नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफूहरुलाई राष्ट्रपतिका लागि कहीँ कतैबाट प्रस्ताव नआएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन्।
'राष्ट्रपतिको प्रस्ताव आएकोबारे अहिलेसम्म हामी जानकारी छैन', उनले भने, 'राष्ट्रपतिको प्रस्ताव आएको कुरा हल्ला मात्रै रहेछ। अध्यक्ष (माधवकुमार नेपाल)ले त्यसबारेमा केही पनि ब्रिफिङ गर्नु भएन।'
उनले अहिले नै एमालेसँग मिल्ने कुरा पनि कठिन रहेको बताएका छन्। 'एमालेसँग मिल्ने सवाल अलिक कठिन छ। मिल्दैन कसरी भन्नु? तर अहिले नै मिल्ने आधार तयार भएको छैन', उनले भने, 'यसबारे ठोस जवाफ दिन कठिन छ।'
उनले नेपाली कांग्रेसले पुरानै गठबन्धन ब्युँताउने सम्भावनाबारे छलफल भइरहेको बताए। 'कसरी समझदारी विकास हुन्छ त्यसमा भर पर्छ', उनले भने, 'तर हामी सबै दलहरुसँग छलफल गरिरहेका छौँ।'
त्यसैगरी बैठकपछि पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खनालकै कुरामा सहमति जनाएका छन्।
'राष्ट्रपति निर्वाचनबारे कुनै पार्टीले कुनै प्रस्ताव गरेको छैन। त्यो च्याप्टर क्लोज भइसकेको छ', उनले भने, 'भोलि कसैले प्रस्ताव गरे सोचौँला।अहिलेलाई सबै पार्टीसँग छलफल गर्ने कुरा भएको छ। सकेसम्म आमसहहमति र सर्वसम्म राष्ट्रपति छानौँ भनेका छौँ। अरुले कसलाई बनाउँछन्, राष्ट्रपतिका लागि हामी छलफलमा छौँ।'
Shares
प्रतिक्रिया