ad ad

राजनीति


प्रधानमन्त्रीको राजीनामा माग्दै थापाको प्रश्न– छेपारे प्रवृत्तिको नयाँ वाहक किन बनेको?

प्रधानमन्त्रीको राजीनामा माग्दै थापाको प्रश्न– छेपारे प्रवृत्तिको नयाँ वाहक किन बनेको?

फाइल।


नेपालखबर
फागुन १६, २०७९ मंगलबार ७:४०, काठमाडौँ

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री हुनका लागि १३८ जना सांसदको समर्थन निरन्तर हुनुपर्ने बताउँदै अब ७९ जना सांसदको मात्र समर्थन अहिले रहेको दाबी गरेका छन्।

‘२०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५मा आइपुग्दा ७८ं१४. ९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला’, थापाले भनेका छन्, ‘यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजिनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै! अब बाँकी रह्यो–७९ मात्रै।’

दुई महिनाअघि आफूहरुले दिएको पदबाट राजीनामा गर्न उनले अनुरोध गरेका छन्। 

‘कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजीनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि?’, उनले भनेका छन्, ‘हुन त दुधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र!’

प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्ने बताउँदै उनले भनेका छन्, ‘अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नांगो धोका, बेइमानी र महाठगी एवं पातकी काइदा हो।’

उनले प्रधानमन्त्री प्रचण्डलाई छेपारे प्रवृत्तिको नयाँ वाहक बनेको समेत बताएका छन्। 

‘नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो?’, थापाले भनेका छन्, ‘एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला। र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .