ad ad

राजनीति


विमान दुर्घटनाप्रति विभिन्न दलद्वारा दुःख व्यक्त, दुर्घटना रोक्न उचित पहल गर्न आग्रह

विमान दुर्घटनाप्रति विभिन्न दलद्वारा दुःख व्यक्त, दुर्घटना रोक्न उचित पहल गर्न आग्रह

नेपालखबर
माघ १, २०७९ आइतबार १४:४०, काठमाडौँ

पोखरामा आज भएको विमान दुर्घटनाप्रति विभिन्न दलहरुले दुःख व्यक्त गरेका छन्।

नेताहरुले दुर्घटना न्यूनिकरणका लागि उचित पहल गर्न माग गरेका छन्।

देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन्। 

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो। विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए। 

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।  

प्रभावकारी उद्धारका लागि सरकारसँग ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन्।

यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन्।

दुर्घटना रोक्नका लागि उचित पहल गर्न माओवादीको माग
नेकपा (माओवादी केन्द्र)ले कास्कीको पोखरामा आज भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्तिमार्फत् दुर्घटनाका घाइतेको तत्काल उद्घार गरी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उपाध्यक्ष महराले मृतकका परिवार तथा घाइतेलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरेका छन्।

यस्तै पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी रहेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .