचन क्षेत्र कायम राखिएको भए अन्य दललाई यहाँ प्रतिस्पर्धा गर्न सहज हुने मात्र होइन, ‘भक्तपुर– १ नेमकिपाको गढ हो’ भन्ने परिचय पनि उल्टिने थियो। 

‘२०७४ देखि पुरै भक्तपुर नगरपालिकालाई भक्तपुर–१ मा पारियो,’ उनले भने, ‘भक्तपुर नगरपालिका उसको प्रभाव क्षेत्र हो। यो नगरपालिकाका सबै वडा भक्तपुर–१ मा पारिएपछि अन्य दललाई प्रतिस्पर्धा कठिन भयो।’ 

मतदातासँग एमाले उम्मेदवार नवराज गेलाल

हाल १० वडा रहेको भक्तपुर नगरपालिकामा त्यो बेला १७ वडा थिए। तीमध्ये २०७४ को निर्वाचनअघि जोर (२, ४, ६, ८, १०, १२, १४ र १६) वडा भक्तपुर–१ मा थिए भने बिजोर (१, ३, ५, ७, ९, ११, १३, १५ र १७) वडा भक्तपुर–२ मा पारिएका थिए। 

ढकालले भनेजस्तै भक्तपुर नगरपालिकाका वडाहरु भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा विभाजित हुँदा नेपाली कांग्रेस, राप्रपा, माओवादी जस्ता दलहरुसँग नेमकिपाको कडा टक्कर पथ्र्याे। कडा टक्करका बीच नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) विजयी त हुन्थे। तर, मतअन्तर त्यति फराकिलो हुन्नथ्यो। 

तर, २०७४ मा गरिएको निर्वाचन क्षेत्र पुनर्निर्धारणका क्रममा पुरै भक्तपुर नगरपालिका भक्तपुर–१ मा पर्यो। त्यसपछि यो निर्वाचन क्षेत्र नेमकिपाका लागि थप सहज भयो।

त्यहीकारण उम्मेदवार प्रेम सुवाल २०७४ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले प्राप्त गरेको मतभन्दा १५ हजार बढी मतकासाथ विजयी भएका थिए। 

जबकि त्यसअघिका निर्वाचनमा अध्यक्ष बिजुक्छे अधिकतम ८–१० हजार मतअन्तरले मात्र विजय हुने गरेका थिए।  

२०७४ पछि झन् सहज
सत्ता गठबन्धन र एमालेलाई भक्तपुर नगरपालिकामा नेमकिपाले प्राप्त गर्ने मतले जसरी त्रसित बनाउँछ, चाँगुनारायण नगरपालिकामा प्रतिस्पर्धी दलले प्राप्त गर्ने मतका कारण नेमकिपा पनि चिन्तित हुने गर्छ। 

चाँगुनारायणमा नेमकिपाको तुलनामा सत्ता गठबन्धन र एमाले बलियो स्थितिमा छन्। गत स्थानीय तह निर्वाचनमा यो नगरपालिकामा कांग्रेस उम्मेदवार ९ हजार ५ सय ५० मतसहित मेयरमा विजयी हुँदा एमाले उम्मेदवारलाई ९ हजार १ सय ६० र राप्रपा उम्मेदवारलाई ८ हजार ६७ मत प्राप्त भएको थियो। 

चौथो स्थानमा रहेका नेमकिपाका उम्मेदवारले ३ हजार २ सय ६७ मत मात्र प्राप्त गरेका थिए। 

‘हामीलाई थाहा छ, कांग्रेस, एमाले र राप्रपाको तुलनामा चाँगुनारायणमा हामी केही कमजोर छौँ,’ गोलमढीस्थित नेमकिपा केन्द्रीय कार्यालयमा भएको कुराकानीमा केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले भने, ‘तर, हाम्रा उम्मेदवार सबल र सक्षम भएकाले त्यहाँबाट पनि हामी प्रतिस्पर्धी मत हासिल गर्छाैं। भक्तपुर नगरपालिकाको त चिन्ता गर्नुपर्ने कुरै भएन।’

भक्तपुर–१ मा जित्ने निश्चित भए पनि नेमकिपा चुनौतिविहीन भने छैन। ‘विकृत राजनीति’ र ‘मतदातालाई दिग्भ्रमित बनाउने प्रयास’ नेमकिपाको मुख्य चुनौती रहेको गोसाईले बताए।

‘यो त विधायिकाको निर्वाचन हो नि! विधायिका (संसद) भनेको देशको नीति–निर्माण गर्ने थलो हो। तर, शासक दलहरु जनतासँग के चाहियो भन्दै, अनेक खालका आश्वासन दिँदै भोट माग्न जान्छन्,’ कांग्रेस, एमाले, माओवादी केन्द्रप्रति इङ्गित गर्दै उनले भने, ‘उनीहरुले झुठा आश्वासन दिएका दियै छन्, जनताले पत्याएका पत्यायै छन्। यही नै हाम्रो मुख्य चुनौती हो।’ 

सत्ता गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारहरुले नेमकिपाले निरन्तर विजय हासिल गरेका कारण भक्तपुरको अपेक्षित विकास हुन नसकेको आरोप लगाउँदै आएका छन्। हुन पनि, वर्तमान व्यवस्था अन्तर्गत सरकारमा जाने नीति नेमकिपाले लिएको छैन। कला–संस्कृति संरक्षण, विकास निर्माण र करिब शून्य भ्रष्टाचारका कारण नेमकिपाले विजय हासिल गरेको भक्तपुर नगरपालिकाले देशभरि चर्चा पाएको छ। तर, ‘नेमकिपा सत्तामा नजाने भएकाले जिते पनि उसले विकास गर्दैन’ भन्ने प्रचार संसदको निर्वाचनका बेला अन्य दलले गरिदिने गरेका छन्। 

एमाले उम्मेदवार गेलाल भन्छन्, ‘नेमकिपाको प्राथमिकतामा नगरपालिका (भक्तपुर) भन्दा बाहिरको क्षेत्र पर्दैन। भक्तपुरको विकास नहुनुको मुख्य कारण यही हो। यो कुरा हामीले जनताकहाँ निरन्तर पुर्याइरहेका छौँ र जनताले पनि यो कुरा बुझिसकेका छन्।’ 

‘हाम्रा विपक्षीहरु आफैँ पौरख गरे मात्र समृद्ध भइन्छ भन्ने कुरा जनतालाई सिकाउँदैनन्, यो गरिदिन्छौँ, त्यो गरिदिन्छौँ भन्ने आश्वासन र पैसा बाँडेर निर्वाचन जित्नेमा ध्यान दिन्छन्,’ गोसाईंले भने, ‘निर्वाचनमा हामी जनतालाई आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने शिक्षा दिइरहेका छौँ, उनीहरु आश्वासन दिएर जनताको बानी बिगार्नेतिर छन्। हाम्रो चुनौति यही हो।’ 

यो चुनौतीका बाबजुद भक्तपुर नगरपालिकामा एकछत्र प्रभाव, विपक्षीको तुलनामा आफ्ना उम्मेदवारको ‘प्रोफाइल’ र राष्ट्रिय राजनीतिमा अनुभवका कारण नेमकिपा जितमा पूर्ण विश्वस्त देखिन्छ।

भक्तपुर–१ का नेमकिपाका उम्मेदवार सुवाल सो पार्टीका केन्द्रीय सचिव त हुन् नै, अध्यक्ष रोहितका ‘अघोषित उत्तराधिकारी’ पनि हुन्। नेमकिपामा अध्यक्ष रोहितपछिको वरीयतामा सचिव सुवाल नै छन्। २०७० मा भक्तपुर– २ बाट संविधान सभामा निर्वाचित उनी २०७४ मा भक्तपुर–१ का निवर्तमान सांसद पनि हुन्। 

‘अन्य दल जस्तो यति–उति हजार मतले जित्छौँ भनेर हामी दम्भ प्रदर्शन गर्दैनौँ,’ भक्तपुर–१ (ख) का प्रदेश सभा उम्मेदवार समेत रहेका गोसाईंले भने, ‘यत्ति मात्र भनौँ– हाम्रो नीति–सिद्धान्त, संगठन र उम्मेदवारका आधारमा हामी फेरि पनि यहाँ पहिलो हुन्छौँ, सत्ता गठबन्धनका उम्मेदवार दोस्रो हुने सम्भावना देख्छौँ।’ 

मतदातालाई मतदान गर्न सिकाउँदै नेमकिपाका प्रेम सुवाल 

सत्ता गठबन्धनका गोठे चाहिँ माओवादी केन्द्र भक्तपुरका संयोजक छन्। झौखेल गाविसका पूर्वअध्यक्ष (२०५४) एमालेका गेलाल भक्तपुर जिल्ला समन्वय समितिका निवर्तमान संयोजक हुन्। 

नेमकिपाकै कारण भक्तपुरको विकास हुन नसकेको प्रचारका साथ अन्य दलले भक्तपुर–१ मा आ–आफ्नो प्रचार अभियान सञ्चालन गरिरहेका बेला नेमकिपाले ‘मतदाता शिक्षा’ मा आफूलाई बढी केन्द्रित गर्न थालेको छ। आफ्ना प्रतिबद्ध मतको सुरक्षाका लागि उसले यो अभियान चलाएको बुझ्न कठिन छैन। 

‘निर्वाचन भनेको जनतालाई सचेत पार्ने अभियान हो, त्यसैले अपरान्हतिर कोणसभामार्फत् जनतालाई देशभक्ति र आन्दोलनको तयारीका लागि आह्वान गर्दै आएका छौँ,’ गोसाईंले थपे, ‘बिहान भने मतदाता शिक्षासहितको घरदैलो अभियान हुने गरेको छ। हाम्रा नेता–कार्यकर्ता बदर नहुने गरी कसरी मत हाल्ने भनेर जनतालाई सिकाउने कुरामा केन्द्रित हुनुहुन्छ।’ 

प्रचार ‘मतदाता शिक्षा’ मा केन्द्रित गर्दाका दुई फाइदा छन्। एक, पार्टी (नेमकिपा) को चुनाव चिन्ह ‘मादल’ को प्रचार हुन्छ। दुई, सही ढंगले मतदाताहरुलाई मत हाल्न सिकाउँदा उनीहरुले बदर नहुने गरी मतदान गर्छन्। यसो गर्दा आफ्ना उम्मेदवारले प्राप्त गर्ने मत बदर नभई सुरक्षित रहन्छ।  

नेता गोसाईंसँग चुनाव प्रचार अभियानबारे कुराकानी गरेको केही समयपछि नै नेमकिपाको ‘मतदाता शिक्षा’ अभियानले पारेको प्रभाव आफ्नै आँखाले देख्ने अवसर भक्तपुरमै संयोगवश प्राप्त भयो। 

सल्लाघारी–नगरकोट मार्गबाट काठमाडौँ फर्कंदै गर्दा भक्तपुर नगरपालिका कार्यालयमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखियो। सुरक्षाकर्मीहरुको घेरामा रहेका सरकारी कर्मचारीहरु त्यहीँ यताउति सल्याङ्बल्याङ गरिरहेका थिए।   

नगरपालिका परिसरभित्र मानिसहरुको लाइन, मतपेटिका, म्यादी प्रहरीसहितको बाक्लो सुरक्षाघेरा आदि देखेपछि लाग्यो– यहाँ त मतदान केन्द्र निर्माणको तयारी पो सुरु भइसकेछ, जबकि मतदानको दिन (४ मंसिर) आउन अझै दुई हप्ता बाँकी छ। 

नजिकै पुगेपछि थाहा भयो, त्यहाँ ‘नमुना मतदान’ पो हुँदै रहेछ। बदर मत न्यून गर्ने उदेश्यस्वरुप निर्वाचन आयोगले देशभर सञ्चालन गरिरहेको मतदाता शिक्षा अन्तर्गत ‘नमुना मतदान’ सञ्चालन गरिरहेको रहेछ।

‘नमुना मतदान’ भएकाले मतपत्रमा नमुना चुनाव चिन्हहरु मात्रै रहेछन्। पार्टी र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिएका चुनाव चिन्ह नमूना मतदान पत्रमा रहेनछन्।  

नमुना मतदान 

लाइनमा स्थानीय दुई वृद्धा पनि उभिएका थिए। पालो आएपछि एक वृद्धा ‘नमुना मतपत्र’ लिएर गोप्य मतदानका लागि तयार पारिएको टेबुलमा पुगिन्। उनी मतदान गरेर बाहिरिइन्। 

तर, दोस्री वृद्धा आफ्नो पालोमा अक्मकिइन्। मतपत्र बोकेर मतदान टेबलबाट बाहिरिइन् र नजिकै रहेका दुई महिला म्यादी प्रहरीसँग खासखुस सुरु गरिन्। 

वृद्धाका कुरा सुनेर दुवै जना म्यादी महिला प्रहरीले खित्का छाडे। अकस्मात फुस्किएको उनीहरुको हाँसोले वरिपरि रहेका सबैको ध्यान आकर्षित गर्यो।   

‘कुरा के रहेछ?’ हाँसो थाम्न नसकेकी एक म्यादी महिला प्रहरीसँग मैले जिज्ञासा राखेँ। 

‘हेर्नुस् न, ‘मलाई मादलमा भोट हाल्नुछ तर यहाँ (मतपत्रमा) मादलै छैन भन्नुहुन्छ उहाँ,’ भक्तपुरको राजनीतिक माहौलबारे बेखबर (सायद) उनले थपिन्, ‘जो–जो बुढाबुढी आउँछन्, सबैले मादल मात्रै खोज्छन् के! म त छक्कै परिसकेँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .