ad ad

राजनीति


निर्वाचनमा भिड्दै छन् यी कलाकार

निर्वाचनमा भिड्दै छन् यी कलाकार

फाइल फाेटाे : कोमल वली, रेखा थापा र शिवशंकर रिजाल


भेषराज कार्की
कात्तिक २६, २०७९ शनिबार १८:४९, काठमाडौँ

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन्। 

कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ। राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनी प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहेकी छन्। 

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी उनी घरदैलोमा पुग्दै आफ्नो गृह जिल्लामा मत मागिरहेकी छन्। केही वर्षयता अभिनेत्री थापा कलाकारिताभन्दा पनि राजनीतिमा सक्रिय छिन्। ‘यो मेरो गृह जिल्ला हो। मैले यहाँको भूभाग बुझेकी छु। यहाँको सेवा गर्दै राजनीति सुरु गरेकी हुँ’, उनले भनिन्।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। दासढुङ्गा, बधशाला, ग्रेटर नेपाल जस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका पण्डितले ६ महिनादेखि नै तयारी गरिरहेका थिए। ‘अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नुभएको छ। यसैले उम्मेदवारी दिएको हुँ। किनकि मैले स्थानीय विकास गर्न कसैको निर्णय पर्खिनु पर्दैन, स्वतन्त्र छु’, उनले भने। 

प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन्। काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका उनले समाज परिवर्तनका लागि आफू स्वतन्त्र रुपमै चुनावमा होमिएको बताए। 

निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन्। फिल्म निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन्। ‘मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ। यसको पूर्ण सदुपयोग गर्नेछु’, उनले भने। 

हिमेश पन्त

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिएका छन्। केही समययता सक्रिय राजनीतिमा रहेका श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाबाट उम्मेदवारी दिएका हुन्। ‘मेरो उम्मेदवारी युवालाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो। परिवर्तनका लागि अगाडी बढ्नै पर्छ’, उनले भने। श्रेष्ठले सम्झिदिए पुग्छ, दुई दुना पाँच, ह्याप्पी न्यु इयर, पल्टन, जङ्गली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गरेका छन्। 

चुनावी मैदानमा देखिएका कलाकारको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हास्यकलाकार शिवशङ्कर रिजालको छ। ‘कलाकारहरूलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलले अझैँ सङ्ख्या बढाउनु जरुरी छ। यद्दपि सुरुवात राम्रो छ। म लगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .