दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण रोकेको भारत नेपालको आपत्तिपछि उक्त क्षेत्रमा छिट्टै संयुक्त अनुगमन गर्न राजी भएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार दिउँसो काठमाडौंस्थित भारतीय दूतावासमार्फत् कुटनीतिक नोट पठाएर भारत सरकारलाई महाकालीमा तटबन्ध बनिरहेको क्षेत्रको संयुक्त अनुगमनका लागि आग्रह गरेको थियो।
परराष्ट्र अधिकारीहरुसँगको अनौपचारिक कुराकानीमा भारतीय अधिकारीहरुले संयुक्त अनुगमन गर्न तयार रहेको बताएका हुन्।
‘महाकालीमा तटबन्ध बनिरहेको स्थलको संयुक्त अनुगमनका लागि भारतीय पक्ष राजी भएको छ। अब डिसेम्बर अन्तिम वा जनवरी पहिलो साता दुवै पक्षले फिल्डमै अनुगमन गर्ने कुरा भएको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।
यद्यपि नेपालले लेखेको पत्रको लिखित जवाफ भारतले दिइसकेको छैन। तटबन्ध निर्माणबारे नेपाललाई लिखित जवाफ भारतले चाँडै दिने अपेक्षा रहेको ती अधिकारीले बताए।
कूटनीतिक नोटमा नेपालले भारतलाई दुवै देशको सीमानदी महाकालीमा एकपक्षीय तटबन्ध निर्माण रोक्न, सीमाक्षेत्रमा यस्ता निर्माण गर्दा नेपालसँग पूर्वसहमति लिन र सीमाक्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन सावधानी अपनाउन भनेको थियो।
विगतमा भारतले यस्तै विवादित घटनामा चासो जनाउँदै लेखेको पत्रको रेस्पोन्स गर्ने गरेको थिएन। तर यसपटक मौखिक भए पनि तत्काल भारतको रेस्पोन्स आउनुलाई परराष्ट्र अधिकारीहरुले सकारात्मक मानेका छन्।
नेपालले पठाएका कूटनीतिक पत्राचारको जवाफ पनि नदिएर भारतले ‘ठूल्दाइ’ को व्यवहार देखाइरहेको भन्दै आलोचना हुने गरेको छ।
भारतले नेपालका पत्रको जवाफ नदिँदा एकातिर नेपालको कूटनीतिक क्षमता कम हुने गरेको भन्दै सरकारमाथि आलोचना हुने गरेको छ भने अर्कातिर जनमानसमा भारतविरोधी भावनासमेत बढ्दै गइरहेको छ।
‘हामीले पठाएका पत्रको मौखिक वा लिखित रेन्स्पोन्स भारतकातर्फबाट निकै कम हुने गरेको थियो। तर पछिल्लो समय त्यो प्रवृत्तिमा कमी आएको छ। चाँडो चाँडो रेस्पोन्स हुन थालेको छ। यो दुई देशबीचको भातृत्वपूर्ण सम्बन्धका लागि पनि सुखद हो’ मन्त्रालयका अर्का अधिकारीले भने।
गत मंगलबार परराष्ट्रले भारतीय दूतावासमार्फत् पठाएको पत्रमा महाकाली अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकमाथि भएको ज्यादतीबारे चासो देखाइएको थियो।
एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको थियो।
नेपालका तर्फबाट त्यसबारे खासै चासो दिइएको थिएन। तर हालैको उक्त घटनापछि नेपालले भारतलाई पत्र लेखेको थियो।
यही साता उक्त तटबन्धको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरेको थियो।
यता नेपालका नागरिकले पनि तटबन्ध निर्माण गरिरहेका कामदारमाथि गुलेली र ढुंगा समेत हानेका समाचार आएका थिए। त्यसक्रममा एक बालकसहित चार नेपाली घाइते भएका थिए।
नेपाली नागरिकको विरोधपछि भारतले महाकालीमाथिको सीमापुल पनि एकपक्षीय रुपमा बन्द गरिदिएको थियो।
नेपालको कूटनीतिक नोटको जवाफ औपचारिक रुपमै भारतले दिएको अर्को घटना पनि छ।
गत कात्तिक १० मा महाकाली नदीपारी तावाघाट-लिपुलेक सडकखण्ड निर्माणका क्रममा गराएको विस्फोटले उछिट्टिएको ढुंगा लाग्दा ज्यान गुमाएका नेपाली बालक पवन महराबारे परराष्ट्र मन्त्रालयले लेखेको कूटनीतिक नोटको जवाफ भारतले मंसिर ५ गते दिएको थियो।
भारतले महराको मृत्यु भएलगत्तै क्षमा माग्दै परिवारलाई समवेदनासहित परराष्ट्रलाई पत्र लेखेको थियो।
‘भारतीय पक्षबाट सीमामा नेपाली मारिँदा विगतमा समवेदनाका शब्द ब्यक्त गर्नसमेत त्यहाँका अधिकारी निकै असहज मान्थे। तर पछिल्ला समयमा उनीहरुको व्यवहारमा परिवर्तन आउन थालेको आभास हुन थालेको छ’, अर्का एक अधिकारीले भने।
बालक मारिएको घटनाबारे भारतले मंसिर ५ मा परराष्ट्रलाई जवाफी पत्र लेखेर गल्ती स्वीकारेको थियो।
परराष्ट्रको पत्रको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले भनेको थियो, ‘महराको मृत्युलगत्तै पीडित परिवारलाई राहत दिन सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गलाई निर्देशन दिइसकिएको छ। भविष्यमा यसखाले घटना घटना हुन नदिन भारत सचेत छ।’
भारतीय विदेश मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार नै सडक निर्माण कम्पनीले बालकका परिवारलाई १० लाख भारतीय रुपैयाँ राहत दिइसकेको छ।
Shares
प्रतिक्रिया