ad ad

राजनीति


प्रेम चलाउने स्वस्थ हुनुहुन्छ, त्यसैले मुद्दा फिर्ता लियौँ : प्रधानमन्त्री प्रचण्ड

प्रेम चलाउने स्वस्थ हुनुहुन्छ, त्यसैले मुद्दा फिर्ता लियौँ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार ७:३३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय परिसरमै आक्रमणमा परेका उपप्रध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन्।

बुधबार राति एक 'टक शो'मा अन्तर्वार्ता दिँदै उनले उपप्रध्यापक चलाउने स्वस्थ भएकाले मुद्दा फिर्ता लिइएको बताए। मुद्दा फिर्ता लिन कसैले दबाब पनि नदिएको उनको भनाइ थियो।

'डेढ/दुई वर्ष अगाडिको कुरा रहेछ, पहिला पनि यो विषयमा छलफल चलिराखेको स्थिति रहेछ। प्रस्ताव आउँदा पुरानो पनि भएछ,' उनले भनेका छन्, 'प्रेम चलाउने अहिले स्वस्थ हुनुहुन्छ। एउटा कुटपिटको घटना हो कति जेल बस्ने भन्ने भयो। त्यसो भए सहज रूपले यसलाई समाधान गरौँ भन्यौँ।'

चलाउनेमाथि २०७७ असोज २० गते कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष हरि आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो।

उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो। तर गत जेठ ३० गतेको मन्त्रिपरिषद्‌को बैठकले उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। 

सरकारले मुद्दा फिर्ता लिएपछि सोमबार चलाउने जिल्ला अदालत काठमाडौं परिसरमै अनशन बस्दा प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय परिसरमा अनशनरत छन्।

अनशनरत चलाउनेसँग सरकारले वार्ता गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

उनले मंगलबार मात्रै पनि मन्त्रिपरिषद्‌मा पुन: उक्त विषयमाथि छलफल भएको जानकारी दिए। चलाउने अनशन बसेपछि गम्भीर बहस भएको बताउँदै उनले सरकारको तर्फबाट चलाउनेसँग छलफल गर्ने बताए।

'उहाँ अनशन बसेपछि हिजो मात्रै क्याबिनेटमा गम्भीर बहस भएको छ। सरकारको तर्फबाट प्रेम चलाउनेसँग पनि छलफल गर्ने सोचाइ छ,' उनले भने, 'कुटपिट जायज होइन भन्नेमा सरकार प्रष्ट छ। यो विषयप्रति संवेदनशील छौँ। गम्भीर छौँ। समझदारीका साथ समाधान गर्नेतिर लाग्छौँ।'

उपप्रध्यापक चलाउनेले बुधबार मात्रै सरकारको मुद्दा फिर्ता लिने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको रिट निवेदनमाथि आज (बिहीबार) पेसी तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .