ad ad

राजनीति


प्रस्तावित राजदूतको सुनुवाइ सुरु

प्रस्तावित राजदूतको सुनुवाइ सुरु

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठक


नेपालखबर
साउन १७, २०८० बुधबार १३:२३, काठमाडौँ

सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ। 

समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ। समितिको बैठकमा न्युयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन्। बैठकमा स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्नेछन्। 

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको छ। राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग जानकारी लिएको थियो। 

समितिमा आफ्नो धारणा राख्दै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात् गर्ने र समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थित रूपमा सम्बोधन गर्दै लैजान पूर्ण प्रतिबद्ध रहेको बताए। 

संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमुनाका रूपमा रहेको उनको भनाइ छ। सरकारले परराष्ट्र सेवाका सहसचिव थापालाई  (न्युयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि), सुवेदी (स्विट्जरल्यान्ड), भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीलाई (थाइल्यान्ड)का लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .