ad ad

राजनीति


सशस्त्र प्रहरीलाई निर्देशन दिँदै रविले भने– सुरक्षा फौजसँग जनताले आँखा जुधाएर कुरा गरुन्

सशस्त्र प्रहरीलाई निर्देशन दिँदै रविले भने– सुरक्षा फौजसँग जनताले आँखा जुधाएर कुरा गरुन्

नेपालखबर
पुस २३, २०७९ शनिबार १७:२५, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङरुको कठ्याङ्ग्रिदो चिसोमा बसेका सशस्त्र प्रहरीहरुको भौतिक व्यवस्थापन गर्न आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्। 

शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सो प्रतिवद्धता जनाएका हुन्। 

गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाएर म्याण्डेट अनुसार काम गर्नपर्ने बताए। विगतमा भएका कमीमकमजोरीहरुलाई हटाएर कार्यसम्पादन गर्न निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भने, ‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईंले गरेको सलामको इज्जत राख्नेछु।’

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने उनले बताए। 

‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छौं, राम्रो गर्ने छौं, कानुन सम्मत गर्ने छौं,’ लामिछानेले सम्बोधनको क्रममा भने, ‘आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नुपर्ने छ।’

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु र भरोसा राख्नु भएको समेत बताए।

‘सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन  विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस्,’ लामिछानेले भने।

सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्ने बताउँदै केही घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्नेमा सजग हुनपर्ने बताए। 

धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउनुहुँदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको   बताए।

उनले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताए।
 
निरीक्षणका क्रममा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रिय आदेशकक्ष, अनुगम सेल, केन्द्रिय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो सम्बन्धि जानकारी लिनुको साथै गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी लिएका थिए। 

सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .