ad ad

राजनीति


उपराष्ट्रपति पदका लागि आज निर्वाचन

उपराष्ट्रपति पदका लागि आज निर्वाचन

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ७:२, काठमाडौँ

मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका  लागि आज मतदान हुँदै छ। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। मतपत्रमा भने जसपाबाटै प्रमिला यादव पनि उम्मेदवार रहनेछिन्। तर उनले आफ्नो समर्थन रामसहायलाई रहने बताइसकेकी छन्। 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ।

सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए। 

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो। उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ। मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्। उनले सरकारी निवास छाडिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .