राजनीति


माओवादीको बिगबिगी हुँदै नवलपुर जितेका शशांकलाई अहिले गठबन्धनको साथ छ

‘गुनासोले थिचिएका शशांक र उत्साहले उचालिएका कृष्ण’
माओवादीको बिगबिगी हुँदै नवलपुर जितेका शशांकलाई अहिले गठबन्धनको साथ छ

नवलपुर १ मा कांग्रेसका शशांक कोइराला र एमालेका कृष्ण पौडेलबीच प्रतिस्पर्धा छ


वाशुदेव मिश्र
कात्तिक २७, २०७९ आइतबार १५:३८, नवलपुर

गएको चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उपस्थित विद्यार्थीमाझ डा. शशांक कोइरालाले भनेका थिए, ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीनचोटि जितेँ। पहिलो चोटि मेरो खर्च ८० हजार थियो। दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड। ल भन्नुस् त तपाईंहरु चुनाव लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट? म छोड्न तयार छु। तपाईंले कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ।’

नेपाली कांग्रेस क्षेत्रीय समितिले मंसिर ४ को प्रतिनिधि सभा चुनावको लागि कोइरालासँगै उद्योगपति विनोद चौधरी, नेताहरु हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीको नाम सिफारिस गर्यो। उद्योगपति चौधरीले पैसा खर्च गर्न नसक्ने कुरै थिएन। तर, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबी छाडेका शशांकले पुरानै क्षेत्रबाट दोहोरिने निर्णय गरे। उनी चुनावी मैदानमा छन्। 

र, उनलाई एमालेका नेता कृष्ण पौडेलले चुनौती दिइरहेका छन्। बागलुङमा जन्मेका तथा अखिलको राजनीतिबाट उदाएका पौडेल २०७० सालको संविधान सभा चुनावमा नवलपरासीको क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए। संयोग कस्तो भने जसले आफूलाई राजनीतिको राजमार्गमा हिँड्न सिकायो, उनकै छोरासँग मेयरमा पराजित कृष्ण यो चुनावमा शशांकसँग भिड्न आइपुगेका छन्। कृष्ण गएको स्थानीय चुनावमा कांग्रेसका पुराना नेता स्वर्गीय सूर्यभक्त अधिकारीका छोरा मदनभक्त अधिकारीसँग गैँडाकोटको मेयरमा पराजित भएका थिए।

डा. कोइरालाले २०१८ साल माघ अन्तिम साता मुक्ति सेनाले भरतपुर कब्जा गरेको र सयौँ योद्धाले ज्यान गुमाएको घटना सायदै सुने होलान्। तर, नवलपरासीमा रहेका बीपीभक्त कांग्रेसीहरुले उनलाई हात समातेर नवलपुरसम्म ल्याए। शशांकलाई नवलपुरको राजनीतिमा ल्याउनेहरु सूर्यभक्त अधिकारी र तिलकप्रसाद सापकोटाहरु नै थिए।

शशांकलाई नवलपरासीबाट राजनीति गर्न निम्त्याएपछि उनीहरुले भनेका थिए रे, ‘देख्यौ, मैले यहाँ बीपीका छोरालाई बोलाएर ल्याएँ।’ 

तर, भइदियो कस्तो भने शशांकको आगमन पुराना कांग्रेसको लागि ‘भारी’बन्यो। शशांक लगातार ३ पटक कांग्रेसको उम्मेदवार बन्दा अन्य कांग्रेसीहरु अवसरबाट बञ्चित भए। कतिसम्म भने मुक्तियोद्धा गोवद्र्धन पोखरेलका छोरा तथा हाल गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई पनि त्यो नियतिले छाडेन।  

शशांक जानुअघिको चुनाव हेर्ने हो भने नवलपरासीबाट २०४८ सालमा सूर्यभक्त अधिकारी र मझिलाल थारु विजयी बनेका थिए। २०५१ मा महेन्द्रध्वज जिसी र मझिलाल थारु विजयी हुँदा २०५६ सालमा भने फरक दृश्य देखियो। सो चुनावमा कांग्रेसका दामोदर बस्ताकोटी, एमालेका चन्द्रमणि खनाल, कांग्रेसका देवेन्द्रराज कँडेल र सद्भावनाका हृदयेश त्रिपाठी विजयी बने। अर्थात्, कांग्रेस कमजोर हुँदै गयो। त्यही कमजोरी टाल्न शशांक निम्त्याइए। 

पहिलो संविधान सभामा टिकट पाउँदा शशांक सहजै विजयी भए। उनीसँगै नवलपुरबाट कांग्रेसका महेन्द्रध्वज जीसी, माओवादीका सीतादेवी बौडेल, चिनक कुर्मी, मधेशी जनाधिकार फोरमका रामवञ्चन अहिर र तराई मधेश लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी विजयी बने। 

२०७० सालको संविधान सभा चुनावमा शशांक कोइराला सुरक्षित हुँदा एमालेका जीवन श्रेष्ठ, कृष्णप्रसाद पौडेल, वैजनाथ चौधरी, कांग्रेसका विक्रम खनाल कांग्रेसकै देवकरण प्रसाद कलवार विजयी बने। संविधान सभा सदस्यले के रहर पुग्थ्यो? उनी २०७४ सालको संसदीय चुनावमा होमिए। नवलपरासी विभाजित भएर नवलपुर र नवलपरासी बन्दा उनी क्षेत्र नम्बर १ बाट उम्मेदवार बने। माओवादीका भविश्वर पराजुलीलाई ४ हजार २४ मतले पराजित गरे। 

उनी चौथोपटक चुनावी मैदानमा छन्। वाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका उनी जित्नेमा ढुक्क छन्। उनी आफैँ भन्छन्, ‘माओवादीको बिगबिगी हुँदा त नवलपुरका जनताले मलाई पत्याए, म तपाईंहरुसँगै छु।’

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य, १३ औंबाट महामन्त्री बनेका तथा १४ औंमा सभापति छाडेर केन्द्रीय सदस्यमा खुम्चिएका उनी कांग्रेस राजनीतिको केन्द्रमा छन्। तर, शशांकले त्यो ‘शक्ति’ नवलपुरको लागि प्रयोग नगरेको भन्ने आरोप लाग्ने गरेको छ। 

‘शशांकको कमजोरी भनेको उनी कम बोल्छन्, कार्यकर्तासँग घुलमिल हुँदैनन् अनि गैरराजनीतिक चरित्र देखाउँछन्,’ कावासोती बस्ने डा. बाबुराम भट्टराई निकट नेता कृष्ण गैह्रेले भने, ‘कतिसम्म भने हामी गठबन्धनमा छौँ, उनी मञ्चमा बसेर माओवादी आन्दोलन र हामीलाई गाली गर्छन्।’ 

कृष्ण गएको स्थानीय चुनावमा कावासोतीबाट मेयरमा प्रतिस्पर्धा गरेका व्यक्ति हुन्। उनी आफ्नो उम्मेदवारीले कांग्रेसका उम्मेदवारलाई हराएको स्वीकार्छन् र त्यसको दोष शशांकलगायतका नेताको टाउकोमा हाल्छन्।

शशांकले नवलपुरको लागि केही गरेनन् भन्ने विषय नै अहिले एमालेको चुनावी एजेन्डा बनेको छ। 

‘बीपी कोइरालाको सुपुत्र भएको हुनाले यो जिल्लाका सबैले सम्मानका साथ हेरे। माया गरे तर उहाँ भरतपुर होटलमा बस्नुहुन्छ, कार्यकर्तालाई भेट्नुहुन्न। उहाँ सुध्रिन सक्नु भएन। उहाँको शैलीसँग कोही पनि सन्तुष्ट छैनन्,’ कात्तिक २३ गते दिवंगत भएका कांग्रेसका नेता तिलकप्रसाद सापकोटाले सार्वजनिक रुपमै भनेका थिए।

दिवंगत तिलकको असन्तुष्टिदेखि शशांकले विश्वविद्यालयको बाचा पुरा नगरेको, ट्रमा सेन्टर नबनेको, राजमार्गको बेहाल, बुलिङटारजस्ता ठाउँमा बाटो नबनेकोलगायतका दोष पनि उनीमाथि छ। तर, शशांक बलिया छन्। 

‘बीपीपूत्र हुनाले कांग्रेसीहरुले जति रिसाए पनि अन्तिममा भोट चाहिँ हाल्छन्,’ जिल्लाका एक कांग्रेसी नेताले भने, ‘यसपटक उनलाई गठबन्धनको साथ छ।’ 

शशांक केही सम्हालिएजस्तो देखिएका छन्। घरदैलोको क्रममा उनले अब भृकुटी कागज कारखानाको समस्या हल गर्नेदेखिका प्रतिबद्धता जनाएका छन्। 

‘अबको ५ वर्ष उहाँ यही क्षेत्रको विकासको लागि खटिनुहुन्छ,’ कांग्रेस नवलपुरका सचिव होमराज रानाभाट अहिले मतदातासामु यही वाक्य दोहोर्याउँदै छन्। 

एमाले नेता कृष्णले हार खाएका छैनन्। पछिल्लो स्थानीय चुनावको परिणामबाट हौसिएका उनले भन्ने गरेका छन्, ‘उहाँ (शशांक) ले निरन्तर यो क्षेत्रबाट जितेर केही गर्नुभएन, १५ वर्षमा त मान्छेको पेन्सन नै पाक्छ, अब उहाँलाई बिदा गर्नुपर्छ।’ 

यो क्षेत्रमा गैँडाकोट र देवचुली नगरपालिका, बुलिङटार गाउँपालिका र कावासोती नगरपालिकाका ११ वडा रहेका छन्। गैँडाकोटमा कांग्रेस विजयी हुँदा अन्य पालिका एमालेले जितेको छ। कुल ५२ वडामध्ये २६ वटा एमालेको पोल्टामा जाँदा उसले पाएको कुल मत ३९ हजार ९५१ र गठबन्धनतर्फ ४२ हजार ४७१ रहेको छ।

नवलपुरमा २ लाख ३३ हजार ९५ मतदाता छन् भने क्षेत्र नम्बर १ मा मात्रै १ लाख ५० हजारभन्दा बढी मतदाता छन्।  यहाँ राप्रपाको पनि २ हजार २६४ भोट रहेको छ। नवलपुर १ (१) मा नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेका रवीन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ भने नवलपुर १ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लोकेन्द्रप्रसाद भूर्तेल र एमालेका रोशनबहादुर गाहमगर प्रतिस्पर्धी छन्। रोशन यसअघि पनि प्रदेश सभाका सदस्य थिए।

दुवैका चुनावी एजेन्डा भने समान छन्। कृष्णले सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नेलगायतका आश्वासनको पोको खोलेका छन्। यद्यपि, उनी पनि दोषमुक्त छैनन्। उनीमाथि अवसर र भागका लागि जस्तोसुकै सम्झौता गर्नसक्ने अस्थिर स्वभाव देखाएको र एक कार्यकाल संविधान सभाको सदस्य हुँदा खासै केही काम नगरेको आरोप छ।

नवलपुरको सो क्षेत्रबाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। राप्रापाका डा. मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, हाम्रो नेपाली पार्टीका तुलसीराम भुसाल र स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीले प्राप्त गर्ने मतले पनि यहाँको चुनावी नतिजालाई फरक पार्न सक्छ।

डा. भुसाल वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मुखमा कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका तथा शैक्षिक क्षेत्रमा कहलिएका व्यक्ति हुन्। गौतम स्थानीय निर्वाचनपछि माओवादी केन्द्र त्यागेर रवि लामिछाने समर्थक बनेका हुन्। सबैभन्दा कान्छा, युवा तथा फुर्तिला गौतम पनि क्याम्पस प्रमुखको पद छोडेर राजनीतिमा होमिएका ब्यक्ति हुन्। अर्का उम्मेदवार तुलसीराम भुसाल २०६४ सालमा माओवादी पार्टी परित्याग गरी स्वतन्त्र बस्दै आएका कृषि र पर्यटनकर्मी हुन् भने जिसी नेपाली कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवार बनेका हुन्। 

यी उम्मेदवारहरुले एमालेको भन्दा असन्तुष्ट कांग्रेसको मत तान्ने आकलन गरिएको छ। शशांक आरोप र गुनासोबीच उनकै भाषामा ‘महँगो’ चुनाव लड्दैछन् भने कृष्ण संविधान सभापछि संसदमा भाग्य अजमाउँदै छन्। शशांकलाई भावी प्रधानमन्त्रीको रुपमा पनि प्रचार गरिएको छ। तर, कोइराला परिवारको विरासत डा. शेखर कोइरालातिर सरेको बेला उनी प्रधानमन्त्री नै बन्छन् भन्नेमा कांग्रेसीहरु नै विश्वस्त छैनन्। 

नवलपुर २ (१) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सोम श्रीपाली र एमालेकी पद्मा जिसी श्रेष्ठ एवं २ (२) मा गठबन्धनबाट एकीकृत समाजवादीका डा. गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डे मुख्य प्रतिस्पर्धी छन्। सो क्षेत्रका कांग्रेसीहरु आफ्ना उम्मेदवार नभएकोमा अहिले पनि असन्तुष्ट नै छन्।

नेपालखबर स्थलगत :

त्यो ‘जेरिम्यान्डरिङ’, जसले नेमकिपाको हातबाट भक्तपुर २ खोसिदियो

फेरि धोका नखाने मुसहर समुदायको ‘आइडिया’– पैसा सबैको लिने, भोट काम गर्नेलाई दिने

अर्बपति उम्मेदवार विनोदसँग नवलपरासी १ को देहात चहार्दा​

सर्लाही ४ : बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

भक्तपुर २ : दल बदल गरिरहने भक्तपुर २, बस्नेत र थापा दुवै ‘ग्रे जोन’ मा

भक्तपुर १ : नेमकिपाको किल्लामा गठबन्धन र एमालेको ‘शिष्ट’ प्रचार

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड, तिनै वामपन्थीबीच यो भिडन्त

महोत्तरी ३ : जलेश्वरमा महन्थ ठाकुरले भने– हामीलाई कागजी रुपमा मात्र नेपाली हुन् भन्ने ठानिन्छ (अन्तर्वार्ता)

सप्तरी २ : ‘रेड जोन’ मा उपेन्द्र यादव, हार टार्न जातीय ‘गुहार’

पुरानो डुंगा लिएर पानीको छाल छल्दै पृथ्वीसुब्बा

बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए​

रौतहट १ : गौरमा माधव नेपालले भने— २० सिटमा जित निकाल्न लागिपरेका छौँ (अन्तर्वार्ता)

मधेश ब्रिफिङ : मधेशभर ‘जनकपुर ट्रायल’ को असर : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

चितवन १ : विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’ 

चितवन २ : दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले 

चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .