ad ad

राजनीति


सत्तारूढ नेताबीच ‘तितोपिरो’, गगनलाई देवेन्द्रले भने : सरकारको आलोचना गर्न छाड्नुस्

सत्तारूढ नेताबीच ‘तितोपिरो’, गगनलाई देवेन्द्रले भने : सरकारको आलोचना गर्न छाड्नुस्

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १८:६, काठमाडौँ

पछिल्लो समय सत्ता साझेदार दलहरूबीच आरोप प्रत्यारोपको अवस्था उत्पन्न हुन थालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार महिनामै आठ पटक मन्त्रिपरिषद् विस्तार गरिरहँदा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताबीच घोचपेच र आरोप प्रत्यारोप हुन थालेको हो।

गत चैत ३० गते कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको भन्दै सरकारको कडा आलोचनामा उत्रिएका थिए। त्यसअघि संसदमा पनि उनले सरकारको अर्थपूर्ण आलोचना गरेका थिए। 

चैत ३० मा उनले उनले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताएका थिए। उनले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने भन्दै सरकारको आलोचना गरेका थिए। 

नागरिकहरुमा अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गरेका उनले सरकारबाट आशा र विश्वास गुमाइसकेको पनि बताएका थिए। 

कांग्रेस पनि साझेदार रहेको सरकारको महामन्त्री थापाले आलोचना गरेपछि आइतवार संसद भवन परिसरमा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आक्रोशपूर्ण प्रतिक्रिया दिए।

सांसद पौडेलले सरकारलाई सफल बनाउने दायित्व कांग्रेसका महामन्त्री थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्। 

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले जिम्मेवार हुन आग्रह गरे। 

थापाले सार्वजनिक मञ्चहरुबाट सरकारको आलोचना गरिरहेको भन्दै त्यसले सरकार सफल नहुने पौडेलले बताए। 
भयो । 

उनले सरकारको आलोचना नगरी सहयोग गर्न पनि थापालाई आग्रह गरे। गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने पौडेलले बताए।

पौडेलले सरकारका कमी, कमजोरीबारे सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेट्न महामन्त्री थापालाई आग्रह गरे।

‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ। सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो। आलोचना गरेर मात्रै सफल हुन्न। सहयोग गरेर पनि सफल हुन्छ। यो गठबन्धनलाई जोगाउँदै जनताका डेलिभरीका काम गर्न टेबलमा बसेर उठेका विषयहरु सुझाव दिएर सफल बनाउने हो', उनले भने, 'विरोध गरेर सरकार सफल हुन्न। सहयोग गरेर सफल हुन्छ। मेरो सुझाव के छ भने कमीकमजोरी छन् भने प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो।’

त्यस्तै माओवादी सांसद महेन्द्रबहादुर शाहीले कांग्रेस महामन्त्री थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए।

उनले महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न आग्रह गरेका छन्। 

‘अहिले पनि सरकारमा जाने मामिलामा उहाँहरु आवश्यकता भन्ने बोल्नुहुन्छ। तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दा आलोचना बढी गरिराख्नुभएको छ', उनले भने, 'यो राम्रो कुरा होइन सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले। सामान्य सांसदले बोल्ने एउटा कुरा हो उहाँ त महामन्त्री हो नि! उहाँले अलिकति ध्यान दिएर, धेरै कुरा सोचेर बोल्नुपर्‍यो। उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोलिहाल्ने भन्दा सोच विचार गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .