सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरू प्रतिनिधिसभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन्।
बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधिसभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए।
प्रश्नहरू आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा बैठकमै असन्तुष्टि जनाएका हुन्।
‘यो प्रश्न कसले आउट ग¥यो? अरू सांसदहरुको प्रश्न कसले आउट ग¥यो? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो,’ उनले भने, ‘सांसदले त्यो प्रश्न नसोध्दै ती प्रश्नहरू अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुँदैन। मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन्।’
उनले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको बताए।
‘यो जहाँबाट गएको भएपनि म यसलाई ठूलो इस्यु बनाउन चाहान्न। तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडी सांसदले सोधिने प्रश्नहरु आउट हुनु हुँदैन,’ सांसद पन्तले भने, ‘हाइस्कुलको प्रश्न आउट भएपनि, कलेजको प्रश्न आउट भएपनि, संसदको प्रश्न आउट भएपनि त्यो राम्रो मानिदैन।’
उनले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराए।
Shares
प्रतिक्रिया