ad ad

राजनीति


उपेन्द्रको योजना सफल, यसरी छिर्नेछन् संसद्

उपेन्द्रको योजना सफल, यसरी छिर्नेछन् संसद्

सागर न्यौपाने
फागुन २५, २०७९ बिहिबार १९:४१, काठमाडौँ

सप्तरीबाट प्रतिनिधि सभाको चुनाव हारेदेखि नै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव संसद् फर्कने योजना बुनिरहेका थिए। त्यसको उपयुक्त अवसर उनी खोजिरहेका थिए। 

सो योजना सफल बनाउन उनको पार्टीले राजकीय पद पाउनुपर्ने थियो। त्यसका लागि सरकारमै सामेल हुनुपर्थ्यो।

यो कुरा राम्ररी बुझेका उपेन्द्रले १० पुसमा एमाले–माओवादीले बनाएको गठबनधनमा जसपालाई सामेल गराए। केही महत्वपूर्ण बैठकमा आफैँ सहभागी भए। उनी सप्तरी २ मा सीके राउतसँग पराजित भएका थिए।

त्यही गठबन्धनले आफूलाई संसदमा फर्काउने यादवको अपेक्षा थियो। सत्ताको भागबण्डा हुँदा आफ्नो कुनै एक सांसदलाई अवसर दिने र रिक्त भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्दा आफूले चुनाव लड्ने उनको योजना थियो।

त्यही भएर पनि उनले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न साथ दिए। तर, सरकारमा गएनन्।

संसदीय दलको नेता चयन गर्दा पनि निकै सचेत भएर कदम चाले यादवले। उनले बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता चयन गरे।

रामसहायभन्दा निकै वरिष्ठ अशोक राई पनि संसदीय दलको नेता बन्ने प्रयासमा थिए। यद्यपि दलको नेताका लागि चुनाव भएन। 

दलको नेता चयन गरेपछि उपेन्द्रको ध्यान राजकीय पदको खोजीमा जान थाल्यो।

उनले एमाले, माओवादी लगायतका दलका तर्फबाट पद बाँडफाँट सूची हेरे। त्यसमा सबैभन्दा उपयुक्त पद देखे– उपराष्ट्रपति।

माओवादी केन्द्रको भागमा परेको सो पद पाए जुनसुकै बेला सरकारमा सहभागी हुने अडान लिइरहे।

त्यही भएर सरकारलाई समर्थन दिएर पनि उनले मन्त्री पठाएका थिएनन्।

तर, राष्ट्रपति उम्मेदवारको विषयले सत्ता गठबन्धनमा गडबडी ल्यायो।

१० पुसको सम्झौता अनुसार आफ्नो दलको राष्ट्रपति हुनुपर्ने एमालेको जोड थियो। तर, माओवादीले राष्ट्रिय सहमति गरेर राष्ट्रपतिमा साझा व्यक्ति उठाउनुपर्ने अडान लिइरह्यो।

यही विषयमा कुरा नमिल्दा एमालेले बनाएको ७ दलीय गठबन्धन भत्कियो। माओवादी केन्द्रले १२ फागुनमा कांग्रेससँग नयाँ सहमति गर्‍यो।

उपेन्द्र आफ्नो योजना बीचमै छाड्न तयार थिएनन्। उनी पनि कांग्रेससहितको सो गठबन्धनमा मिसिए। 

सो गठबन्धनमा अहिले ९ दल छन्। 

नयाँ गठबन्धनले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गर्‍यो। उपराष्ट्रपति जसपालाई दिने निर्णय गराउन पनि यादव सफल भए।

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भइसकेका छन्। उपराष्ट्रपतिको चुनाव ३ चैतलाई तोकिएको छ। 

उपेन्द्रले राष्ट्रपतिको चुनाव सकिनेबित्तिकै उपराष्ट्रपतिमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गराए।

अब गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार रामसहाय भएका छन्। 

उनले चुनाव जितेको अवस्थामा राजीनामा दिनुपर्छ। त्यसपछि बारा २ मा उपनिर्वाचन हुन्छ। सो उपनिर्वाचनमा उपेन्द्र उठ्ने निश्चितप्रायः छ।

उपनिर्वाचन लडेर संसद् प्रवेश गर्नकै लागि उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति बनाउने निर्णय गराएको सो पार्टीका एक नेताले बताए।

उपनिर्वाचन जितेका अवस्थामा उनी दलको नेता हुनेछन्। अहिले जसपाको प्रतिनिधि सभामा १२ सांसद छन्। यस्तै राष्ट्रिय सभामा ३ जना छन्। 

मधेश प्रदेशमा उनकै दलले मुख्यमन्त्री पाएको छ। 

कांग्रेससहितको ९ दलीय गठबन्धनबाट उपनिर्वाचन सजिलै जित्ने उपेन्द्रको विश्लेषण छ।

‘उहाँले उपनिर्वाचनको तयारी गरिसक्नुभएको छ,’ यादव निकट एक नेताले नेपालखबरसँग भने, ‘रामसहायजीले बाटो छोडिदिनुभएको हो।’

मधेश आन्दोलनपछि भएका चुनावमा उपेन्द्रले पहिलो पटक चुनाव हारेका थिए। उनी संसदबाहिर बसेर पार्टी चलाउन सक्ने अवस्थामा थिएनन्। 

उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले चैत ३ को चुनावपछि पार्टी र गठबन्धनले एउटा निर्णय लिने बताए।

‘अहिले नै यसै हुन्छ भनिनहालौँ, चैत ३ को उपराष्ट्रपति चुनावको परिणाम हेरौं,’ यादवले नेपालखबरसँग भने, ‘रिक्त भएको ठाउँमा खाली छोड्ने कुरा हुँदैन, कोही न कोही उठाउनैपर्छ।’

‘जो खाली छ, जसलाई संसदमा ल्याउन आवश्यक छ, उसलाई ल्याउन गठबन्धनले पहल गर्छ नि,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .