नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारका लागि अन्य दलहरुसँग छलफल गर्ने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय दलको कार्यसमिति बैठकले उपसभामुखको उम्मेदवारका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो।
‘उपसभामुखको उम्मेदवारका लागि अरु पार्टीसँग पनि छलफल गरिराखेका छौं,’ बैठकपछि मुख्य सचेतक रमेश लेखकले भने, ‘एक डेढ बजेभित्र तय गर्छौं।’
उम्मेदवारी दर्ताका लागि निर्धारण गरिएको समयबारे राखिएको सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘२ बजेभित्र निष्कर्षमा पुग्छौं। ३ बजे भित्र हामी नोमिनेसन गर्छौं।’
बैठकमा दलका नेता देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, मुख्य सचेतक रमेश लेखक, राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी र राष्ट्रियसभा सचेतक अनिता देवकोटा सहभागी छन्।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराउने कार्यसूची छ।
बिहीबार भएको निर्वाचनमा सभामुखमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
Shares
प्रतिक्रिया