नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा सांसद वीरबहादुर बलायरले मुलुकको संविधान कार्यान्वयन, सम्वर्द्धन र संरक्षण गर्ने सबैको नैतिक दायित्व भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारमै रहेका दलका नेताहरुको अभिव्यक्तिले संविधान खतरामा पर्न सक्ने देखिएको भन्दै संविधान कार्यान्वयन सम्वर्द्धन र संरक्षणमा जोड दिएका हुन्।
‘संविधानलाई कार्यान्वयन, सम्वर्द्धन र संरक्षण गर्ने सबैको नैतिक दायित्व हो,’ बलायरले भने, ‘आज कताकता अभिव्यक्तिहरुले संविधान खतरामा पर्न सक्ने देखिँदै छ।’
उनले अहिलेको संविधान गुमाइए नेपालको राजनीतिले यसको विकल्प दिने हैसियत नभएको पनि जिकिर गरे।
‘याद गर्नू– यदि हामीले अहिलेको संविधानलाई गुमायौं भने नेपालको राजनीतिले यसको विकल्प दिने हैसियत छैन,’ बलायरले भने, ‘अर्को संविधान ल्याउँछौं, अर्को संविधानका माध्यमबाट हामी मुलुकलाई निकास दिन्छौं भन्ने कुरा नेपालको राजनीतिको हैसियतमा छैन।’
सांसद बलायरले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सच्चिन जरुरी रहेको पनि बताए। सरकारमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएर पार पाउन नसकिने बलायरको भनाइ थियो।
‘पुरानाले पनि सच्चिन जरुरी छ, नयाँले पनि सच्चिन जरुरी छ,’ उनले भने, ‘जिम्मेवारी लिइसकेपछि सडकमा प्रस्तुत भए जस्तो गैरजिम्मेवार कुराले, सरकारमा हुने, यो हुन्छ र ऊ हुन्छ भन्ने गैरजिम्मेवार प्रस्तुतिले हामी पार पाउन सक्दैनौं।’
Shares
प्रतिक्रिया