ad ad

राजनीति


डा. भट्टराईलाई संग्रौलाको प्रश्न– रविलाई हिजैमात्र ‘चटके’ भन्नुभको होइन र?

डा. भट्टराईलाई संग्रौलाको प्रश्न– रविलाई हिजैमात्र ‘चटके’ भन्नुभको होइन र?

फाइल तस्बिर : खगेन्द्र संग्रौला र डा. बाबुराम भट्टराई


नेपालखबर
बैशाख १३, २०८० बुधबार २१:५४, काठमाडौँ

प्रायः कसैलाई पनि कडा शब्दमा आलोचना गर्न बाँकी नराख्ने नागरिक अगुवासमेत रहेका लेखक  खगेन्द्र संग्रौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति भने सकारात्मक देखिएका छन्। यस क्रममा उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समेत प्रतिवाद गरेका छन्। 

विभिन्न मुद्दा र विवादका बीच पनि रास्वपा सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा पहिलेभन्दा झन् धेरै मतका साथ विजयी भए। गत मंसिर ४ कै चुनावबाट सांसद भई गृहमन्त्रीसमेत बनिसकेका लामिछाने नागरिकता मुद्दाका कारण दुवै पद गुमाउन बाध्य भएका थिए। अमेरिकी नागरिकता लिने बेला त्यागेकै नेपाली नागरिकताका आधारमा चुनाव लडेको ठहर अदालतले गरेपछि उनको पद गएको थियो। सोही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो। जसमा प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिई लामिछाने पनि फेरि उम्मेदवार बने र अघिल्लोपटक भन्दा झन् बढी मत ल्याएर पुनः प्रतिनिधि सभा सदस्य भए। 

यसबीच उनीविरुद्ध दोहोरो राहदानी लिएको भनी मुद्दा नपरेको होइन, तर महान्यायाधिवक्ताको कार्यालयले दुइटा राहदानी लिए पनि दुरुपयोग गरेको नदेखिएकाले मुद्दा चलाउनु नपर्ने ठहर गरेपछि लामिछानेले मुक्ति पाए। यसबाहेक उपचुनावको मुखमा उनीविरुद्ध अन्य विभिन्न आरोप पनि लागे। जसका कारण यसपटक उनको मत घट्ने अनुमान गरिएको थियो तर उनले पहिलेभन्दा झन् ५ हजार बढी मत ल्याए। 

यही कुरालाई लेखक संग्रौलाले व्यंग्यात्मक तरिकाले तर रविको समर्थन हुनेगरी टिप्पणी गरेका हुन्।    

‘रवि लामिछानेमाथि अरू थप दुई–चारवटा फत्तुर लागेका भए त खसेजति सबै भोट निज हजुरकै बाकसमा थुप्रिने रहेछन् कि कसो’, संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि सरबाट सिकेर भोलिका दिनमा एक रास फत्तुर निम्त्याऔँ र सारा भोट बजाऔँ।’

नेपाली बृहत् शब्दकोशका अनुसार ‘फत्तुर’ शब्दको अर्थ– अर्कालाई लगाइने बिनसित्तिको दोष, नभएको आरोप हो। 

यति मात्र होइन, नागरिक अगुवा संग्रौलाले सांसद रविका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत व्यंग्य गरेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित रविलाई बधाई मात्र दिएका छैनन्, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय आफूलाई सकारात्मक लागेको बताएका छन्। 

उनले लेखेका छन्, ‘एक दशकदेखि देशमा नयाँ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु! सबैले एकअर्काका अनुभवबाट सिकौँ। देशको अर्थ–राजनीति र भूराजनीतिको विशिष्टता अनुकूल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौँ।’

यो ट्विट सेयर गर्दै लेखक संग्रौलाले कमेन्ट गरेका छन्, ‘डाक्टसाहेबले रास्वपाका रविलाई हिजैमात्र ‘चटके’ भन्नुभको होइन र?’

डा. भट्टराईले यसअघि रवि लामिछानेलाई संकेत गर्दै सिद्धान्तविहीन ‘चटके’ले केही गर्न नसक्ने भनी टिप्पणी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .