ad ad

सुदूरपश्चिम


ट्रक चालकको शव घरमा लुकाएर पढाउन स्कुल गएकी थिइन् भागरथी

बोरामा भेटियो शव
ट्रक चालकको शव घरमा लुकाएर पढाउन स्कुल गएकी थिइन् भागरथी

गोकुल जोशी
असार ३, २०८१ सोमबार २२:१०, कञ्चनपुर

तीन दिनदेखि बेपत्ता ट्रक चालक बैतडीको पाटन नगरपालिका– ६ का ४६ वर्षीय वीरभानसिंह विष्टको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–६ स्थित झागल भीरमा सोमबार दिउँसो विष्टको शव फेला परेको हो।

असार १ गते रातिदेखि सम्पर्कविहीन भएपछि परिवारले सोमबार बिहान ईलाका प्रहरी कार्यालय पाटनमा खोजीका लागि उजुरी दिएका थिए। उनीहरुले पाटन नगरपालिका–६ भागरथी विष्टको नाम उजुरीमा उल्लेख गरेका थिए।

त्यसपछि उनी प्रहरीको अनुसन्धानमा तानिइन्। इलाका प्रहरी कार्यालय पाटनले सोमबार उनीमाथि केरकार गर्दा उनले भनेकै स्थानमा ट्रक चालक वीरभानको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भूपाल थापाका अनुसार प्रहरीसमक्षको प्रारम्भिक बयानमा भागरथीले वीरभानको हत्या गरेको स्वीकार गरेकी छन्।

‘परिवारको जाहेरीपछि हामीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा महिलाले हत्या गरेको स्वीकारिन्। उनले भनेकै स्थानमा भीरमा शव फेला परेको छ,’ उनले भने, ‘शव फाल्न अन्य मान्छेलाई लगाएँ भनेकी छन्। हामी अनुसन्धान गरिरहेका छौँ।’

भागरथी स्थानीय सहस्रलिंग प्राथमिक विद्यालयमा राहत शिक्षकको रूपमा कार्यरत छिन्। उनका श्रीमान् छैनन्। ट्रक चालक र भागरथीको घर नजिकै छ।

भागरथीले शनिबार राति नै वीरभानको हत्या गरेको प्रहरी समक्षको प्रारम्भिक बयानमा भनेकी छन्।

प्रहरीका दाबीमा, हत्यापछि उनले शव घरभित्रै लुकाएकी थिइन्। प्लाष्टिकको बोरामा डोरीले बाँधेकोे अवस्थामा भीरमा वीरभानको शव भेटिएको हो। सँगै काठका चिर्पट पनि फेला परेका छन्।

हत्यापछि शव घरभित्र राखेर भागरथी आइतबार पढाउन विद्यालय पनि गएको खुलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको भनाइ छ।

भागरथीको प्रारम्भिक बयान अनुसार पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १८ वर्षीय किशोर भट्टराई र पाटन नगरपालिका–१ का आशिष पहरीले शव फाल्न सहयोग गरेका थिए।

प्रहरीको केरकारमा भागरथीले नाम पोलेपछि उनीहरु अनुसन्धानमा तानिएका छन्। प्रहरीका अनुसार राजेन्द्र र किशोरलाई डडेल्धुराबाट नियन्त्रणमा लिइएको छ।

भागरथीले नाम पोलेका आशिष भने फरार छन्। उनको प्रहरीले खोजी गरिरहेको छ। वीरभानको हत्याको कारण खुलेको छैन।

भागरथी एक्लैले घटना घटाएको तथा नाम पोलेका शंकास्पद व्यक्तिमाथि विभिन्न कोणबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .