नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ। तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए।
यसअघि जिल्ला इञ्चार्ज रहनुभएका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित हुनुभएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो।
सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएपछि केन्द्रीय सदस्यसमेत रहनुभएका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको उनले बताए।
विसं २०५३ मा पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा होमिनुभएका नेता तमु विसं २०५५ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपब्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बनेका थिए।
विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) को तत्कालीन क्षेत्रीय ब्युरो सदस्य बनेका उनले विसं २०६० देखि एक वर्ष कास्की जिल्लाको इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै विसं २०६९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आएका छन्।
यसअघि पनि नेता तमुले २०७० सालदेखि ७२ सम्म गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाली सको छन्।
उनले विसं २०६४ भएको पहिलो ऐतिहासिक संविधानसभामा गोरखा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
Shares
प्रतिक्रिया