नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अर्थ र गृहमन्त्रालयमा दाबी नगरेको बताएका छन्।
आइतवार संसद भवन परिसरमा पत्रकारहरुसँग बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
'हामीले अड्को थापेका छैनौँ। आज बल्ल हामी अहिलेको सरकारको नीतिगत प्रतिवद्धता नीति र कार्यक्रमका लागि छलफलमा छौँ', उनले भने, 'नीति तथा कार्यक्रममाथिको छलफल भएर टुंगो लाग्ला, अनि कागजमा हस्ताक्षर होला।'
उनले त्यही मान्यताका आधारमा सरकारले पूर्णता पाउने पनि बताए। नेपाललाई पत्रकारहरुले १० सिट भएको समाजवादीले दुई ठूला मन्त्रालय मागेपछि कांग्रेसले के गर्ला भनेर सोधेका थिए।
'१० सिट भएको एकीकृत समाजवादीले गृह र अर्थमन्त्रालय मागेपछि कांग्रेसले के गर्ला?', उनलाई पत्रकारले सोधेपछि भने, 'मेरो मुखबाट गृह र अर्थ मन्त्रालय निस्किएको छ तर हाम्रा लागि दाबी गरिएको होइन। अर्थमन्त्रालय देशको अर्थतन्त्र बुझ्ने मान्छेलाई दिनुस् भनेका छौँ। हामीले दाबी गरेका छैनौँ।'
नेपालले परराष्ट्र मन्त्रालय पनि देशका बाह्य चुनौती सामना गर्न सक्नेलाई दिनुपर्ने बताए। 'परराष्ट्रका सन्दर्भमा पनि हाम्रो देशसामु थुप्रै चुनौती छन्', उनले भने, 'त्यसैले त्यो चुनौतीलाई फेस गर्न सक्नेलाई दिनुस भनेर प्रधानमन्त्रीलाई भनेका छौँ।'
Shares
प्रतिक्रिया