बालुवाटारमा शुक्रबार साँझ पुरानो गठबन्धनका नेताहरुको बैठक बस्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको छ।
ओलीले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई भेटेर बालुवाटारबाट निस्किएपछि दुई नेताबीच समाजवादीका नेता किसान श्रेष्ठको निवासमा करिब ४० मिनेट वार्ता भएको स्रोतले जनाएको छ।
अध्यक्ष नेपालनिकट स्रोतका अनुसार उक्त भेट ओलीकै आग्रहमा भएको हो। तर भेटमा गम्भीर रुपमा कुनै कुरा अघि नबढेको नेपालको सचिवालयका एकजना सदस्यले नेपालखबरलाई बताएका छन्।
'भेट भएको हो तर राजनीतिक दिशा अब पुरानै गठबन्धन ब्युँताउनेतिर गइसकेको छ', उनले भने, 'कांग्रेससहितको गठबन्धनमा हाम्रो अडान भनेको राष्ट्रपति नै हो। तर त्यसमा धेरै बल नगर्ने भन्ने छ। एक वर्ष प्रधानमन्त्री लिने गरी सहमतिमा जान सक्छौँ।'
ओलीसँगको वार्तापछि अध्यक्ष नेपाल अहिले बालुवाटारमा बसिरहेको पाँच दलीय गठबन्धनको बैठकमा मिसिइसकेका छन्।
त्यसअघि शुक्रबारै दिउँसो अध्यक्ष नेपालसँग एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले कोटेश्वर पुगेर वार्ता गरेका थिए।
स्रोतका अनुसार अध्यक्ष नेपाल राष्ट्रपतिमा उठ्न तयार भएमा मतभार पुर्याउने बचन ओलीले दिएका छन्। यस्तोमा एमालेका दोस्रो तह र समाजवादीकै नेताहरुले पनि नेपाललाई सकेसम्म राष्ट्रपतिको अडानबाट पछि नहट्न सुझाएका छन्।
शुक्रबारै समाजवादीका नेताहरु सोमप्रसाद पाण्डे र किसान श्रेष्ठसहितले पनि एमाले अध्यक्ष ओलीसँग संवाद गरेको स्रोतले जनाएको छ।
समाजवादी अध्यक्ष नेपालले पछिल्लो समय कि त पुरानै गठबन्धन ब्युँताउनुपर्ने कि त खारेजीमा परेको नेकपा ब्युँताएर कम्युनिष्टहरु एक ठाउँ उभिनुपर्ने अडान राख्दै आएका छन्।
Shares
प्रतिक्रिया