ad ad

राजनीति


रविलाई लक्षित गर्दै विश्व पौडेल भन्छन्: जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई हराएर सबक सिकाऔ‍ँ

रविलाई लक्षित गर्दै विश्व पौडेल भन्छन्: जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई हराएर सबक सिकाऔ‍ँ

नेपालखबर
बैशाख ३, २०८० आइतबार ११:९, काठमाडौँ

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका छन्। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले वैशाख १० गते हुने उपनिर्वाचनमा रविलाई हराउनुपर्ने बताएका हुन्। तर उनले नाम उल्लेख नगरी रविको नागरिकता मुद्दाको विषय उठाएका छन्।

उनले रविलाई हराएर नेपाली कांग्रेसका उम्मेदवार जितनारायणलाई जिताउन अनुरोध गरेका छन्।

‘जितनारायण ‘स्टन्टबाज’ हैनन्, यी अगाडि–पछाडि क्यामेरा लगाएर ‘स्टन्ट’ गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्,’ पौडेलले लेखेका छन्, ‘चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ।’

उनले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई साधारण मान्छेको छोरोका रूपमा चित्रण गर्दै भोलि चाहिने समयमा सजिलै उपलब्ध हुने नेता भएको उल्लेख गरेका छन्।  

‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नुभयो, स्थानीयको सुख-दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो,’ पौडेलले लेखेका छन्, ‘गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान, ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।’   

जनमतको कदर गर्नुपर्नेमा जोड दिँदै उनले विगतको निर्वाचनमा गोजीमा नागरिकता नभएका व्यक्तिको गफमा जनता भुलेको टिप्पणीसमेत गरेका छन्।  

जनमतको कदर गर्नुपर्ने तर गोजीमा नागरिकता नभएको व्यक्तिको देश बनाउने गफमा जनता भुलेर गएको निर्वाचनमा चितवनमा  डा. सूर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आफैँले) हारेको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, 'हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ।'

उनले रास्वपा सभापति लामिछानेलाई सम्पर्क कार्यालयमा कर्मचारी राख्नका लागि गरेको विज्ञापनमाथि पनि प्रश्न गरेका छन्।

‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सीईओ राख्ने नौटंकी? पानी ओसार्ने नौटंकी? कोही स्थानीयले सीईओको जागिर पाए? एयरपोर्ट गएर कसैलाई ल्याइयो?,’ पौडेलले प्रश्न गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .