राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका छन्। आइतबार पार्टीले दिएको २४ घन्टे अल्टिमेटमभित्र उनले पार्टीमा स्पष्टिकरण बुझाएको केन्द्रीय अनुशासन समितिका प्रमुख भरतमणी देवकोटाले जानकारी दिए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि ढाका विवादमा तानिएका छन्। सभापति लामिछानेले ७२ घन्टाभित्र सत्यतथ्य छानबिन गरेर सार्वजनिक गर्ने बताएका छन्।
सांसद श्रेष्ठले पार्टीलाई बुझाएको स्पष्टीकरणमा सार्वजनिक भएको उक्त अडिओ एडिट गरिएको उल्लेख गरेका छन्।
‘उहाँले आफ्नो कुरा राखेर पठाउनुभएको स्पष्टीकरण मैले पाएको छु,’ देवकोटाले नेपालखबरसँग भने, ‘उहाँले उक्त अडिओ एडिट गरेर सार्वजनिक गरिएको बताउनुभएको छ।’
साथै, उनले पार्टीले गरेको कारबाही स्वीकार्न आफू तयार रहेको पनि उल्लेख गरेका छन्।
‘पार्टीले जे भन्छ म त्यो स्वीकार गर्न तयार छु भनेर भन्नुभएको छ,’ उनले भने, ‘यसबारे भोलि हामी निर्णय गर्छौं।’
Shares
प्रतिक्रिया